स्वास्थ्यमा लाभदायी जैतुन
जैतुनको तेल स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । आइरन, क्याल्सियम, कपर, भिटामिन के, भिटामिन ई र सोडियम तत्त्व बढी पाइने यो तेल प्रयोग गर्दा स्वास्थ्यमा फाइदै फाइदा पुग्छ । जैतुनले के के फाइदा गर्छ त ?
तौल घटाउँछ
जैतुनमा फाइबरका साथै बोसोजन्य पदार्थ पाइन्छ । यसले एडिपोनेक्टिन नामक तत्त्व उत्पादनमा सहयोग पुर्याउँछ । यो तत्त्वले खाना खाएको करिब पाँच घण्टाभित्र अनावश्यक बोसोलाई पगाल्ने काम गर्छ ।
मुटुलाई बचाउँछ
जैतुनमा पाइने अर्को तत्त्व भनेको ओलिक एसिड हो । यो मुटुका लागि निकै फाइदाजनक मानिन्छ । यसले मुटुलाई स्वस्थ राख्नुका साथै कोलेस्टोरेल लेबल सन्तुलित पार्न मद्दत गर्छ । केही अनुसन्धानले जैतुन र जैतुनको तेलले रक्तचाप घटाउँछ भन्नेसमेत पुष्टि गरिसकेको छ ।
केही समयपहिले इटाली र स्पेनमा करिब एक लाख ४० हजार मानिसमा गरिएको एक अध्ययनमा जैतुनको तेल खाने व्यक्तिमा हृदयाघातको सम्भावना नखानेमा भन्दा कम पाइएको थियो ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
जैतुनमा ओलिउरोपिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर विभिन्न खाले भाइरल इन्फेक्सनबाट जोगाउँछ ।
क्यान्सरबाट जोगाउँछ
जैतुनले विभिन्न रोगसँग लड्ने क्षमता बढाउनुका साथै क्यान्सरबाट पनि जोगाउन मद्दत गर्छ । जैतुन उम्रिने र खेती गरिने ठाउँका मानिसको तुलनामा नउम्रिने र खेती नगरिने देशका मानिसमा क्यान्सरको जोखिम बढी रहेको पाइएको छ । यद्यपि यस विषयमा अहिलेसम्म मानवमा कुनै अनुसन्धान भने भएको पाइएको छैन ।
स्मरण शक्ति बढाउँछ
जैतुनमा पाइने पोलिफिनोल तत्त्वले दिमागमा रहेको तनाव घटाउँछ । यसको नतिजास्वरूप मानिसको स्मरणशक्ति वृद्धि हुन्छ । अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयको न्युरो सर्जरी विभागले गरेको एक अध्ययनमा जैतुनमा पाइने पोलिफिनोल तत्त्वले दिमागले गर्ने कामको गति बढाउन र विभिन्न मनोवैज्ञानिक समस्या घटाउन सहयोग पु¥याउँछ ।
चाउरीपना घटाउँछ
जैतुनको तेल प्रयोगले छालाको चाउरीपना घटाएर छालाको स्वास्थलाई सुधार गर्न सहयोग पु¥याउँछ । यसमा पाइने भिटामिन इ र ओलिक एसिडले छालालाई विभिन्न हानिकारक तत्त्वबाट जोगाएर स्वस्थ र सुन्दर बनाउँछ ।
प्रजनन स्वास्थ्यमा सुधार ल्याउँछ
एन्टिअक्सिडेन्ट तत्त्व स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले वीर्य र अण्डालाई नाश गरी बाँझोपन निम्त्याउने तत्त्वलाई निष्क्रिय पार्न सघाउँछ । एक अध्ययनअनुसार दैनिक ७५ ग्राम एन्टिअक्सिडेन्टयुक्त खाना खाँदा वीर्यको गुणस्तरमा सुधार ल्याउने पाइएको छ ।