चोरीका राँगा-भैंसीको मासु उद्योगमा खपत
वीरगन्ज : वीरगञ्जका मासु उद्योगले किसानका गोठबाट चोरी हुने राँगा–भैंसीको मासु विदेशमा निर्यात गर्ने गरेको रहस्य खुलेको छ।
वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहामा राँगा भैंसीको आलो मासु उत्पादन गर्ने ‘हिरो बफ मिट सप्लायर्स’ उद्योगले किसानको गोठबाट चोरी हुने भैंसी काटेर मासु विदेश निर्यात गर्ने गरेको खुलेको हो।
चोरीको भैंसीको मासु तयार गरिरहेका बेला मंगलबार बिहान स्थानीयको सहयोगमा उद्योगमा पुगेको प्रहरीले चोरीको भैंसी फेला पारेको हो। चोरीको भैंसी उद्योगमा पुर्याउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले भैंसी चोरेर उद्योगमा पुरयाउने पर्साको पर्सागढी नगरपालिका ४ झब्राहाका २१ वर्षीय बाजु देवान र २२ वर्षीय करार देवानका साथै उद्योगका सुरक्षा गार्डद्वय हरिन्द्र पटेल र विजय लामा, भैंसी काट्ने मोहम्मद आजाद र काशी पाण्डे, उद्योगका म्यानेजर ज्ञानेन्द्रराज भण्डारी र व्यवस्थापन हेर्ने पिन्टु तिवारीलाई मङगलबार बिहान नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका मध्ये पाँचजनालाई प्रहरीले मंगलबार साँझ छोडेको छ। अन्य तीनजना भने प्रहरी हिरासतमा छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बाजु, करार र सुरक्षा गार्ड पटेललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
भवानीपुर सौराहामा डेढ दशकदेखि सन्चालनमा रहेको हिरो बफ मिट सप्लायर्स उद्योगमा चिनीयाँ व्यपारीको लगानी छ। उक्त उद्योग चार महिनादेखि भने चीनकै व्यपारी छिआ ओहेङबाओ सन्चालक रहेको मोक्तान बफ इन्टरप्राइजेजले लिज(भाडा) मा लिएर सन्चलन गर्दै आएको छ।
राँगा–भैंसी खरिद गरेर ल्याउँदा कर तिरेको रसिद र पूर्जी अनिवार्य रुपम उद्योगको गेटमा बुझाउनुपर्छ। सोमबार भने सुरक्षा गार्डसँगको मिलेमतोमा चोरीका भैंसी र राँगा सिधै बधशालामा पुर्याइएको खुलेको छ।
उद्योगमा चोरीको भैंसी काटेर मासु उत्पादन गर्ने गरिएको खबर सार्वजनिक भएपछि पहिले घरगोठबाटै भैंसी चोरी भएका किसान पनि मंगलबार उद्योग परिसरमा पुगेका थिए। 
प्रतिक्रिया दिनुहोस !