महोत्सवमा हात्तीको सास्ती
बिर्तामोड : हात्ती प्रभावित क्षेत्रको समस्या साथै लुकेका ग्रामीण पर्यटकीय क्षेत्रलाई बाहिर ल्याउन झापाको बाहुनडाँगीमा महोत्सव आयोजना गरिने भएको छ। बाहुनडाँगी हात्ती प्रभावित क्षेत्र हो। त्यस क्षेत्रमा भएका समस्यालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्दै समाधानको उपाय खोज्न साथै ग्रामीण क्षेत्रका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले माघ ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने सो महोत्सवलाई ‘पाँचौं एसियन ग्रामीण पर्यटन महोत्सव २०१९’ नामाकरण गरिएको एसियन ग्रामीण पर्यटन महोत्सव २०१९ का संयोजक अर्जुन कार्कीले बताए। महोत्सवले मानव हात्ती द्वन्द्व व्यवस्थापन, पर्यटन, कृषि एवं ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने आयोजकको दाबी छ।
महोत्सवमा भारत पश्चिम बंगालका ग्रामीण पर्यटनसम्बन्धी स्टल, नेपालको प्रदेश १ का जिल्लाको उत्पादनसँगै स्थानीय हस्तकला, मौलिक परम्परा, सांस्कृतिक पहिचानका वस्तु तथा सांस्कृतिक गायन, गन्धर्व साँझ तथा नृत्य प्रस्तुत हुनेछन्। विगतमा गरिएको महोत्सवले बाहुनडाँगी र सलकपुरमा होमस्टे स्थापना गरी विभिन्न क्षेत्रबाट आएका पर्यटकलाई यस क्षेत्रको पहिचानसहितको प्रचारप्रसारमा टेवा पुगेकाले महोत्सवले समस्या सार्वजनिक गर्न र पर्यटन क्षेत्रको प्रचार गर्नमा थप सहयोग पुग्ने आयोजकको विश्वास छ। करिब ४५ लाख लागतमा सम्पन्न हुने तीनदिने महोत्सवको नेपाल तथा भारतका ५० हजारभन्दा बढी पर्यटकले अवलोकन गर्ने आयोजकको भनाइ छ।