टिकटक क्रेज

टिकटक क्रेज

म छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु,

मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु

कवि नवराज पराजुलीको ‘हेप्पी बड्डे’ शीर्षकको कविताको यो पंक्ति धादिङका कमल धितालले टिकटक म्युजिकल्ली बनाएर फेसबुकमा सेयर गरेका छन्। उक्त भिडियोमा उनी आफैंले रोल गरेका छन्। यसमा उनको आफ्नै मौलिक कला प्रयोग भएको छ। उनी दिनमा एउटा टिकटक अपलोड गरिरहेका छन्।

किन त ? उनी भन्छन्, ‘रमाइलो लाग्छ, आफ्नो कला पनि देखाउन पाइन्छ।’ मिस नेपाल शृंखला खतिवडाले पनि भर्खरै एउटा रमाइलो टिकटक सेयर गरेकी छन्। उनी मात्र हैन, हिजोआज यस्ता टिकटक सामाजिक साइटहरूमा थुप्रै देख्न पाइन्छ। टिकटक रमाइला त हुन्छन् नै, साथै कलात्मक पनि; जुन भिडियो हेर्दा अन्य साथीभाइ, आफन्तलाई पनि रमाइलो लाग्छ।

टिकटकलाई आफ्नो जीवनको सखीजस्तै मान्छिन् पोखराकी पूर्णिमा प्रतिविम्ब। ‘उकाली चढौंला, ओराली झरौंला सात भञ्ज्याङ भने पनि त्यो पनि गरौंला, तिम्रै लागि हो भने ज्यानै दिइदिम्ला’ यो गीतमा उनले भर्खरै लिपसिङ दिएकी छन्। क्याम्पस र कामको चापका बीच पनि टिकटक बनाउने गरेको उनी बताउँछिन्। ‘नर्मल्ली कसैलाई पर्खिंदाको समयमा वा गाडीमा यात्रा गर्दा टिकटकमा इन्गेज भइहाल्छु’, उनले उत्साहित हुँदै भनिन्, ‘एक्लै हुँदा नि एक्लोपनको महसुस हुँदैन। टिकटक मेरो साथीजस्तै लाग्छ।’

विशेषतः फेसबुकमा यस्ता टिकटक भिडियोहरू अहिले निकै लोकप्रिय बनेका छन्। नेपालबाहेक अन्य थुप्रै देशमा पनि यसको लोकप्रियता बढ्दो छ। यो एप सुरु भएको केही महिनामै विश्वमा लाखौंको संख्यामा यसको प्रयोग ह्वात्तै बढेको हो। केही समयअगाडि डबम्यासले बजार तताएको थियोे।

युवा पुस्तामा विशेष चासो बढेको यो एउटा छोटो भिडियो म्यासेज पनि हो। यसलाई भिडियो सेल्फी पनि मान्न सकिन्छ। यस्ता भिडियो म्यासेज अर्थात् टिकटकहरू सिंगल खालका हुन्छन्। छोटा हुन्छन् नै, कम्पाइल गरिएकाहरू पनि छन्, जुन कलेक्सन गरेर राखिन्छन्।

नेपाल आइडलमा अडिसन दिएपछि चर्चामा आएका बझाङका नरेश पातली र नेपालगन्जका झक्कड थापाका गीत एवं उनले बोलेका डायलगलाई धेरैले भिडियो बनाएर टिकटकमा पोस्ट गरेका छन्। आफ्नै मोबाइलबाट टिकटकको सहयोगमा रमाइला भिडियो तयार पारेर अपलोड गर्ने चलन हिजोआज उत्कर्षमा छ। लोकप्रिय सामाजिक सञ्जाल फेसबुकपछि आएका ट्विटर, इन्स्टाग्रामपछि अहिले टिकटकले धेरैको ध्यान खिच्न थालेको छ। विद्यार्थीदेखि फरक पेसा, व्यवसायमा संलग्न सबै यो एपमा रमाउन थालेका छन्। सेलिब्रिटीहरूको तुलनामा सर्वसाधारणहरू नै टिकटकमा बढी हिट भइरहेका छन्।

पेसाले नर्स विराटनगरकी रेश्मा घिमिरेले जब भिडियो बनाएर टिकटकमा अपलोड गर्न थालिन्, उनका प्रशंसक बढ्दै गए। उनले विभिन्न गीत, संगीत, म्युजिक भिडियो, समसामयिक विषय तथा फिल्मका डायलगहरूमा आफूले अभिनय गरेका भिडियो टिकटकमा अपलोड गर्दै आएकी छन्।

आफ्नो मोबाइलमा टिकटक एप डाउनलोड गरेर साइनअप गरेपछि जो कसैले १५ सेकेन्डको भिडियो बनाउन सक्छन्। तपाईं नाच्नोस् वा क्यारिकेचर, अरूको गीत र फिल्मको डायलगमा अभिनय गर्नुहोस् वा चुपचाप अरूले अपलोड गरेका भिडियो हेरेर मजा लुट्नुहोस्। कुनै व्यक्तिमा भएको क्षमता, सीपलाई टिकटकले प्रस्फुटन गरेको छ। सानो उमेरका केटाकेटीदेखि सेलिब्रिटीसम्म टिकटकको प्रयोगमा भुलेका छन्। कुनै बेला हाइफाइभ सर्वाधिक चर्चामा थियो, अहिले त्यो इतिहास भइसकेको छ।

मोबाइलबाट बनाउन सकिने छोटो भिडियोका लागि चर्चित एप्स हो, टिकटक। यसलाई सुरुआत गर्ने कम्पनीका अनुसार आफूले देखेको कुनै विशेष पल, सिर्जनात्मक र ज्ञानको विषयलाई मोबाइलबाटै कैद गरेर संसारसामु प्रस्तुत गर्ने उद्देश्यले टिकटक प्रारम्भ गरिएको हो। यसले हरेक व्यक्तिमा सिर्जनात्मक ढंगमा भिडियोमार्फत अभिव्यक्ति दिन तथा आफ्नो अभिरुचिको विषय संसारसामु देखाउन उत्प्रेरणा जगाउँछ। यसमा फ्यान, फलोइङ र हार्ट फिचरसमेत समावेश छ। अपलोड गरिएका भिडियोको लाइक्सको संख्याका आधारमा हार्टको संख्या निर्धारण हुन्छ। एकअर्कामा फलो, फ्लोअइङ छ भने यसबाट म्यासेज आदानप्रदानसमेत गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.