गोदाम नै चलाएर लागुऔषध कारोबार

गोदाम नै चलाएर लागुऔषध कारोबार

बिर्तामोड : बिर्तामोड आसपास क्षेत्रमा गोदामै राखेर लागुऔषध कारोबार हुने गरेको सूचना लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले जिल्ला प्रहरी कार्यालय झापालाई अवगत गरायो । जिल्ला प्रहरी, इलाका प्रहरी बिर्तामोड र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोली परिचालित पनि भयो ।

प्रहरीले शंकास्पद ठाउँ, व्यक्ति र सवारीमा निगरानी बढायो । फलस्वरूप पुस १४ गते शनिबार दिउँसो बिर्तामोड ५ बाट पाँचथर फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडा घर भई झापा दमक बस्ने संग्रामसिंह आङदेम्बेलाई प्रहरीले समात्यो । उनको साथबाट ३१ ग्राम ब्राउन सुगर प्रहरीले फेला पार्‍यो ।

 लिम्बूलाई सोधपुछ गर्दा अर्जुनधारा नगरपालिका १० चुथाई डेरा गरी बस्ने भीमबहादुर अधिकारी, उनकी पत्नी ओममाया र कचनकवल २ की रेवतीमाया डाँगीबाट खरिद गरी ल्याइएको रहस्यो खुल्यो । लिम्बूले भनेबमोजिम अधिकारी दम्पती र डाँगीको डेरामा छापा मार्दा प्रहरीले दुई सय २ ग्राम ब्राउन सुगर बरामद गर्‍यो । ब्राउन सुगरसहित समातिएका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उक्त घटनाको साता दिन नबित्दै शुक्रबार बिर्तामोड ५ का विकास गुरुङ र उनकी पत्नी सेञ्जल लिम्बूलाई २४.७१ ग्राम ब्राउन सुगर र नगदसहित प्रहरीले समात्यो ।

ठूला कारोबारी पक्राउ परेपछि बिर्तामोडमा लागुऔषधको गोदामै राखेर त्यहीँबाट नेपालभर बिक्री हुने गरेको प्रहरीले पत्ता लगायो । झापा प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले भने, ‘सबै मान्छेको पहुँच यहाँ हुने भएकाले कारोबार गर्न सहज हुने हुँदा कारोबारीले बिर्तामोडलाई कारोबारस्थल बनाएका हुन् ।’

बिर्तामोड आसपासमा डेरा गरी बस्ने, काँकडभिट्टा हुँदै भारतबाट लागुऔषध भित्र्याउने र गोदाम नै चलाएर बिक्री हुने गरेको अनुसन्धानका क्रममा पाइएको ढकालको दाबी छ । बिर्तामोड क्षेत्रमा लागुऔषध खरिद गर्नेलाई आउजाउमा पनि सहज हुने र यहाँबाट अन्य स्थानमा लैजाँदा बीचमा चेक पनि कम हुने भएकाले यो लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको उनी बताउँछन् ।

भारतीय र गाडीको प्रयोग

कात्तिक पहिलो साता नेपाल छिरेको डब्लूबी ७४ एफ २३१६ नम्बरको भारतीय कार चालकलाई मेची भन्सार कार्यालय काँकडभिट्टाका कर्मचारीले भन्सार पास कागजात मागे । चालकले कागज छुटेको भन्दै भन्सार कार्यालयमै गाडी छाडेर फर्किए । उनी नफर्किएपछि भन्सार र प्रहरीले कार जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला पर्‍यो । कारबाट ६ सय एम्पुल डाइजापाम, ६ सय एम्पुल लुपिजेसिक, त्यति नै फेनारगन बरामद भयो ।

त्यसको केही दिनमै चोरीको आरोपमा पक्राउ गरी राखिएको भारतीय डब्लु बी ७४ जेट ७००१ नम्बरको गाडीबाट एक सय मिलिलिटर स्कुफ २ बोतल र १२ वटा नाइट्रेसन ट्याब्लेट फेला पर्‍यो । चालक मेचीनगर ६ का ३६ बर्से विशाल लिम्बू र सोही गाडीमा सवार ३२ बर्से अनुप उरावलाई समेत प्रहरीले नियन्त्रणमा लियो ।

यसअघि पनि प्रहरीले भारतीय नम्बरका सवारी र नागरिकलाई पटक पटक पक्राउ गरिसकेको छ । पूर्वी नाका काँकडभिट्टाबाट भारतीय नागरिक र सवारीसाधनबाट नेपालमा लागुऔषध भित्रिन थालेको इलाका प्रहरीबिर्तामोड प्रमुख डीएसपी कृष्णप्रसाद कोइरालाको निष्कर्ष छ ।

पछिल्लो समय नेपाल-भारत सीमामा भारतीय नागरिक र सवारीसाधनको जाँच कडा गरिएको एसपी ढकालले बताए ।

ल्याउने र लुकाउने तरिका परिवर्तन

केही समयअघिसम्म काँकडभिट्टा क्षेत्रमा लुकेर र छलेर हिँड्नेमाथि प्रहरीले समाएर केरकार गथ्र्यो । शंका लागेको व्यक्तिको घर वा कोठामा छापा मारे लागुऔषध फेला पर्ने गथ्र्यो । तर अवस्था बदलिएको छ । लागुऔषध कारोबारीले कारोबारको तरिका बदल्न थालेका प्रहरी नै बताउँछन् ।

सीमावर्ती बजार गएका नेपाली महिला तथा बालबालिकालाई भारतीय तस्करले विशेष प्रयोग गर्ने गरेका प्रहरीको अनुभव छ । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका प्रहरी नायब निरीक्षक अनुप निरौलाले बताएअनुसार नेपाल भित्रिएपछि झापामा गोदाम गरी राख्ने तरिका पनि परिवर्तन भएको छ । पुस १४ गते झापाको अर्जुनधारा १० मा गोदाम गरी राखेको लागुऔषध फेला पार्दा प्रहरी नै आश्चार्यमा परेको उनी बताउँछन् ।

अर्जुनधारा नगरपालिका १० चुथाई डेरा गरी बस्ने भीमबहादुर दम्पती र कचनकवल २ की रेवतीमाया डाँगीले दूधको बट्टाभित्र राखेर ल्याएका थिए ।‘सबैतिर हेर्‍यौं कतै नभेटिएपछि दूध राख्ने बट्टामा हात हाल्दा मात्र फेला पार्न सक्यौं’, निरौलाले भने ।

भरिया मात्र पक्राउ पर्छन्

झापा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गर्दै आए पनि मुख्य धन्दावालालाई भने खासै समाउन सकेको छैन ।

प्रहरीले अधिकांश घटनामा प्रयोगकर्ता वा भरियालाई मात्र समाउने गरेको प्रहरीकै तथ्यांकमा छ । ‘यस्ता कारोबारीको सञ्जाल ठूलो र बलियो हुँदोरहेछ’, उनले भने, ‘पक्राउ परेकाले नाम नखोल्दा जरासम्म पुग्न प्रहरीलाई समस्या भइरहेको छ ।’ प्रहरीले पक्राउ गरेकाको बयान तथा अनुसन्धानबाट संलग्न अन्यलाई पक्राउ गरेको तथ्यांक प्रहरीसँग कमै छ । लागुऔषध सहजै उपलब्ध हुने भारतीय र नेपाली बजारबीचको मुख्य ट्रान्जिट झापा हुने गरेकोले यो स्थानमा ओसारपसारमा संलग्न मात्रै समातिने गरेका प्रहरी बताउँछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.