जुट्दैन नाटकमा लगानी
काठमाडौं : विभिन्न संवाद बोलिरहेका पात्रहरू। चिटिक्क परेको मञ्च, साजसज्जा र पृष्ठभूमिमा बजेको मनमोहक धुन। नाटक मञ्चनका लागि आवश्यक पर्ने यी सबै कुराको व्यवस्थापन गर्न लगानी आवश्यक पर्छ। तर फिल्म, सिरियल वा डकुमेन्ट्रीमा जस्तो नाटकका लागि लगानी गर्ने छुट्टै लगानीकर्ता पाउन मुस्किल छ।
मञ्चन हुने प्रायः नाटकका लागि कलाकार र निर्देशक वा प्राविधिकको टोली मिलेर आवश्यक लगानी जुटाउँछन्। नाटक देखाएर पैसा कमाउन सकिन्छ भन्ने ग्यारेन्टी नभएर नाटकमा लगानी गर्न लगानीकर्ताहरू अघि सर्दैनन्। नाटक देखाएर लगानी उठाउन मुस्किल पर्ने बताउँछन् रंगकर्मी।
नाटक के हो ?
मानिसभित्र रहेको अभिनयको तिर्खा मेट्न साधना गर्ने माध्यम हो नाटक। यसले कुनै लगानीकर्ता खोज्दैन, प्रतिफलको अपेक्षा गर्दैन। न त नाफा घाटाको नै हिसाब गर्छ। यो विशुद्ध आनन्द प्राप्तिका लागि तयार गरिन्छ। कलाकार, निर्देशक तथा मण्डला थिएटरका संस्थापक सदस्य राजन खतिवडाका अनुसार नाटक समाजलाई प्रत्यक्ष प्रभाव पार्ने विधा हो। यसमा अभिनय गर्ने कलाकार नाफा घाटाभन्दा पनि रहर पूरा गर्न आउने गर्छन्।
सहर बसेर फर्केका गाउँका दाजुहरू देख्दा राजनलाई पनि सहरको रहरले छोयो। केही समय सहर बस्नासाथ मानिसको बोली फरक हुने रहेछ। उसले लगाउने लुगा, जुत्तादेखि बोक्ने झोला समेतलाई आधुनिकताले छुने रहेछ। उनलाई लाग्यो, सहरले मान्छेलाई नयाँ बनाउने रहेछ। उनी नयाँ मान्छे बन्ने सपना बोकेर २०५२ सालमा काठमाडांै छिरे।
सहर पसेको करिब एक वर्षमा उनले राष्ट्रिय नाचघरमा ‘चेलीको जिन्दगी’ नामक नाटक हेर्ने मौका पाए। त्यो नाटकमा कलाकारले देखाएको हाउभाउ, बोलेको संवाद र अभिनयले उनलाई निकै तान्यो। त्यसपछि नाटककै क्षेत्रमा केही गर्छु भनेर यो क्षेत्रमा होमिए। आफू नाटककै लागि जन्मिएको बताउँदै खतिवडा भन्छन्, ‘बैंकमा धितो राख्न मसँग कुनै जग्गा हुन्थ्यो भने पनि पैसा निकालेर नाटक बनाउँथे भन्ने लाग्छ।’ ‘अभिनय एउटा नशा हो। हरेक पल तलतल लागिरहन्छ’, खतिवडा भन्छन् ,‘पैसा प्रशस्त कमाउन नसकिए पनि अहिले नाटक गरेरै बाँच्न सक्ने वातावरण भने बनिरहेको छ।’
रंगकर्मी तथा निर्देशक राज शाहका अनुसार नाटक रहरले बनाउने गरिन्छ जहाँ कलाकारमा अभिनयको भोक हुन्छ, निर्देशकमा कला प्रस्तुत गरेर पाइने आनन्दको चाहना। रहर र चाहनाले कहिल्यै पनि नाफा घाटा नहेर्ने भएकाले नाटकमा पैसाभन्दा पनि साधना र मेहनत बढी पाइने उनले बताए। पैसावाल मान्छेले नाफा घाटा हेर्ने हुनाले नाटकमा लगानी नगरेको अनुमान उनको छ। नाटक देखाएर पैसा कमाइन्छ भनेर ठोकुवा गर्न नसके पनि पछिल्लो समय लगानी उठाउन सक्ने वातावरण बन्दै गएकोे उनले जानकारी गराए।
शिल्पी थिएटरका संस्थापक, निर्देशक तथा रंगकर्मी युवराज घिमिरे नाटकमा लगानीका सन्दर्भमा फरक तर्क राख्छन्। उनी भन्छन्, ‘फिल्म र नाटक दुवै अभिनयका विधा भए पनि धेरै फरक छ।’ उनका अनुसार नाटक अभिनय कौशलता प्रत्यक्ष देखाउने ठाउँ हो भने फिल्म अभिनयलाई बजारमा बेच्ने माध्यम हो।
फिल्म मास मिडिया हो, ग्ल्यामरले मान्छेलाई आकर्षण गर्ने तरिकाले यसको निर्माण गरिएको हुन्छ। बेच्नकै लागि बनाइन्छ। यसका पछि लगानीकर्ता पनि हुन्छन्। नाटक बेच्नका लागि नभएर अभिनयको तिर्खा मेट्न र समाजका घटनासँग प्रत्यक्ष संवाद गर्न बनाइने हुँदा यसमा लगानीकर्ता नहुने उनले बताए।
नाटक बनेपछि एउटा थिएटरमा मात्रै देखाइन्छ तर फिल्म एकैपटक सयौं हलमा प्रदर्शन हुन्छ। नाटकमा एउटा हिरो या मुख्य हिरोइन भन्ने हुँदैन। फिल्ममा हिरो हिरोइनको स्टारडम हुन्छ। अभिनयका हिसाबले फिल्मभन्दा नाटक नै सिरियस आर्ट भएको घिमिरे बताउँछन्। सिरियस काममा थोरै मान्छेको मात्र ध्यान जाने हुनाले नाटकमा लगानीकर्ताको ध्यान जान सकेको देखिन्न।
कसरी जुट्छ लगानी ?
नाटक जसले बनाउने रहर गर्यो लगानी जुटाउने सम्पूर्ण जिम्मा पनि उसैको देखिन्छ अहिलेसम्म। नयाँ नाटक गर्न चाहने कलाकार मिलेर समूह निर्माण गर्छन्। समूहले नै पैसा जुटाउने, सामग्री किन्ने तथा आवश्यक पूर्वतयारी गर्ने कार्य गर्छ। समूहसँग आफ्नै नाटकघर छ भने कम लगानीमा पनि नाटक बन्न सक्छ। नत्र हलभाडा महँगो पर्ने बताउँछन् कलाकार।राजनका अनुसार थिएटर आफैंले नाटक गर्न लागेको हो भने एउटा नाटकमा कम्तीमा एकदेखि पाँच लाख रुपैयाँ खर्च हुन्छ। तर, अन्य हलमा नाटक मञ्चन गर्न कम्तीमा पनि ५ देखि १० लाख रुपैयाँसम्म खर्च हुने उनी बताउँछन्।
नाटकको टिकट बिक्री नै मुख्य आम्दानीको स्रोत भएको बताउँदै युवराज भन्छन्, ‘केही नाटकमा आर्थिक सहयोग गर्ने संस्था र व्यक्ति पनि हुन्छन्। अहिले नाट्य समूहले विज्ञापन पनि उठाउने प्रचलन सुरु गरेका छन्। कहिलेकाहीँ सरकारी सन्देशमूलक नाटक बन्ने गर्छन्। यसमा सम्पूर्ण लगानी सरकारकै हुन्छ। कहिलेकाहीँ एनजीओ आईएनजीओहरूले पनि आफ्ना निश्चित सर्तअनुसार नाटक मञ्चन गराउँछन्। सडकनाटक तथा डकुमेन्ट्री बनाउन त्यस्ता संस्थाले आर्थिक सहयोग गर्छन्।’
व्यक्तिगत रूपमा तयार नाटकमा सम्पूर्ण लगानी निर्देशकको हुन्छ। केही अत्यन्तै चलेका नाटकबाहेक टिकट बिक्रीबाट मात्रै नाटकले नाफा कमाएको भने देखिएको छैन। आआफ्नो उद्देश्यअनुसार अहिले विभिन्न नाट्य समूह खुल्ने क्रम बढ्दो छ। यसले च्यारिटी तथा फन्ड राइजिङ कार्यक्रममार्फत पनि लगानी जुटाउने काम गरेको पाइन्छ।
सम्पूर्ण लगानी कटाएर बाचेको पैसा मात्र कलाकारले दामासाहीमा पारिश्रमिक लिने गर्छन्। केही नाटकघरले भने नाटक घाटामा गए पनि कलाकारलाई निश्चित पारि श्रमिक टोकन अफ लभका रूपमा दिने गरेको उनले बताए।