सिंगै गाउँ लालपुर्जाविहीन

सिंगै गाउँ लालपुर्जाविहीन

टीकापुर : कैलालीको भजनी नगरपालिका–३ स्थित कुसुमघाट गाउँ लालपुर्जाविहीन छ। भारतसँग जोडिएको कुसुमघाटमा नापी नहुँदा सिंगै गाउँ लालपुर्जाविहीन भएको हो । स्थानीयका अनुसार ०२४ सालबाट बसोवास हुँदै आएको उक्त गाउँको ५ सयभन्दा बढी बिघा जग्गा लालपुर्जाविहीन छ। द्वन्द्वकालभन्दा पहिले निकै बाक्लो बस्ती रहेको उक्त गाउँमा लालपुर्जा नभएकै कारण त्यहाँका बासिन्दा अन्यत्र विस्थापित हुँदै आएका छन् ।

उक्त गाउँमा १ सय ९ घरपरिवार बसोवास गर्दै आएको स्थानीय दुर्गा माध्यमिक विद्यालयका शिक्षक रमेश बोहराले बताए। ‘पूरै गाउँ लालपुर्जाविहीन छ’, शिक्षक बोहराले भने, ‘केही वर्षअघिसम्म बाक्लो बस्ती रहेको यो गाउँमा १ सय ९ परिवार बसोवास गर्छन् ।’

नेपाल र भारतको दसगजा क्षेत्रसँगै जोडिएको उक्त गाउँमा एकपटक आएको नापी सर्भे टोलीले प्रतिव्यक्तिका नाममा एक बिघा जग्गा मात्र दर्ता गर्न सकिने बताएपछि स्थानीयले विरोध गर्दा उक्त जग्गा नापी हुन सकेको थिएन । मोहना नदीभन्दा पारिको भारतीय भूमिसँगै जोडिएको क्षेत्रमा बसोवास गर्दै आएका कुसुमघाटवासी भारतीय डाँकाको आक्रमणबाट बच्न ०२४ सालमा जंगल फाँडेर बसोवास सुरु गरेको स्थानीय हर्क साउदले बताए ।

‘हाम्रा पुर्खाले ०२४ सालमा जंगल फाँडेर यो बस्ती बसाएका हुन्’, साउदले भने, ‘पहिले मोहनापारि बसोवास थियो, भारतीय डाँकाले लुटपाट गर्न थालेपछि यो गाउँमा बसोवास सुरु भयो ।’ पटक–पटक जग्गा नापीका लागि स्थानीयले पहल गर्दै आइरहेको भए पनि नापी हुन नसक्दा कुसुमघाटवासी लालपुर्जाविहीन हुनुपरेको हो ।

गाउँका एक जनासँग पनि लालपुर्जा छैन। जग्गा भएर पनि लालपुर्जा नहुँदा उनीहरूले जग्गाको कारोबार गर्न पाउँदैनन्। घरपरिवार अंशबन्डा हुँदासमेत कानुनी रूपमा अंशबन्डा हुँदैन । ‘वर्षौंदेखि बसोबास गरेको जग्गा छाड्न सकिँदैन, लालपुर्जा पनि छैन’, साउदले भने, ‘हामीलाई जग्गा खरिदबिक्री गर्न र अंशबन्डा गर्न समस्या भइरहेको छ ।’ कुसुमघाट भारतीय बजार तिकुनियाँसँग जोडिएको सीमानाका हो। द्वन्द्वअघि उक्त गाउँमा सुनाहाफाँटा छोटी भन्सार कार्यालय थियो ।

कैलालीको मध्यवर्ती क्षेत्रबाट निकै चल्तीको नाका मानिने कुसुमघाटमा एउटा सरकारी विद्यालय छ। त्यहाँका बासिन्दाका लागि बाटो निर्माण गरिएका छन्। सीमा क्षेत्रमै जोडिएको बस्ती लालपुर्जाविहीन हुँदा गाउँलेले भारतीय नागरिकबाट बेला–बेला दुःख पाउँदै आएका छन्। भारतीय सुरक्षा बल एसएसबीले समेत त्यहाँको बस्ती उठाउने प्रयास गरिरहेको स्थानीय बताउँछन्। कुसुमघाटको बस्ती नभए नेपालको सीमा नै सुरक्षित नहुने स्थानीय पदम बोहराको भनाइ छ ।

‘पटक–पटक भारतीय सुरक्षा निकायले सीमा स्तम्भ सार्ने गरेको छ, हाम्रा घर भत्काउने धम्की दिइरहेको छ’, बोहराले भने, ‘हामी देशको सीमारक्षक भएर बसेका छौं, हाम्रै जग्गाको लालपुर्जा छैन ।’ सरकारले लालपुर्जाका लागि चासो नदेखाएको स्थानीयको आरोप छ ।

भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले भने कुसुमघाटको जग्गा नापी सर्भेका लागि प्रक्रियामा रहेको बताए। उनले नापी विभागसँग नगरपालिकामार्फत समन्वय गरेर छिट्टै नापी गराउने तयारी भइरहेको बताए । ‘हामी नापी विभागसँग सम्पर्कमा छौं अब केही समय लाग्ला तर उक्त जग्गाको नापीका लागि हामी पहल गर्दै छौं’, अध्यक्ष चौधरीले भने, ‘त्यो गाउँमा लालपुर्जा नहुँदा स्थानीयले निकै समस्या भोग्नुपरेको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.