सिंगो सहरकै लालपुर्जा छैन

सिंगो सहरकै लालपुर्जा छैन

पाल्पा : व्यापारिक केन्द्रका रूपमा परिचित पाल्पाको रामपुर बजार लालपुर्जाविहीन छ। रामपुरमा विद्यालय र तत्कालीन गाउँपञ्चायतले दिएको एउटा कागजको भरमा ठूलो लगानीमा ठुल्ठूला भवन निर्माण भइरहेका छन्। यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजस्व पाएको छ। व्यापारिक सहर रामपुर नगरपालिका नै लालपुर्जाविहीन सहरका रूपमा चिनिन थालेको छ।

पाल्पा रामपुरका ८ सय ५६ घरपरिवार लालपुर्जाको आसमा बसेको ३५ वर्ष बितिसकेको छ। पाल्पा रामपुरमा प्रत्येक निर्वाचनमा मुख्य लालपुर्जा बन्ने गरेको छ। ०४६ सालपछि कांग्रेस र तत्कालीन एमालेले अधिकांश समय सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन सकेका छैनन्। चुनावका बेला चर्चा हुन्छ तर चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको स्थानीयको गुनासो छ।

रामपुर नगरपालिका– ५, ६, ७ र ८ का बासिन्दा लालपुर्जाको पर्खाइमा छन्। ०३५ देखि ०३९ सालसम्म तत्कालीन गाउँ पञ्चायतले आन्तरिक आम्दानीका लागि, हालको रामपुर नगरपालिका–५ स्थित रामतुलसी मावि र वडा नम्बर ६ को दरैठाँटी माविले विद्यालय सञ्चालन गर्न बिक्री गरेका जग्गा लालपुर्जाविहीन हुन्। विद्यालयले बिक्री गरेका जग्गा सोही समयदेखि स्थानीयले भोगचलन गर्दै आएका छन्। ‘घरजग्गाको लालपुर्जा नहुँदा करोडौं लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्यांकन हुन सकेको छैन। बैंकले ऋण दिँदैन। उद्योग कारखाना चल्दैन’, रामपुर नगरपालिका–५ बेझाडका सूर्यप्रसाद श्रेष्ठले भने।

०३९ सालमा घडेरी किनेर घर बनाउनेहरू अझै लालपुर्जाको आसमा छन्। ‘जुनसुकै पार्टीको सरकार बने पनि रामपुरवासीको माग कहिल्यै सुनुवाइ भएन’, स्थानीय बाबुराम सिग्देलले भने, ‘पुर्जा त चुनावी नारा मात्रै भए।’ गत निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्त्वसाथ उठाएका थिए। रामपुर नगरपालिका–६ विजयपुरका नारायणप्रसाद पाठकले आफूहरू सुकुम्बासी नभएको बताए। ‘घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर लालपुर्जा हातमा छैन। हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन तर सुकुम्बासीजस्तै भएका छौं’, उनले भने। रामतुलसी माविले जग्गा किन्नुस् पछि लालपुर्जा मिल्छ भनेपछि जग्गा किनेको स्थानीयको भनाइ छ।

नगरपालिकाले लालपुर्जा वितरण प्रक्रिया थालेको जनाएको छ। ‘नगरभित्रका ८५६ घरपरिवारको सम्पूर्ण कागजात, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेस गरेका छौं। मन्त्रीज्यूले ६ महिनाभित्र समस्या समाधान हुने जानकारी दिनुभएको छ’, नगरप्रमुख रमणबहादुर थापाले भने।

 रामपुर क्षेत्रबाट नेकपाका ५ प्रदेशका सहसंयोजक पूर्वभूमिसुधारमन्त्री दलबहादुर राना संघीय सांसदमा निर्वाचित भएका छन्। प्रदेश सांसदमा नेकपाकै युवराज खनाल निर्वाचित भएका छन् तर निर्वाचनको एक वर्ष बितिसक्दा, दुईतिहाइको सरकार हुँदा पनि लालपुर्जा नपाएपछि रामपुरवासी निरास बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.