गीत गाउन चुजी छु

गीत गाउन चुजी छु

रजिना रिमाल पछिल्लो समयकी चर्चित गायिका हुन्। उनले १२ वर्षको उमेरमै ‘सपुत’ फिल्मको लागि गीत गाउने अवसर पाइन्। उनको ‘आवाज बिनै तिम्लाई देख्न’ बोलको गीत पछिल्लो पटक रेकर्ड भएको छ। प्रस्तुत छ, उनीसँग अजवी पौड्यालले गरेको कुराकानी :
हाल के गर्दै हुनुहुन्छ?

तेस्रो एल्बम ‘पद्मिनी’को तयारीमा छु। फिल्मको गीत रेकर्डिङ, तयारी गीतहरूको प्रचार, प्रमोसनमा छु। एउटा गीतको भिडियो पनि बन्दैछ।

तपाईंलाई कुन गीतले चर्चामा ल्यायो?

मैले रोमान्टिक, सेन्टिमेन्टल, मेलोडियस सबै प्रकारको गीत गाएकी छु। तर श्रोताहरूले सेन्टिमेन्टल गीत नै बढी मन पराए। मेलोडियस गीतहरूले नै मलाई चर्चाको शिखरमा पु¥यायो।

‘नाइँ नभन्नु ल १’ फिल्मको ‘म मर्ने बेला तिमी चाहिँ आउनु’ भन्ने बोलको गीतले मलाई हिट बनायो। ‘पानीको फोका जस्तै’ बोलको गीत पनि मेरो परिचयको पर्यायवाची बन्यो।

तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो?

मेरो घरको वातावरण नै सांगीतिक थियो। संगीतप्रति बाबाको अत्यन्तै रुचि थियो। ठूलो बुवाले पहिल्यै नै रेडियो नेपालमा गीत रेकर्ड गराउनु भएको थियो। आठ वर्षको उमेरमा गोपाल गुराँस गुरुसँग क्लासिक संगीत सिक्न थालेकी हुँ। सानैैदेखि नै स्केलमै गीत गाउन सिकेकी थिए। ममी, बुवाले मेरो रुचिको सधैं ख्याल गर्नुभयो।

संगीत कहाँ कहाँ सिक्नु भयो?

गुरुदेव कामतसँग दुई वर्ष, संगीता प्रधानसँग पाँच वर्ष संगीत सिकँे। भारतीय गुरु पण्डित इन्दुप्रकाश मि श्रसँग पनि हिन्दुस्तानी क्लासिकल म्युजिकको क्लास लिए। हालसम्म पनि संगीत सिकिरहेकी छु।

संगीत कत्तिको गाह्रो विषय हो?

जति बुझ्यो त्यति गाह्रो विषय हो यो। नजान्दासम्म जे गरे पनि हुन्छ, जति सिक्यो, त्यति गहिराइमा पुगिने रैछ। संगीत महासागर हो। यसको राग, सरगम, रियाज, लय, शैली भोकल धेरै चिजमा ध्यान दिनुपर्छ।

तपाईंलाई कस्ता गीत गाउँदा बढी सन्तुष्टि मिल्छ?

गजल, भजनहरू गाउँदा विशेष सन्तुष्टि मिल्छ।

गीत गाउने रुचि कसरी बढ्यो?

धेरैजसो हिन्दी गीत सुन्थे। लता मंगेश्कर, आशा भोस्ले, नारायणगोपाल, अरुणा लामा, भक्तराज आचार्यलगायतका पुराना गीत सुनेर संगीतको बाटोमा हिँडाएकी हु।

सानो बेलामा नै गीत गाउनुभयो नि?

हो, ‘सपुत’ फिल्मको लागि गीत गाउँदा म १२ वर्षको मात्र थिएँ। ‘सुसेली हाल्नेले’ बोलको गीत अरुणिमा लम्सालको लागि प्लेब्याक स्वर दिएकी थिए। ‘मिस्टर मंगले’ फिल्ममा पनि गीत गाएँ। सानोमा नै मेरो स्वर प्लेब्याकको लागि सुट हुने खालको थियो। वास्तवमा बाल्यकालको धेरै समय मैले कोठाभित्र बसेर गीत गुनगुनाउँदै बिताएकी छु। साथीहरू खेल्ने, रमाइलो गर्ने गर्थे तर मैले लामो समय रियाज गरेर समय बिताउथे।

आफूले गाएको गीत पहिलो पटक सुन्दा कस्तो लाग्यो?

अत्यन्तै रमाइलो लागेको थियो। धेरै कुरा थाहा थिएन। अहिले भने आफ्नो गीत सुन्दा यहाँनेर यो कमी भयो, अझै बढी गर्न सक्थे नि भन्ने लाग्छ।

हालसम्म कतिवटा गीत गाउनु भयो?

करिब २२ सय बढी गीत गाइसके होला।

कुन कुन एल्बम बजारमा ल्याउनु भयो?

‘परी’ र ‘रजिना’ एल्बम ल्याएँ, यसले मलाई फरक परिचय दियो। आफ्नो एल्बम निकाल्दा धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ।

सांगीतिक फिल्ड कस्तो लागिरहेको छ?

मेरो नशानशामै संगीत बगेको छ जस्तै लाग्छ। १५ वर्ष यही क्षेत्रमा बिताइसकँे। कहिल्यै पनि दिक्क लागेको छैन। म काममा अत्यन्तै खट्ने मान्छे, लगातार आफ्नै मर्जीले काम गर्न पाइने यो क्षेत्र मलाई अत्यन्तै रमाइलो लागिरहेको छ।

तपाईंको रियाजको समय?

रियाज गर्न बिहान र साँझको समय बेस्ट लाग्छ। गीत गाउन त समय कुर्नै पर्दैन। केही काम गर्दा होस् या फुर्सदको समय होस् गीत गुनगुनाउँदै हिँड्छु।

गाउन नसकेको कुनै गीत छ?

गाउन नसकेर छाडेको भन्ने त त्यस्तो छैन। गीतका शब्दहरू मन नपरेका धेरै गीत गाउँदिनँ भनेर छाडेकी छु। गीत गाउने मामिलामा निकै चुजी छु। गीत लिइसकेपछि म गीतभित्र पूरा पसिसकेकी हुन्छु। यो गीतलाई कसरी न्याय गर्ने भन्ने मात्र मनमा आउछु। शब्दभित्र पूरा डुब्ने आदत छ मेरो।

संगीतमा करियर कस्तो छ?

मेहनत गर्नेलाई अत्यन्तै राम्रो इज्जत दिन्छ संगीतले। पछिल्लो समय यसको भ्यालु पनि बढिरहेको छ। आफ्नो प्रतिस्पर्धी भनेको आफूमात्रै हो भन्ने लाग्छ मलाई। दर्शक, श्रोताहरूले पनि अत्यन्तैे माया गर्छन्। मेला महोत्सव र विदेशमा पनि कार्यक्रमहरू भइरहन्छ। गीत गाएर बाँच्न सक्ने प्रशस्त आधार बनेको छ अहिले।

विवाहपछि करियर बढाउन कत्तिको गाह्रो भयो?

मैले प्रेमविवाह गरेकी हु। मलाई त म बुहारी हो भन्ने सोचसमेत आउँदैन। केही पनि अफ्ठ्यारो भएन। मेरा श्रीमान् विनोदजी पनि म्युजिक फ्यान हो। उहाँ पनि गीत सुनिरहनुहुन्छ। बुवाले पनि बुहारी गायिका हुन् भनेर गर्व गर्नुहुन्छ। उहाँले पनि गीत गाउन हौसला थपी रहनुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.