पुलिस र आर्मी उपाधि नजिक
इटहरी : विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।
आइतबार भएका सेमिफाइनलमा नेपाल पुलिसले अर्को विभागीय टोली एपीएफ क्लब र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । पुलिसले एपीएफविरुद्ध ३-१ को नतिजा निकाल्यो । सुरुका दुई सेट २५-१६, २५-२१ ले सहज जित निकालेको पुलिसले तेस्रो सेट भने २५-१७ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछि चौथो सेट २५-२१ ले जित्दै पुलिसले फाइनलमा स्थान बनायो ।
अर्को खेलमा गण्डकी प्रदेशलाई २५-२०, २५-११, २५-२० को सोझो सेटमा पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनायो । पुलिस र आर्मीबीचको फाइनल खेल सोमबार हुने आयोजक सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।
प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले २४ इन्चको एलईडी टीभी पाउनेछन् । यसैगरी उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर र सर्भरले जनही पाँच हजार पुरस्कार पाउनेछन् ।