मुलुकको शिक्षा प्रणालीमा चुनौती : राष्ट्रपति

मुलुकको शिक्षा प्रणालीमा चुनौती : राष्ट्रपति

विराटनगर : गुणस्तरीय र प्रतिस्पर्धी पठनपाठन अभावले मुलुकको शिक्षा प्रणालीमा चुनौती थपिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गरेकी छन्। विराटनगरमा बिहीबार पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्तरीय शिक्षा अभावले युवा विदेश पलायन हुनुपरेको बताएकी हुन्।

आवश्यक शैक्षिक पूर्वाधारको कमी, साधनस्रोतको अभाव, समयानुकूल पठनपाठनमा समस्या र प्रतिस्पर्धापूर्ण शैक्षिक कार्यक्रम लागू गर्न नसक्दा अध्ययन गर्न विदेश पलायन हुनेको संख्या बढेको उनको भनाइ थियो। राष्ट्रपति भण्डारीले शैक्षिक केन्द्रलाई स्रोतसाधन र पूर्वाधार युक्त बनाउन जोड दिइन्। ‘शिक्षा विकासको पूर्वाधार हो’, उनले भनिन्, ‘शैक्षिक केन्द्रले गुणस्तरीय जनशक्ति उत्पादन गर्न नसकेकाले मुलुकको विकास हुन सकेको छैन।’ मुलुकमा व्याप्त बेरोजगारीले उच्च शिक्षा हासिल गरेका लाखौं युवा रोजगारीका नाममा विदेश पलायन हुनुपरेको उनले बताइन्। अन्न भण्डार भनेर चिनिने क्षेत्रमा उत्पादकत्व कमजोर हुँदा मुलुकले व्यापार घाटा व्यहोर्नुपरेको पनि भण्डारीले बताइन्। आधुनिक शिक्षा पद्धतिलाई उत्पादकत्वसँग जोड्न सके मुलुक समृद्ध बन्ने उनको भनाइ छ।

राष्ट्रपति भण्डारीले बलियो र स्थिर सरकार बनेकाले दिगो शान्तिसहित आर्थिक विकासको राम्रो अवसर मुलुकमा रहेको बताइन। मुलुकको शैक्षिक विकासमा जोड दिन सके समृद्ध नेपाल बनाउने संकल्प पूरा गर्न सकिने र यसलाई सबैले अवसरका रूपमा उपभोग गर्नुपर्ने उनले बताइन्। समृद्ध नेपाल र सुखी नेपालीको नारासहितका राष्ट्रिय अभिभारालाई सफल बनाउन आधुनिक शिक्षा प्रणालीको खाँचो रहेको भन्दै राष्ट्रपति भण्डारीले यसका लागि विश्व विद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

सुदृढ अर्थतन्त्रसहितको स्वाधीन नेपाल निर्माणका लागि मुलुकमा भएका जलसम्पदा, जडीबुटी, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न उच्च शिक्षाको महत्वपूर्ण योगदान रहने उनले बताइन्। देशलाई माया गर्ने जनशक्ति आवश्यक रहेको बताउँदै भण्डारीले यसले मात्रै समृद्ध नेपाल र सुखी नेपालीको जनआकांक्षा पूरा हुने विश्वास व्यक्त गरिन्। विश्वविद्यालयले राष्ट्रपति भण्डारीलाई अभिनन्दन पनि गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनताको अपेक्षा पूरा गर्न बहुआयामिक समृद्धिको विषयलाई आधुनिक शिक्षासँग जोड्नुपर्ने बताए। पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपतिसमेत रहेका उनले शिक्षा पूर्वाधारको पनि पूर्वाधार रहेका कारण शिक्षाका माध्यमबाट आमनागरिकलाई शिक्षित गराएर राष्ट्र निर्माणमा लगाउने योजना सरकारले ल्याउने जानकारी दिए। पोखरेलले पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र जनसहभागितालाई ध्यान दिँदै कुशल नागरिक उत्पादन गर्न आधुनिक शिक्षा प्रणालीलाई सदुपयोग गरिने बताए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विश्वविद्यालय अवसर, स्रोत र सम्भावनालाई सदुपयोग गर्दै उद्देश्य प्राप्तिका लागि अघि बढ्नुपर्ने बताए। समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा शिक्षा क्षेत्रलाई जोड्न सक्नुपर्ने उनको भनाइ छ। शैक्षिक विकासका लागि सानो मनस्थिति र घेरामा नखुम्ची बृहत् योजनासाथ विश्वविद्यालय प्रस्तुत हुन मुख्यमन्त्री राईले जोड दिए।

विश्वविद्यालयले शिक्षा क्षेत्रमा सहयोग एवं योगदान गर्ने पाँच जनालाई सम्मान गरेको छ। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रथम अध्यक्ष प्रा. कृष्ण पोखरेल, द्वितीय उपकुलपति तोरणबहादुर कार्की, विराटनगरका पूर्वमेयर अशोक कोइराला र पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई सम्मान गरेको हो। प्रथम उपकुलपति ध्रुवनारायण लाललाई मरणोप्रान्त सम्मान गरिएको छ।

राष्ट्रपतिलाई अभिनन्दन

राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले पढेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बिहीबार अभिनन्दन गरिएको छ। पूर्वविद्यार्थी देशको सर्वोच्च पदमा पुग्न सफल भएकोमा उनलाई अभिनन्द गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए। अभिनन्दनका लागि क्याम्पस प्रमुख तिम्सिनाको संयोजकत्वमा २०१ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरिएको थियो।

राष्ट्रपतिलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गरिएको थियो। राष्ट्रपति भण्डारीले २०३९ देखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकायअन्तर्गत स्नातक तह अध्ययन गरेकी थिइन्। ०४० साल वैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भण्डारी कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.