गण्डक नहरमा भारतले पानी नछोड्दा सिँचाइ भएन

गण्डक नहरमा भारतले पानी नछोड्दा सिँचाइ भएन

वीरगन्ज : भारतले सम्झौताअनुरूप गण्डक नहरमा पानी नछोड्दा पर्सा र बाराको गहुँबालीमा सिँचाइ हुन सकेको छैन। सिँचाइ नहुँदा त्यस क्षेत्रका किसान मर्कामा परेका छन्। भारतको भैंसालोटन, रामनगर हुँदै नेपाल प्रवेश गरेको गण्डक नहरको भौतिक संरचना पर्सा, बारा र रौतहटसम्म छ। पर्सा र बाराको सिँचाइको मुख्य स्रोत गण्डक नहरको पानी हो। धान र गहुँबालीमा सिँचाइका लागि गण्डक नहरको पानी प्रयोग गर्दै आएका छन्।

भारतीय पक्षले हरेक वर्ष गहुँ र धानबाली लगाउने बेलामा समय बिताएर ढिला गरी गण्डक नहरमा पानी दिँदै आएको छ। यसपालि पर्सा र बारामा लगाइएको गहुँबालीमा पहिलो सिँचाइ गर्ने समय भइसकेको भए पनि गण्डक नहरमा पानी आएको छैन। नेपाल र भारतबीच भएको सम्झौतामा वर्षमा दुईपटक (धान र गहुँबाली लगाउने समय) मा भारतीय पक्षले नेपालतर्फको गण्डक नहरमा ८५० क्युसेक पानी छाड्नुपर्ने उल्लेख छ। दुई देशबीचको सम्झौताअनुसार भारतीय पक्षले गहुँका बालीका लागि डिसेम्बर २५ तारिखभित्र नै नेपालतर्फको गण्डक नहरमा पानी दिनुपर्छ। गण्डक नहरको लम्बाइ भारत विहारको भैंसालोटनदेखि रौतहटसम्म करिब ८१ किलोमिटर छ। तर गण्डक नहरको पानी पर्सा र बारामा मात्रै पुग्ने गरेको छ। रौतहटमा भने अहिलेसम्म पानी पुग्न नै सकेको छैन। भारतले पानी दिएका बेला पनि ६ सय क्युसेक मात्र पानी छाड्ने गरेको प्रशासनले जनाएको छ।

भारतीय पक्षले २०७४ साल साउनमा आएको विनाशकारी बाढीले भारततर्फको गण्डक नहरमा पुर्‍याएको क्षतिको बहानामा दुई वर्षदेखि नेपालतर्फको गण्डक नहरमा ढिला गरी पानी दिँदै आएको छ। बाढीले क्षति पुर्‍याएको नहरको मर्मतसम्भारको काम नसिएको भन्दै गत वर्ष हिउदयाममा गहुँबाली लगाउने बेलामा पनि भारतीय पक्षले तीन महिना ढिला गरेर नेपालतर्फको नहरमा पानी छाडेको थियो।

पर्साको मसिहानीस्थित गण्डक नहरकै बाटोमा शुक्रबार पम्पसेट लिएर खेतमा जाँदै गरेका दुई बालक। 

यसपालि गहुँबाली छरिसकेका पर्सा र बाराका किसान गण्डक नहरको पानी कुरेर बसेका छन्। खेतमा गहुँको बीउ छरेको दुई हप्ता बितिसक्दा पनि नहरमा पानी नआएपछि आर्थिक रूपमा सक्षम केही किसानले मात्र पम्पिङ सेट, बोरिङ र ट्युबवेल प्रयोग गरेर सिँचाइ गरेका छन्। तर गण्डक नहर क्षेत्र आसपास अन्य नदी, कुलो, पोखरी, ताललगायत पानीको स्रोत उपलब्ध नभएका कारण अधिकांश किसान गण्डक नहरकै पानी कुर्न बाध्य भएका हुन्।

‘एक त हाम्रो खेततिर बोरिङ र ट्युबवेल छैन, पम्पिङ सेटबाट पानी पठाउन पनि खोला वा कुलोमा पानी चाहिन्छ तर हाम्रोतिर त्यो पनि छैन’, गण्डक नहर छेउको गाउँ महिसानीका किसान रामेश्वर पण्डितले भने, ‘खेतमा बीउ छरेको दुई हप्ता बितिसक्यो, गण्डक नहरमा पानी आएकै छैन, यसपालि पनि गहुँबाली भगवान भरोसामै छ।’

जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार जिल्लामा यसपालि करिब २६ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको छ। गत वर्ष ३० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको थियो। बारामा २८ हजार हेक्टरमा गहँुबाली लगाइएको जिल्ला कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

सिँचाइ सुविधा असहज बन्दै गएका कारण पर्सामा किसानले गत वर्षभन्दा कम क्षेत्रफलमा गहुँखेती गरेको हुनसक्ने जिल्ला कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक श्यामकिशोर प्रसाद कुर्मीले बताए।

सिँचाइमा ढिला भएकाले यसपालि पर्सामा गहुँ उत्पादनमा असर पर्ने निश्चित रहेको कुर्मीले बताए। ‘खेतमा गहुँको बीउ छरेको १५ देखि २० दिनमा पहिलो सिँचाइ गरिहाल्नुपर्छ तर, अधिकांश गहुँबालीमा अहिलेसम्म सिँचाइ हुन पाएको छैन’, कुर्मीले भने , ‘यसले उत्पादनमा असर पर्ने पक्का छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.