शिल्पीमा गुञ्जियो हाक्पारे
प्रायः नाटकका संवाद, पृष्ठभूमिका संगीत र कथाका दृश्यसँग सक्रिय हुने शिल्पी थिएटर मंगलबार भने फरक स्वादमा सजिएको थियो। बासुरी, सारंगी र परम्परागत बाजाको तालमा ढाकाकै परम्परागत पहिरन लगाएका कलाकारहरू मञ्चमा आसीन थिए। लिम्बू जातिको चर्चित लोकलय हाक्पारे गायनमा झुमा लिम्बू, मनु नेम्बाङ, लोकमान वनेम लगायतले स्वर दिएका थिए। झुमा लिम्बू लामो समयदेखि परम्परागत स्वरको खोजीमा लागिरहेकी छन्। नेपाली जनजीवन र स्थानीयपन बोकेको रैथाने स्वरमा उनको विशेष रुचि छ।
देशका कुनाकाप्चामा लुकेर रहेका, कुनै जातविशेषको संस्कृतिलाई समेट्ने स्वर विकास गर्न उनकै नेतृत्वमा नयाँ सांगीतिक अभियान सुरु भएको छ। कार्यक्रममा झुमाले परम्परागत हाक्पारेलाई फ्युजन गरेर लिम्बू भाषामै गाएकी थिइन्। उनलाई मनु र दीपाले साथ दिएका थिए। त्यस्तै परम्परा ब्यान्डका शम्भु बानियाँ, पारसमणि सुवेदी, बुद्ध लामा, धर्म गन्धर्व लगायतले वाद्यवादनमा सहयोग गरेका थिए।
हाक्पारे ठाउँ र संस्कृति तथा जातिअनुसार फरकफरक हुने बताउँदै झुमाले सुनसान जंगलको अग्लो ठाउँमा बसेर विरहका गीत गाउने चलनबाट हाक्पारे गायन सुरु भएको जानकारी दिइन्। साथै हाक्पारे लिम्बू गायन परम्पराको सबैभन्दा पुरानो लय मानिने पनि उनले बताइन्। झुमासँगै पाँचथर जिल्लामा गाइने हाक्पारे शैली मनु नेम्बाङले सुनाइन् भने ताप्लेजुङ जिल्लाको ठेट हाक्पारे सुनाउँदै लोकमान वनेमले दर्शकलाई मन्त्रमुग्ध पारे।
‘रैथाने संगीत शृंखला’ नाम दिइएको यो अभियान मंगलबारदेखि औपचारिक रूपमा सुरु भयो। पहिलो कार्यक्रमअन्तर्गत हाक्पारे गायन प्रस्तुति रहेको थियो। हाक्पारे गायन लिम्बू भाषामा प्रस्तुत गरिएको भए पनि कार्यक्रममा उपस्थित अन्य भाषीका दर्शकले पनि भरपूर मनोरञ्जन लिए।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति तथा मुन्धुमविद् बैरागी काइँला र समाजशास्त्री चैतन्य सुब्बाले हाक्पारे गीतसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। हाक्पारे गीत गाउँदा बाजागाजासहित गाइने चलन नभएको बताउँदै उनले लिम्बू जातिको लोकगीत र संगीत धेरै नभएको जानकारी गराए। यसका साथै आफ्नै मनको बह, आफंैसँग भएका साथी तथा नजिकै भएको समूहलाई सुनाउन गाइने गीत नै हाक्पारे गायन शैली भएको उनले बताए।
समाजशास्त्री चैतन्य सुब्बाले हाक्पारे गीत लिम्बू जातिको संगीत परम्पराको एक विशिष्ट विधा भएको बताए। स्वर शैली, स्वर लालित्य, सुर ताल र हिसाबले विशिष्ट प्रकारको सांगीतिक विशेषता हाक्पारे गीतमा रहेको जनाए। लिम्बू जातिका देवीदेवतालाई खुसी पार्न रातभरि गीत गाउने र बाजा बजाउने चलन रहेको बताउँदै काइँलाले रैथाने संगीतले हरेक ठाउँको मौलिक पहिचान, जीवनशैली, परम्पराको विशेषता जनाउने जानकारी दिएका थिए।
टिकट काटेर स्टेजमा प्रस्तुत गर्ने खालको गीत हाक्पारे नभएको बताउँदै यसले आफ्नै मनका विरह र कथा भन्न प्रयोग गरिने सांगीतिक शैली नै हाक्पारे भएको बताए। हाक्पारे संगीतमा खोलाको कलकल, चराको चिरबिर, जंगलमा निस्कने एक प्रकारको सुमधुर धुन, पातहरूको सर्याकसुरुक आवाजका बीचमा हाक्पारे गीत सुमधुर सुनिन्छ।
पूर्वको लिम्बू जातिको परम्परामा हाक्पारे आइरहन्छ। बिहे, बरखी, गर्भपूजा तथा अनेक संस्कारमा हाक्पारे गायनको प्रचलन रहेको र यसको मेलोडीमा विविधता भेटिने झुमा बताउँछिन्। सांस्कृतिक संगीत र नेपालको रैथाने भाकामा निरन्तर काम गरिरहेकी झुमाले ‘रैथाने संगीत शृंखला’मार्फत नयाँनयाँ काम गर्ने योजना भएको जानकारी गराइन्। उनका अनुसार यो समूहले हरेक महिना रैथाने संगीतसम्बन्धी अनुसन्धान र छलफल चलाउने भएको छ। पूर्वदेखि पश्चिम हुँदैे सुदूरपश्चिमका अनेक रैथाने भाकाको खोजी गरिने उनले बताइन्।