बिर्तामोडको सुरक्षाका लागि ६४ वटा सिसी क्यामेरा
बिर्तामोड : ब्यापारिक केन्द्रको रुपमा चिनिएको बिर्तामोडको सुरक्षाका लागि ६४ वटा सिसी क्यामेरा जडान गरिएको छ ।
८० लाख ४३ हजार २ सय ७० रुपैयाँ खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो । स्थानीय तह, राजमार्ग, चोक, बजार लगायत सार्वजनिक स्थलमा सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएको बताइएको छ ।
यसमा विभिन्न संघसंस्था, नागरिक समाजबाट पनि सहयोग भएको हो । सिसी क्यामेरा जडान समिति कोषाध्यक्ष पार्वता बिमली खरेलका अनुसार कनकाइ, अर्जुनधारा, बिर्तामोड नगरपालिका, बिर्तामोड नगरपालिकाकै १, २, ५ र ६ नम्बर वडा सहित समुदायले रकम सहयोग गरेका छन् ।
क्यामेरा जडानपछि इलाका प्रहरी कार्यालयलाई निगरानी र मर्मतका लागि जिम्मा दिएको र अब मर्मतका लागि एउटा व्यवस्थापन समिति गठन गरी रकम जुटाएर मर्मत कोष समेत खडा गर्ने समितिका अध्यक्ष सुवास भट्टराईले बताए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले यसअघि नै सिसी क्यामेरा जडान गर्ने आफ्नो योजनाको रुपमा सार्वजनिक गरेको थियो । क्यामेरा जडानको काम सम्पन्न भएसँगै शनिबार एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।
क्यामेरा जडानसँगै बिर्तामोड क्षेत्रको सुरक्षा व्यवस्था बलियो हुने अपेक्षा गरिएको छ । जिल्ला प्रहरी कर्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार बिर्तामोडका नौ र कनकाई नरगरपालिकाको एक ठाउँमा गरी १० स्थानमा ६४ वटा क्यामरा जडान गरिएको हो ।