विकासमा साझेदार हुन परराष्ट्रमन्त्रीको आव्हान
नयाँ दिल्ली : परारष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक समृद्धि उन्मुख नेपालको विकासमा साझेदार हुन भारतमा रहेका प्रवासी नेपालीहरुलाई आह्वान गरेका छन्। नयाँ दिल्ली स्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुलाई आज सम्बोधन गर्दैं मन्त्री ज्ञवालीले यस्तो आह्वान गरेका हुन्।
नेपालको राजनीतिक परिवर्तनमा भारतका प्रवासीहरुको योगदानको प्रशंसा गर्दै मन्त्री ज्ञवालीले अनुत्पादक क्षेत्रमा भन्दा उत्पादनमुलक उद्योगहरुमा लगानीका लागि आग्रह गरे। ‘अब तपाइहरु विकासका साझेदार बन्नुस्, तपाईहरुले आर्जन गरेको सीप, ज्ञान, श्रोत, पैसा नेपालमा लगानी गर्नुस्। प्रवासी नेपालीहरुलाइ विकासका साझेदार बनाउन नेपाल सरकारले भुमिका खेल्छ’ उनले भने।
प्रवासी नेपालीहरुले नेपाल भित्रिएका बहुराष्ट्रिय कम्पनीहरुको लगानीमा संचालित उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसकिने जोखिमको प्रसंगमा मन्त्री ज्ञवालीले आश्वस्त पारे।
विकासका लागि बाह्य लगानीको आवश्यक्ता अपरिहार्य रहेको भन्दै मन्त्री ज्ञवालीले प्रवासी नेपालीहरुको लगानीको सुरक्षाको प्रत्याभुति दिए।
प्रवासी नेपालीहरुले उठाएका समस्या
दुबै मुलुकले एक अर्काका नागरिकलाई समान व्यवहार गरिने १९५० को सन्धिको प्रावधान अनुरुपको व्यवहार नभएको भन्दै प्रवासी नेपालीहरुले गुनासो पोखेका थिए। भारतमा सरकारी जागीरमा प्रवासी नेपालीहरुको सहभागिता निषेध गरिएको प्रसंग उठाएका थिए। यसको जवाफमा मन्त्री ज्ञवालीले प्रबुद्ध समुहले दुइ मुलुकबीच देखापरेका सबै समस्यालाइ सम्बोधन हुने गरी तयार पारिएको इपीजी प्रतिवेदन लागु हुनासाथ समस्या कम हुने स्पष्ट पारे।
यो प्रतिवेदन लागु हुने सम्बन्धमा उनले प्रवासी नेपालीहरुसमक्ष पनि विश्वास दोहराए। सन्धिकै प्रावधानका कारण भारतमा अन्तराष्ट्रिय श्रम कानुन लागु गर्न नसकिने यथार्थ स्वीकार्दै मन्त्री ज्ञवालीले भने,‘अन्य मुलुकहरुमा श्रम संझौता गरिएका कारण हस्तक्षेप गर्न सक्छौ तर भारतमा त्यस्तो गर्न सकिन्न।’
त्यसका अलाबा अवकास प्राप्त कर्मचारीहरुको पेश्न लिनका लागि अनिवार्य उपस्थिति, आधार कार्डको व्यवस्था, जन्मदर्ता प्रमाणपत्रको खोजी लगायतका कागजातको अनिवार्यता, नेपाल कल गर्दा लाग्ने महँगो शुल्क जस्ता विषयहरुका बारेमा पटक–पटक सरकारलाई ज्ञापन पत्र बुझाइ सक्दा पनि त्यसको सुनुवाइ नभएको भन्दै प्रवासी नेपालीहरुले असंतुष्टि पोखेका थिए।
रायसिना डायलगमा भाग लिन विहिबार नयाँ दिल्ली आएका मन्त्री ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका थिए। शुक्रबार विहान भारतीय संचारकर्मीहरुसँग कुराकानी गरे। शुक्रबार दिउँसो प्रवासी नेपालीहरुलाइ सम्बोधन गरे। शुक्रबार साँझ उनी काठमाडौं फर्किदैछन्।
प्रतिक्रिया दिनुहोस !