उखु बिक्न छाडेपछि सख्खर
बिर्तामोड : सात वर्षदेखि उखुखेती गर्दै आएका झापा अर्जुनधारा नगरपालिका–५ का सुवाष राजवंशीले कहिल्यै भने जस्तो दाम पाएनन्।उखुको लगानीसमेत नउठ्दा परिवारको गर्जो टार्न पनि उनलाई समस्या हुन्थ्यो। उखुले उचित मूल्य नपाएको झोकमा उनले आफैंले उखुबाट सख्खर निकाल्न थाले। बिक्री गर्न थाले। विस्तारै नाफा हुँदै गयो। आम्दानी बढ्न थालेपछि उखु नबिक्ने झन्झटबाट उनी मुक्त भए।
‘उखुले दाउराको भाउ पाउन छाडेको थियो। ऋणमात्रै लाग्यो। सख्खर बनाउन थालेदेखि आम्दानी राम्रो हुन थालेको छ’, राजवंशीले भने, ‘अरूहरू उखु बिक्दैन भन्छन्, मैले बनाएको सख्खरले भने राम्रो बजार लिँदै छ।’
भारतबाट कालिगढ मगाएर सख्खर बनाउने उद्योग नै चलाएका उनले जमिन लिजमा लिएरै उखुखेती गरिरहेका छन्। भन्छन्, ‘सुरुमा अर्काको मेसिनले बनाएँ। खर्च धान्न नसकेपछि ऋणै गरेरै भए पनि आफैंले ल्याए।’ उखु खेतको बीचमै उनले उद्योग चलाएका छन्। करिब तीन लाख रुपैयाँ लागेको भन्दै उनी सुनाउँछन्, ‘प्रतिघण्टा एक लिटर डिजेल लाग्छ, दिनमा दुई सय ६५ लिटर रस निकाल्न सकिन्छ।
पहिले आफैं काम गरे पनि उत्पादन बढी नभएपछि भारतबाट तीन जना अनुभवी कामदार ल्याएरका छन् उनले। अन्य चार जनालाई उखु काट्नेदेखि बजारसम्म सख्खर पुर्याउने जिम्मा दिएका छन्। यस काममा उनलाई श्रीमती उर्मिलाको साथ छ। उर्मिला भन्छिन्, ‘पहिले बारीमै उखु सुकेर १० लाख ऋण लाग्यो। यसपालिबाट ऋणै गरेर भए पनि सख्खर बनाउने मेसिन जोड्यौं, अहिले राम्रो भाको छ। खर्च कटाएर महिनामै ३०÷३५ हजार नाफा हुन्छ।’
राजवंशी दम्पतीको सख्खर उद्योगबाट दैनिक एक सय किला सख्खर, खुँदो र मुरैका डल्ला उत्पादन हुने गर्छ। यसले राजवंशी दम्पतीलाई उखु नबिक्दाको घाउमा मल्हम लगाएसरी भएको छ। व्यापारीहरू सख्खर किन्न उनीहरूको उद्योगसम्मै धाउने गर्छन्। प्रतिकिलो एक सय रुपैयाँमा सख्खर बिक्री हुने र शुद्ध पाइने भएकाले किन्नेको पनि घुइँचो नै लाग्ने गरेको छ आजभोलि। अर्जुनधाराका किसानले दुई कठ्ठादेखि पाँच बिघासम्मा उखुखेती गरिरहेका छन्। राजवंशीले उखु बिक्रीको वैकल्पिक बाटो सख्खर उत्पादन रोजेपछि अन्यले पनि यसलाई अनुशरण गर्न थालेका छन्।