विपिनको गाई पाल्ने रहर

विपिनको गाई पाल्ने रहर

काठमाडौं : कलाकार विपिन कार्की अब गाई पाल्ने भएका छन्। फिल्म पशुपति प्रसादमार्फत भष्मे डनको नामले दर्शक माझ चिनिएका कार्की स्वरोजगार बन्नुपर्नेमा विश्वास गर्छन्। देश छोड्न चाहने युवालाई यहीँ रोजगारीको अवसर खोज्न उनी यति बेला सुझाव दिँदैछन्। उनको यो किसानी जुझारुकताको कारण फिल्म गोपी हो।

यो फिल्ममा एक व्यावसायिक गाईपालकको भूमिकामा रहेका विपिन फेरि एक पटक नयाँ लुक र नयाँ कथावस्तुका साथ दर्शकमाझ आउने भएका छन्। पछिल्लो समय देशमा रोजगारीको अवसर नभएको भन्दै नेपाली युवा खाडी मुलुकतिर भासिएका थुप्रै कथा चलचित्रमा आइनै रहेका छन्। तर गोपी फिल्मले देश छोड्न चाहने युवालाई फरक तरिकाले सोच्न प्रेरित गरेको उनको भनाइ छ।

बाल्यकालमा विपिन आफैं पनि किसानी जीवनसँग नजिक थिए। ‘म गाईसँग फिल्ममा जस्तो व्यावसायिक रूपमा त जोडिएको थिइनँ तर घरमा गाईभैंसी थिए’ उनले भने, त्यसैले गाईप्रति मेरो सेन्टिमेन्ट जोडिएको छ।’

फिल्म गोपीको भूमिका कताकता आफ्नै बाल्यकाल जस्तो लागेको पनि उनी बताउँछन्। भन्छन्, ‘मैले घाँस काट्ने, खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम गरेको छु।’ फिल्ममा आफ्नो भूमिकाबारे बोल्दै विपिनले भने, ‘पेसाको हिसाबले हेर्ने हो भने गाई पाल्न सजिलो छैन। उच्च शिक्षा पूरा गरिसकेका एक युवाको इच्छा शक्तिका कारण मात्र त्यो सम्भव भएको हो।’

सुरुमा खगेन्द्र लामिछाने गोपीका लागि फाइनल गरिएको थियो। उनले फिल्म छाडेपछि विपिन प्रवेश गरेका हुन्। अन्तिम समयमा फिल्मको स्क्रिप्ट हात पर्दा साढे तीन घण्टामा नै पढिसकाएको उनले सुनाए। फिल्म गोपी गाईपालन गर्ने एक युवाको कथामा आधारित छ जो आफ्नै परिवारबाट तिरस्कृत हुन्छ। तर विपिनको गाई पाल्ने रहर भने कायमै रहन्छ।

नायिका सुरक्षा पन्तले सामाजिक मुद्दामा फिल्म बनेको बताइन्। ‘यस्तो फिल्ममा कलाकारले पनि सक्दो सहयोग गर्नुपर्छ’, उनले भनिन््। फिल्मको टेलरमा बाँच्नका लागि गाईपालन गरेको देखाइएको छ। सरकारले गाईपालक किसानले उत्पादन गरेको दूधको उचित मूल्य तोक्न नसक्दा दूधले नुहाएर विरोध जनाएका समाचार बारम्बार सुन्नमा आउँछन्। कतिपय किसानले बाटोमा नै दूधको खोलो बगाएका छन्। किसानको परि श्रमको मूल्यांकन हुन नसक्दा युवा बिदेसिन बाध्य छन्। यिनै समस्यालाई दर्शकमाझ ल्याउन फिल्म बनाएको निर्देशक दीपेन्द्र लामा बताउँछन्।

फिल्मका लेखक सामित्य तिमल्सिना भन्छन्, ‘फिल्मले सामाजिक मुद्दा उठाए पनि फिल्म मनोरञ्जनात्मक बनाएका छौं।’ फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमलगायतको अभिनय छ। फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता छन्। फिल्म गोपी माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.