पूर्वराष्ट्रपति यादव भन्छन् : ७७ वर्ष भइसकेँ, चिकित्सक भएर काम गर्न सक्दिन
दाङ : पूर्वराष्ट्रपति डा. रामवरण यादव चिकित्सा पेशामा फर्कनसक्ने भन्दै धेरैले चासो देखाइरहँदा यादव स्वयंले भने चिकित्सा पेशामा फर्कन नसक्ने बताएका छन् ।
यही विषयमा प्रकाशित समाचारको खण्डन गर्दै ‘जति बोलेको हो त्यति लेख्नु पर्छ नी !’ भन्दै उनले पत्रकार र सञ्चारमाध्यममाथि आलोचना पनि गरे । आफू चिकित्सा पेशामा फर्कने कुरा बोलेको नभएर पत्रकारले बढाइ चढाइ गर्दै लेखेको उनको भनाइ छ ।
दाङको तुलसीपुर विमानस्थलमा ओर्लिँदै गर्दा डा. यादवले आज पत्रकारहरुसँगको सवाल जवाफको क्रममा यस्तो बताएका हुन् । डा. यादवले केही सरकारी अस्पतालमा काममा जान मिल्ने भए पनि आफ्नो उमेरका कारण पनि जान नसक्ने बताएका थिए । ‘नाफामुलक अस्पतालमा मैले काम गर्न मिल्दैन । सरकारी अस्पतालमा काम गर्न मिले पनि अब त उमेरले पनि मिल्दैन । ७७ वर्ष भइसकेँ । सक्रिय रुपमा काम गर्न सक्दिन,’ डा. यादवले भने ।
बरु देशको सामाजिक सद्भाव र एकताबारे आफू चिन्तित रहेको उनको भनाइ छ । देशको एकतालाई कसरी कायम राख्ने, सामाजिक सद्भाव कसरी जोड्ने लगायत विषय आफ्नो प्राथमिकता रहेको उनले बताएका थिए ।