प्रदेशसभामा सांसदले सोधे -‘चाहिने बेला मल किन अभाव ?’

प्रदेशसभामा सांसदले सोधे -‘चाहिने बेला मल किन अभाव ?’

बुटवल : गहुँ बालीमा मल राख्ने समयमा अभाव भएको भन्दै सांसदले ५ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदेशसभाको विशेष समयमा बोल्दै सांसदले बालीमा हाल्ने बेला सधैँ मल अभाव हुनुको कारण सरकारलाई सोधेका छन्।

केही दिनयता यस क्षेत्रमा मलको चरम अभाव छ। गहुँ बालीमा मल हाल्ने समयमा अभाव भएपछि किसान समस्यामा परेका छन्। सांसदको विशेष समयमा बोल्दै सांसद इन्द्रप्रसाद खरेलले मल चाहिने बेला अभाव हुँदा किसान मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘जहिले बालीमा मल हाल्ने बेला हुन्छ, किसानले मल पाउँदैनन्’, उनले भने, ‘यो अवस्थाबाट किसान कहिलेसम्म मारमा परिराख्ने ? ’

बिहीबारको संसद् बैठकको विशेष समयमा बोल्दै सांसदहरूले प्रदेशको राजधानी, सीमा अतिक्रमण भएको विषयमा सरकारको धारणा मागेका छन्। नवलपरासीको सुस्ताका नेपाली नागरिकले नागरिकता पाउन नसकेको भन्दै नेकपाका सांसद दिनेश पन्थीले सरकारको ध्यानाकर्षण गराए। ‘तीन हजारभन्दा बढी नेपाली नागरिक सुस्तामा छन्, तीमध्ये तीन सयले पनि नागरिकता पाएका छैनन्’, उनले भने, ‘नेपाली भूमि बचाउन भारतीयसँग लडिरहने उनीहरूलाई सरकारले किन बेवास्ता गरिरहन्छ ? ’

कांग्रेसका सांसद अष्टभुजा पाठकले रुपन्देहीको मर्चवार सेमरीनजिकै भारतले ठूलो ड्याम बनाउन लागेको भन्दै त्यसले त्यस क्षेत्रका चार गाउँपालिका डुबानमा पर्ने बताए। ‘दुईतले घरजत्तिकै ठूलो ड्याम बनिरहेको छ, यसले पूरै चार पालिका डुबानमा पर्छन्’, उनले भने, ‘सरकारले यस विषयमा बेलैमा सोच्नुपर्छ।’ सांसद रमा अर्यालले नदीजन्य पदार्थका अत्यधिक चोरी भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिन्। स्थानीय तहले समयमै नदीजन्य पदार्थको टेन्डर आह्वान नगर्दा उपभोक्ता मारमा परेको भन्दै उनले ध्यानाकर्षण गराइन्।

अर्का सांसद कृष्णध्वज खड्काले प्रदेशभित्रका खानी पकेटमा राखेर किनबेच हुने गरेको भन्दै त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न माग गरे। ‘खानी उद्योग चलाउने सरकारको योजना छ तर खानी सबै पकेटमा राख्ने गरिएका छन्,’ उनले भने। राजपाकी सांसद कल्पना पाण्डेले सरकारले बजेट खर्च र योजनाको विषयमा सांसदहरूलाई जानकारी गराउनुपर्ने माग गरिन्। प्रदेशको नामकरण तथा राजधानीको विषयमा गठित समितिमा सदस्य थप गर्न आवश्यक नरहेको उनले बताइन्।

फोरमका सांसद सन्तोष पाण्डेले राजधानीको विषयमा धेरै अलमिलन आवश्यक नरहेको भन्दै गौतमबुद्ध जन्मस्थल लुम्बिनी नैै राजधानी र नामकरण हुनुपर्ने बताए। उनले विशेष समितिमा सदस्य थप गरेर प्रक्रिया लम्ब्याउने काम नगर्नसमेत सभा र सरकारको ध्यानाकर्षण गराए।

बिहीबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले यसअघिका बैठकको विशेष समयमा उठेका प्रश्नको जवाफ दिएका थिए। उनले सरकारले पर्यटन प्रवद्र्धन, औद्योगिक क्षेत्रको विकासमा काम गरिरहेको बताए। बैठकमा मल व्यवस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले पेस गरेको विधेयकमाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद पुष्पा थरुनी, फकुरुद्दिन खान, खड्कबहादुर खत्रीलगायतले किसान सधैँ मलका लागि प्रताडित हुनुपरेको भन्दै ऐन, कानुन किसानमैत्री हुनुपर्ने बताए। बाली लगाउने बेला मलको कृत्रिम अभाव हुने, कालोबाजारी गर्ने प्रवृत्ति रहेको भन्दै त्यस्तालाई कारबाही गर्ने व्यवस्था कानुनमा समावेश हुनुपर्ने बताए।

त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गरेका छन्। प्रदेशसभाको अर्काे बैठक शुक्रबार बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.