घोषणामै सीमित सुपारी ‘सुपर जोन’

घोषणामै सीमित सुपारी ‘सुपर जोन’

 बिर्तामोड : झापा अर्जुनधाराका अग्निप्रसाद शिवाकोटीले धान छाडेर २० वर्षदेखि सुपारी खेती गरिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ काठमाडौंले एक वर्षअघि झापालाई सुपारीका लागि ‘सुपर जोन’ जिल्ला घोषणा गर्‍यो। विज्ञसहितको सुविधा पाउने आसमा उनले खेती बढाए। सुपारीका बोटमा बोक्रा सुक्ने र टुप्पोमा ढुसी पलाउने समस्या देखापर्न थालेपछि उनी चिन्तित छन्। उनले यसको उपचार गर्न सकेका छैनन्, न कतैबाट सुझाव र सल्लाह पाएका छन्।

‘सरकारले सुपर जोन त घोषणा गर्‍यो तर हामीले प्राविधिक सेवा पाउनै सकेनौं’, उनले भने, ‘न कुनै सहयोग नै आयो। सुपारी लगाउँदा राम्रै आम्दानी होला कि भन्ने थियो। रोग र किराको प्रकोपले खाने मेलो नै हराउने चिन्ता पो थपियो। आम्दानीको त कुरै छाडौं।’

सरकारले प्राविधिक र जनशक्ति नखटाउँदा सुपारी किसान मर्कामा परेका छन्। उनीहरूलाई कसरी उत्पादन बढाउन सकिन्छ भन्ने नै जानकारी छैन। रोग र किराबाट जोगाउने उपाय पनि उनीहरूले थाहा पाएका छैनन्।

अर्जुनधाराकै धनमाया खरेलले पहिले र अहिले सेवा–सुविधामा कुनै फरक नरहेको बताइन्। उनले ४० वर्षदेखि सुपारी खेती गर्दै आएकी छन्। ‘खै सुपारीको सुपर जोन जिल्ला भन्छन्। धान खेतीका लागि धेरै प्रविधि आयो अरे’, उनले भनिन्, ‘हामी सुपारी खेती गर्नेले न प्राविधिक पाएका छौं न त रोग र किरा लागे औषधि, उपचार नै।’ सुपारी जोन हुँदा केही आशा पलाए पनि अहिले निराश हुनुपरेको उनको गुनासो छ।

झापाको अर्जुनधारा क्षेत्रका किसानले परम्परागत रूपमा सुकाएको सुपारी।

सुपारी पाक्दासम्म बोटमा अडिए राम्रो आम्दानी हुने किसानको विश्वास छ। यसका लागि विज्ञ र प्राविधिकको खाँचो रहेको उनीहरूको भनाइ छ। प्राविधिक व्यवस्था गर्न पटक–पटक माग गर्दा पनि सरकारले बेवास्ता गरेको सपारी खेती विकास संस्थाका पूर्वअध्यक्ष टेकेन्द्र शिवाकोटीको भनाइ छ। ‘सुपारी खेती बढी हुने जिल्ला झापा नै हो’, उनले भने, ‘सुपारी खेती पहिलेदेखि नै सरकारी बेवास्ताको सिकार बनेको छ। सुपर जोन घोषणा गरे पनि प्राविधिक भने पठाइएको छैन।’ सुपर जोन घोषणाको एक वर्ष नाघे पनि यसको नतिजा सुपारी खेतीमा कतै नदेखिएको उनको भनाइ छ।

किसानले परम्परागत रूपमै खेती, उत्पादन र प्रशोधन गरिरहेको पाइन्छ। व्यावसायिक खेती गरेका किसानले सरकारबाट अनुदानसमेत पाएका छैनन्। मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालाई समेटेर सुपारी जोन कार्यक्रम लागू गरिएको छ। आधुनिक प्रणाली सिकाउने, सहुलियतमा बीउ, मल एवं बजार प्रवद्र्धनमा सहयोग पुग्ने आशा किसानको थियो।

सुपारी छोडाउँदै झापा बुधबारेका किसान। 

२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। झापामा वार्षिक ९ हजार ७ सय १० मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको छ। मोहितनगर, हिरहिल्ली, सुमंगला, मंगला, श्रीमंगला, काइकुचीलगायत जातका सुपारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। काँचोभन्दा प्रशोधन गरिएको फाला सुपारीको मूल्य बढी छ। काँचो सुपारी प्रतिकिलो २५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। प्रशोधन गरिएको फाला सुपारी प्रतिकिलो २ सय ५० देखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.