अलबिदा, कमरेड साह !
कमरेड योगेन्द्र साह, धनुषा र सिंगो मध्यतराईका स्थापित, परिचित र शालीन कम्युनिस्ट नेता ! अब हामीबीच उहाँ रहनुभएन। यही पुसमा उहाँको दुःखद निधन भयो। कमरेड साह रहनुभएन भन्ने खबर सुनेपछि उहाँसँग जोडिएका स्मृति मेरो मानसपटलमा खेल्न थाले।
पहिलो भेट
२०३३ साल जेठ वा असारमा हुनुपर्छ- म नवगठित कम्युनिस्ट क्रान्तिकारीको कोअर्डिनेसन केन्द्र (कोके) को भूमिगत कार्यकर्ता थिएँ। एक रात पारेर धनुषाको पूर्वीभेगमा पर्ने धवौली गाउँका सौखीलाल मण्डलको घर पुगें। त्यस रात मैले त्यहीं आ श्रय लिने योजना बनाएँ। केही स्थानीय किसान साथीसित भेटघाट गर्नु थियो मेरो।
सौखीलालको घर कहिलेकाहीं रात पारेर आउनेजाने आ श्रयस्थल थियो मेरा लागि। उहाँका काका अनिल मण्डल त्यसबेला झापाको शनिश्चरे हाइस्कुलमा गणित र विज्ञानका शिक्षक हुनाले झापा संघर्षको राजनीतिबाट प्रभावित हुनुहुन्थ्यो। उहाँकै प्रभावबाट मण्डलको घरपरिवार र त्यो गाउँका युवा र किसानमा कम्युनिस्ट राजनीतिको प्रभाव परेको थियो। हाम्रा लागि आउजाउमा अनुकूल हुनाले नै त्यस रात म त्यहाँ पुगेको थिएँ।
बेलुकाको खानपिन सकिएपछि म बसेको कुइनेटो परेको ठाउँमा कुप्रोकुप्रो परेर हिँड्ने, लुंगी र गोलगन्जी लगाएका, काँधमा कपडाको झोला झुन्ड्याएका र हातमा छाता बोकेका एकजना कालाकाला मान्छेलाई लिएर सौखीलाल आइपुगे। ती मान्छे मलाई लालसलाम गर्दै हात मिलाउन आइपुगे। सुरुमा त म अचम्मित भएँ, केही सतर्कसमेत बनें।
को हुन्, के हुन् भन्ने ठानें। तर साथमा सौखीलाल भएका कारण ‘कोही सम्पर्कका लागि आएका समर्थक होलान्’ भन्ने लाग्यो। हात मिलाएपछि हाँस्न खोज्दै गोजीमा हात हाल्दै ती आगन्तुकले ‘जेलबाट आएको चिठी’ भन्दै बेरेर स्टिच गरेको कागजको एक टुक्रा थमाए।
छेवैमा धमिलो-धमिलो गरी बलिरहेको टुकीको उज्यालोमा स्टिच खोलें र चिठी पढें। त्यसबेला जलेश्वर जेलमा रहनुभएका कमरेड ‘सुनिल’ ले लेख्नुभएको रहेछ। चिठीमा जेलभित्रको आफ्नो खबर, बाहिर काम गर्दा ध्यान पुर्याउनुपर्ने कुरा र सम्पर्क गर्नुपर्ने केही व्यक्तिबारे लेखिएको थियो।
चिठी ल्याउने मानिस केही समय जलेश्वर जेलमा राजकाज मुद्दामा रहनुभएका ‘रोशन’ भनेर उहाँले उल्लेख गर्नुभएको रहेछ। मैले चिठी पढेपछि ‘रोशन’ सित केही कुरा गरें। थाहा पाएँ, उहाँ त्यही भेगका स्थापित, जागरुक र प्रगतिशील विचार राख्ने व्यक्ति हुनुहुँदो रहेछ। उहाँसितको भेटपछि एउटा भरोसालाग्दो व्यक्तिसित सम्पर्क भएको महसुस भयो र मनमनै खुसी भएँ।
जेलको परिचय
माधव नेपाल ‘को-अर्डिनेसन केन्द्र’ का संस्थापक सदस्य हुनुहुन्थ्यो। मध्यतराई उहाँको मुख्य कार्यक्षेत्र थियो। धनुषालाई केन्द्र गरेर उहाँ आफ्नो कार्यक्षेत्रमा भूमिगत हिसाबले राजनीतिक सांगठनिक कामलाई अघि बढाउने योजना कार्यान्वयनमा सक्रिय हुनुहुन्थ्यो। जहाँजहाँ ‘पार्टी’ को राजनीतिक सांगठनिक कामले गति लिएको थियो। त्यसैको परिणामस्वरूप स्थानीय वर्ग-संघर्षका गतिविधि बढिरहेका थिए।
ती ठाउँमा पुलिस प्रशासनको चियोचर्चो र सुराकी बढ्न थाल्यो। केही गाउँमा किसानमाथि वारेन्ट, गिरफ्तारी तथा धरपकड हुन थाल्यो। क्रान्तिकारी गतिविधि गर्नेले विशेष सतर्कता अपनाउनुपर्ने अवस्था बन्यो। इकराहीको मुरिवा गाउँ क्रान्तिकारी गतिविधि र जनताको संगठित जागरणका हिसाबले केन्द्रजस्तै थियो। माधव नेपाल त्यही केन्द्रित भएर काम गरिरहनुभएको थियो।
शालीन, भद्र, थोरै बोल्ने, सधैंभरि केही न केही सोचिरहेजस्तो देखिने उहाँ जिल्लाकै एउटा भरोसालाग्दो नेताका रूपमा स्थापित हुनुहुन्थ्यो।
त्यहीबेला मचाहिँ जिल्लाको पश्चिम भेगमा पर्ने ठेरा, कचुरी, तारापट्टी र सिर्सिया गाउँमा केन्द्रित थिएँ। जिल्लाका यी दुई केन्द्रका बीचमा बेलाबेलामा कार्यक्रम भइरहन्थे।
दमनकै सिलसिलामा २०३२ माघ १९ गते ठूलो संख्यामा आएका प्रहरीले मुरिवाबाट माधव नेपाललाई भूमिगत सेल्टरमै घेराउ गरी गिरफ्तार गरे। उहाँसँगै दर्जनौं अगुवा किसान पनि गिरफ्तारीमा परे। त्यसपछि जिल्लाभरि नै र खासगरी त्यस क्षेत्रमा दमन बढाइयो। नेपाल जलेश्वर जेलमा राजकाज मुद्दामा बन्दी बनाइनुभयो। उहाँले दुई वर्ष त्यही जेलमा बिताउनुभयो। त्यही जेलमा माधव नेपालले आफूलाई सुनिल शर्मा भनेर परिचित गराउनुभएको थियो। योगेन्द्र साहले आफ्नो गोप्य नाम राकेश राख्नुभयो।
यसरी धवौलीका सौखीलालको घरमा जलेश्वर जेलबाट सुनिल अर्थात् माधव नेपालको पत्र होसियारीपूर्वक बोकेर ल्याउने व्यक्ति हुनुहुन्थ्यो राकेश उर्फ योगेन्द्र साह। तिनै योगेन्द्र साहको दुःखद निधन भएको छ- २०७५ पुस १० गते बिहानै आफ्नै पैत्रिक थलो (धनुषाकै खजुरी गाउँ (हाल मिथिला विहारी नगरपालिका) मा।
नेतृत्वमा साह
सुरुमा ‘को-अर्डिनेसन केन्द्र’ र नेकपा (माले) गठनपछि २०३५ पुसपछि म धनुषा जिल्ला पार्टीको नेतृत्वमा रहँदै आएँ। माधव नेपाल त्यहाँको जिम्मेवारीबाट अन्यत्रै सरुवा हुनुभएपछि मैले पार्टी प्रमुख भएर भूमिका खेल्नुपर्यो। त्यस अवस्थामा मेरो मातहतको दोस्रो व्यक्ति भएर कमरेड राकेश अर्थात् योगेन्द्र साहले भूमिका खेल्नुभयो।
हामी एउटै कमिटीमा भए पनि त्यसबेलाको संगठनात्मक व्यवस्थाअनुसार केन्द्रीय सदस्यको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने भएका कारण बेलाबेला बाहिरतिर गइरहनुपर्थ्यो। धेरै दिन बाहिरै रहनुपर्ने अवस्था हुन्थ्यो, कहिलेकाहीं। त्यस्तो बेलामा मैले आफूले गर्नुपर्ने सबै कामको जिम्मा उहाँलाई नै दिने गर्थें।
पछिल्लो समयमा त म ‘मध्य दक्षिण (सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, रामेछाप, सिरहा, सप्तरी, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुसम्म समेटिएको क्षेत्र)’ को प्रमुख भएपछि उहाँ धनुषा जिल्लाको पार्टी काममा केन्द्रित रहनुपर्ने भयो। उहाँले त्यो जिम्मा निष्ठापूर्वक पूरा गर्नुभयो। शालीन, भद्र, थोरै बोल्ने, सधैंभरि केही न केही सोचिरहेजस्तो देखिने उहाँ जिल्लाकै एउटा भरोसालाग्दो नेताका रूपमा स्थापित हुनुहुन्थ्यो। यिनै गुणका कारण उहाँले आपूmलाई कार्यकर्ता र जनताका बीचमा आफ्नो परिचय स्थापित गर्नुभयो।
धनुषाका विभिन्न गाउँ- पूर्वतिर हरने, कोयलपुर, महुवाखजुरी होऊन् वा मध्यतिर पर्ने नौसय बिघा, उमाप्रेमपुर, धनुषाधाम वा ठेराकचूरी, तारापट्टी र सिर्सिया वा महेन्द्रनगर र ढल्केबरसम्मका सबै ठाउँका पार्टी सम्पर्कहरूमा योगेन्द्र साह पुग्ने गर्नुहुन्थ्यो। ती सबै ठाउँमा पुग्नु भनेको स्थानीय कमिटीको बैठक गर्नु, रिपोर्ट लिनु, गर्नुपर्ने कामका लागि निर्देशन दिनु आदि हुने गथ्र्याे। ती सबै काम योगेन्द्र साह आफैंले गर्नुहुन्थ्यो।
भूमिगत जीवन
उहाँले जिल्लामा आफ्नो प्रगतिशील जनपक्षीय ‘कम्युनिस्ट’ छवि बनाउनुभएको थियो। खासगरी पूर्वीभेगका जनताले उहाँलाई त्यही रूपमा चिन्थँ। स्थानीय प्रशासन र पुलिसहरूले त्यही रूपमा बुझेर चियोचर्चो गर्न थालेका थिए। उनीहरू यसै हिसाबले सुराकीसमेत गर्दथे र कतिपय अवसर पारेर फसाउनसमेत कोसिस गर्दथे। पछिपछि त उहाँ सिरहा र धनुषा जिल्लाआधारित जयगोविन्द साह र सूर्यनाथ यादवकै हाराहारीमा चर्चित हुनुहुन्थ्यो।
पछिल्लो समयमा ‘को-अर्डिनेसन केन्द्र’ र नेकपा (माले) सित सम्बन्धित बनिसकेपछि भूमिगत गतिविधिमा सक्रिय हुनुभयो। यसै क्रममा अझ अघि बढ्दै जाँदा उहाँलाई खुला हिँडडुल गर्नसमेत कठिनाइ हुँदै गयो। उहाँ घर छाडेर पूर्णकालीन भूमिगत कार्यकर्ता बन्नुभयो। त्यसपछि पनि उहाँ भूमिगतरूपमै जिल्लाभित्रका राजनीतिक सांगठनिक काममा केन्द्रित भइरहनुभयो। आफ्ना सबै दिनचर्या उहाँले यसै रूपमा अघि बढाइरहनुभयो। २०४६ को ऐतिहासिक जनआन्दोलन सफल भएर राजनीतिक दलहरूमाथि प्रतिबन्ध नहटुञ्जेल र बहुदलीय व्यवस्था पुनस्र्थापित नभएसम्म उहाँ त्यही स्थितिमा क्रियाशील भइरहनुभयो।
अन्तरपार्टी संघर्षमा
नयाँ क्रान्तिकारी राजनीतिक धारमा संगठित भएपछि कमरेड योगेन्द्रको क्रियाशीलता र राजनीतिक व्यक्तित्व थप उचाइमा पुग्दै थियो। ‘को-अर्डिनेसन केन्द्र’ मा संगठित भएपछि उहाँले सबैभन्दा पहिले त्यहाँभित्र उग्रवाद र दक्षिणपन्थी कोणबाट आएका विचारलाई चिन्नेबुझ्ने अवसर प्राप्त गर्नुभयो। २०३५ साल साउन ४-९ मा सम्पन्न ‘कोके’ को तेस्रो सम्मेलनले आफैंभित्रका उग्रवादपन्थी चिन्तन, प्रवृत्ति र आचरण सुधार गर्ने काम गर्यो। क्रमिकरूपमा सुधार गर्न थालेको साहसिक प्रयत्नलाई दक्षिणपन्थी अवसरवाद हावी हुन थालेको भनेर चित्रण गर्ने एउटा समूह ‘कोके’भित्रै देखा पर्यो। त्यसबेलाका पोलिटब्युरो सदस्य रामचन्द्र यादव र अक्षेश्वर यादवहरूको अगुवाइमा यो समूह देखा परेको थियो।
त्यस समूहले ‘वर्ग-शत्रु खत्तम’ लाई एउटा अभियानकै रूपमा अगाडि बढाउनुपर्छ, यसलाई छोड्नु भनेको क्रान्तिकारी विचार त्याग्नु हो भन्ने मान्यताका साथ नेतृत्वको विरोध गर्यो। त्यसले औपचारिक रूपले नै ‘नेतृत्वले दक्षिणपन्थी अवसरवादको पथभ्रष्ट बाटो समातेकाले त्यसमाथि ‘गोलाबारी गर्न’ आह्वान गर्यो। अतिवादी वैचारिक धारबाट प्रभावित र निर्देशित पार्टीपंक्ति यो समूहले गरेको हमलाबाट कताकता प्रभावित हुन खोज्दै थियो, त्यहीबीचमा योगेन्द्र साह हुनुहुन्थ्यो। तर पनि उहाँ त्यसबाट प्रभावित बनेर दिग्भ्रमित हुनुभएन। त्यसले सिर्जना गरेका भ्रमबाट मुक्त हुँदै उहाँले आफ्नो क्रियाशीलतामा कुनै कमी आउन दिनुभएन।
त्यहीबेला, ‘पार्टी’ ले अझै ‘उग्र वामपन्थी’ बाटो छोड्न सकेको छैन भन्दै दक्षिणपन्थी कोणबाट नेतृत्वमाथि हमला गरिँदै थियो। त्यसले ‘पार्टी’ मा त्यति धेरै भ्रम सिर्जना नगरे पनि नेतृत्व पंक्तिका केहीमा भने अलमलजस्तो देखियो। केहीलाई ‘साँच्चै अघि बढ्न सकिँदैन कि ? ’ भन्ने लाग्न थाल्यो। तर योगेन्द्र त्यसमा पनि अल्मलिनुभएन। त्यसको खण्डन प्रतिवादमा सक्रियतासाथ लाग्नुभयो।
२०४६ सालको आन्दोलनपछि पुनस्र्थापित बहुदलीय व्यवस्थाका पक्ष र विपक्षमा वामपन्थी जनमत विभाजित हुन खोज्यो। तर उहाँ कुनै भ्रममा नपरी जनताको आन्दोलनबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरूलाई रक्षा गर्दै अघि बढ्ने विषयमा तत्कालीन नेकपा (माले) र पछि (एमाले) ले अघि सारेका विश्लेषण तथा निष्कर्षहरूबाट निर्देशित भइरहनुभयो। उहाँ नेकपा (एमाले) को ऐतिहासिक पाँचौं राष्ट्रिय महाधिवेशन (२०४९ माघ) मा जननेता मदन भण्डारीले अगुवाइ गरेको विचार जनताको बहुदलीय जनवादका पक्षमा दृढतापूर्वक उभिनुभयो।
जटिल भुमरीमा
एउटा दुःखद र विडम्बनापूर्ण घटना- २०५४ मा नेकपा (एमाले) को विभाजनका समय उहाँ विचलित भई विभाजित धारमा समाहित हुनुभयो। त्यसपछिका अनेक शृंखलामा उहाँ अल्मलिँदै जानुभयो। त्यसैक्रममा उहाँमा अस्वाभाविक निराशासमेत देखा पर्यो। पछिल्लो समयमा माओवादी केन्द्रसित सम्बन्धित हुन पुग्नुभयो। टेकेका खुट्किला एकपछि अर्को गर्दै छुट्दै जानेक्रमले योगेन्द्रलाई थप बेचैनजस्तो बनाउँदै लगेको देखिन्थ्यो। यद्यपि उहाँले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनबाट अलग हुने भन्ने कहिल्यै सोच्नुभएन। मलाई लाग्छ, विकसित परिस्थिति र त्यसैसित गाँसिएर आएका (वा आउने) जटिलता तथा अन्तर्विरोधलाई हल गर्न नसक्दाको अवस्थासहित उहाँ प्रकट हुन बाध्य हुनुभयो। उहाँको आस्था र विश्वास त कहिल्यै मरेन, तर जटिलताले सिर्जना गरेका अन्तर्विरोधबाट सुरक्षित अवतरण गर्न कठिनाइ भइरह्यो।
मदन भण्डारीसँगै विदेश भ्रमण
जननेता मदन भण्डारी लोकप्रियताको शिखरमा पुग्नुभएको बेला उहाँको पहिलो औपचारिक विदेश भ्रमण भयो। चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उदीयमान नेता मदन भण्डारीले नेतृत्व गरेको पार्टीको प्रतिनिधिमण्डललाई चीन भ्रमणको औपचारिक निमन्त्रणा गर्यो। त्यसबेला मदन भण्डारीको व्यक्तित्वले शिखर चुम्दै थियो। सार्वजनिक हुनासाथ जसरी आम नेपाली जनताका बीचमा उहाँले जुन लोकप्रियता हासिल गर्नुभयो, त्यो अतुलनीय नै थियो।
त्यस्तो व्यक्ति र त्यस्तो नेताको भ्रमण टोलीमा पार्टीका एकसे एक नेताहरू सामेल हुनुहुन्थ्यो। माधव नेपाल, केपी शर्मा ओली, मुकुन्द न्यौपानेसहित पन्ध्रजनाको टोलीमा कमरेड योगेन्द्र पनि सहभागी हुनुहुन्थ्यो। भ्रमणबाट फर्किएपछि एक दिन योगेन्द्रले भ्रमणमा प्राप्त अनुभवका बारेमा सविस्तार जानकारी गराउनुभयो। चीन भ्रमणबाट आफूले धेरै सिक्न सकेको र धेरै अनुभव प्राप्त गरेको सुनाउनुभयो। मलाई पछिसम्म लागिरह्यो- मदन भण्डारीले पार्टीको त्यस किसिमको उच्चस्तरीय प्रतिनिधिमण्डलमा योगेन्द्र साहलाई समावेश गर्नुपछाडिको कारण अवश्य पनि हुनुपर्छ। एकपटक उहाँले मलाई योगेन्द्र साहको इमानदारी र शालीनताबारे मन खोलेर कुरा गर्नुभएको पनि थियो।
कर्तव्यनिष्ठ र कम्युनिस्ट आन्दोलनमा निरन्तर प्रतिबद्ध साहलाई हार्दिक श्रद्धाञ्जलि !