साइज नम्बर ३८
सावनको मौसम। पानी परेको बेला। बडीमालिकाको मेला। साराका सारा मान्छे पसलपसलमा भेला। गोल्डस्टार जुत्ता किन्नेको ताँती। चार दिन लगातार हिँडेर बडीमालिका पुग्नु छ। अनि फेरि अर्को तीन दिन हिँड्नु छ। ‘खाइदिऊँ तँलाई’, भनेर मुख बाएजस्ता ढुंगा हुन्छन् भीरभीरै। गर्नुपर्यो नि च्यालेन्ज ! बाजुरा बसाइकै क्रममा बडीमालिका मेला जाने अवसर मिल्यो। धर्तीमै दुर्लभ अवसरमध्येको एक हो भन्थे मान्छेहरू। ओहो एकपछि अर्को कहानी र किस्सा ! ‘थोरै मात्र भाग्यमानीले पाउँछन् यो मौका। पुण्य कमाएकाले मात्र हो पाइला टेक्ने आदि आदि।’ जानू थियो, हेर्नू थियो। त्यो भीर हिँडाउने गोल्डस्टार जुत्ता किन्नै पर्यो क्यानाम। रु. ३५० खनखन गनेर किनेँ। साइज ३८।
हल्का चुच्चो परेको, साइडमा सेतो धर्सो, बाँकी निक्खर कालो एकथरी। हरियो आर्मीवाला कलरमा पिँधमा गोटी भएको अर्कोथरी। लाल जोडी बनेर पसलपसलमा मुस्कुराइरहेका गोल्डस्टार जुत्ताको थानै थान। पैसा टिप्दा हात थाकेर बिसाउँदै दाँत देखाउने साहुजीहरू। क्या माहोल छ मेलाको ! लेडिज न जेन्स, नम्बर मात्र फरक भए पुग्यो। डिजाइन त सेमका सेम। अनि यो जुत्ता घुुसारेसी खुट्टामा मान्छे त ठमठम। कर्णाली र सुदूरपश्चिमका जोरि खोजेको भीरलाई च्यालेन्ज हान्ने कोही निस्को भने गोल्डस्टार नै हो। कैले माओवादी लडाकुले लगाएर खुरुरु कुदे। कैले यार्सा टिप्ने टोलीले लाएर बिटिटी बत्तिए।
उता सहरतिरका ‘बरान्डेड’ सुज त यता सुकेको पातझैं सोत्तर हुने रैछन्। आक्कलझुक्कल अलि हाई प्रोफाइल रैथाने र आयातीत कर्मचारीले भिरेर आए पनि यता थुपुक्क पलास्टिकले बेरेर थन्काउने रहेछन्। आफ्नो त एउटा सुन्धारामा किनेको फिस चप्पल थियो। बालै फरर। बरु गोल्डस्टार ब्रान्डको जुत्ता किनेर ब्रान्ड युजरहरूको ग्यांगमा प्रवेश गरेँ। मेलाको दिन लावालस्कर चल्यो बाजुराबाट। काला र हरिया जुत्ताको जुहारि। फटफट पटाक पटाक। ड्याम ड्याम डुम डुम। सावनको हरियोमा हरियो गोटीवाले जुत्ता, घाँससँग मीत लाएर फट्किन्थ्यो। उता कालो गोल्डस्टार हरियोपरियो माहोलसँग कलर कम्बिनेसनमा मस्किन्थ्यो। मान्छे त सारा हावाझैं बत्तिएका थिए। पैतालामा नयाँनयाँ बास्ना पनि नगएको गोल्डस्टार जुत्ता लाएर मेला भर्न हिँडेका। कसले छोइसक्नु ? भएभरका पर्वको रंग आफ्नै अनुहारमा पोतिएको क्यानभास जस्ता। नीलो आकाशमा इन्द्रेणी मिसाएर हिँडेका मानिसका लस्कर। मनमनै भन्थेँ म, ‘दुनियाँ बेखबर भएको यो दृश्य !’ क्या थियो नजारा ! यो संसारमा अर्कै संसार टुप्लुक्क कतै आएजस्तो।
भीरको दादागिरीलाई तह लाउने डन गोल्डस्टार नभएको खुट्टै भेट्न मुस्किल। बडीमालिका जाँदा मात्र होइन, पश्चिमतिर जाँदा समथर कटेर जब पहाडी इलाकामा प्रवेश गर्थें, यस्ता दृश्य सामान्य थियो। बाटो बन्दै गर्दा ब्लास्ट भएर फोरिएका भीरको कस्तो हुन्छ थोपडा ? मैसासुर र रावणको ककटेलजस्तै। अझ तलपट्टि भेरी वा कर्णालीले अजिंगरले जस्तो मुख बाएर बसेको हुनुपर्छ। चिप्ले के हुन्छ ? नदीका माछा खुसी हुन्छन्। ‘जाल हानेर हामीलाई खाने ए मनुवा, परिस हाम्रो जालमा’ भन्दै पार्टी गर्दा हुन्। फ्यास फ्यास फरेको माटो र बालुवा। दारा पसारेका ढुंगा। तलका नदी। उडेको हुन्छ नि मुहारको सातो त ! न्याउरी मुसा नभएको अनुहारले गोल्डस्टारतिर नजर लाएपछि फिस्स हाँसो लाग्छ। बँचा है सोल्टी बँचा। चिप्लन नदे मलाई। माछाको डिनर हुन मन छैन। बेलुका कतै सुस्ताएर भात दाब्न मन छ।
यस्तै भएको थियो डोल्पाको त्रिपुराकोट पुग्ने बेलामा। भुइँचालोको ताण्डवले धर्ती काँपेको बेला थियो। सिर्सिरे बतास नै काफी थियो ढुंगा बर्साउन। मध्य दिनको घाम र बतास। यही बेला भूकम्पको कम्पन आए के होला ! कहालिएको थियो अनुहार। अत्तालिएको आवाज सुन्यो होला कि भीरले पनि। त्यही कहाली उसले भेरीलाई फर्काइदियो होला। सुसेलीमा सुसेली थप्दै नदी बढिदिन्थ्यो अघि। चिप्ले त सकियो। नेपाली भूगोलको कठोरतालाई पंगा लिन सक्ने यो जोधाहा जुत्ता नै मान्छेजस्तो लाग्न थाल्यो। हरेकको खुट्टाबाट गोल्डस्टारको गोटीले आवाज निकालेर भनेजस्तो ‘धन्दा नमान म छु’।
हुनेका खुट्टामा त गोल्डस्टार, नहुनेको त प्लास्टिकको चप्पलकै भर थियो। भीरको डिलमा उभिएर सातो हराएका मानिसहरूलाई एक अपरिचित भाइले पालै पालो खोँच तारिदिए। लामो न लामो भीर। नदीको खोँच सकिए पनि एकपछि अर्को धराप बाँकी नै थिए। १२ बजेको घाम, बिरामी ज्यान, काँपेको भीर। हरेश खाएर थचक्क बसेँ म। दुई थोपा आँसुले फुसफुसे माटो भिजाएर। पहिलोपटक हरेश खाएको क्षण। तीनै भाइले सम्झाए, ‘दिदी विस्तारै जाम सकिहालिन्छ नि।’ नोकियाको पुन्टे फोन हरायो। त्यसमै थियो उनको नाम र नम्बर। कहाँ होलान् ती तन्नेरी। हे भाइ तिम्रो जय मात्र होस्। भत्किएका भीरको रूप देख्दा लाग्थ्यो, यो बाटो यही जुनीमा बन्ला र ! जे होस्, त्यो दिनको काल काटियो।
हल्का चुच्चो परेको, साइडमा सेतो धर्सो, बाँकी निक्खर कालो एक थरी। हरियो आर्मीवाला कलरमा पिँधमा गोटी भएको अर्को थरी। लाल जोडी बनेर पसलपसलमा मुस्कुराइरहेका गोल्डस्टार जुत्ताको थानै थान। पैसा टिप्दा हात थाकेर बिसाउँदै दाँत देखाउने साहुजीहरू। क्या माहोल छ मेलाको ! लेडिज न जेन्स, नम्बर मात्र फरक भए पुग्यो।
अर्को दिन, नेपाली सेनालाई ब्याग बोकाएर ब्यारेकमा पुग्या थिएँ म। जुत्ताका गोटी पट्काउँदै। युद्धको बेला जस्तो गोल्डस्टार जुत्ता लाउनेलाई समाउने आदेशको डर थिएन। क्याप्टेन साप आफैं स्वागतमा हाजिर भए। सेवामा उल्टो दुईचार सेना खटाइदिए। धुलोले पुरिएको जुत्ता र कपडा ब्यारेकको बाथरुममा पखालेर शानसँग सुकाएँ। कसको तागत अब गोल्डस्टार लाउनेलाई पक्राउ गर्ने ? लोकतन्त्र आयो भनेझैं लागेको बेला थियो नि !
एउटा सिपाहीले मलाई चुनौतीको भाषामा भनेका थिए, ‘यता त होला नि गोल्डस्टार, काठमाडौं न्युरोडमा हिँड्दा के लाउनुहोला र यस्ता जुता ! गोल्डस्टार लाउने पत्रकार होइन तपाईं। अरू केही हुन पर्छ। यस्तो अनकन्टारमा एक्लै आउने पत्रकार हुनै सक्दैन।’ बाटामा हिँड्दै गर्दा यसो भनेका थिए। झोँक चल्यो मलाई, जुत्ता बजारेर भनेँ, ‘नत्र के तस्कर हँु त ? यस्तो गाह्रो बाटो के रहरले हिँडेको छु। शंका गर्ने ? ’ पछि पो सम्झेँ, उनकै सिपाहीलाई झोला बोकाएर उनैलाई थर्काउँदै थिएँ म। झोलैसित भीरमा मिल्काइदिएको भए मलाई !! धन्न सज्जन रहेछन्। सानोतिनो डन ठानेकी कुन्नि। चुप लागेर हिँडेँ। पछि पो थाहा भयो, युद्धको बेलामा उनीहरूलाई तालिममै सिकाइएको हुन्थ्यो रे, ‘कसैलाई विश्वास नगर्नु।’ उनलाई त्यही बानी लागेको रैछ।
अगाडि दुई आर्मी, पछाडि दुई आर्मी। एकजनाले मेरै ब्याग भिरेका थिए। यो सेनाको जत्थालाई बाटोमा अचानक भेटेर सहयोग लिएकी थिएँ मैले। बीचमा हिँडेर ठूलो स्वरले बोल्दा आफैं कमान्डर हँु कि झैं लागेको एकछिन त। कस्तो व्यहोरा सकिएको म। हत्तेरी ! खैर, गोल्डस्टारवाला फाइट सकेपछि एक सिपाहीले मलाई सम्झाए, ‘पत्रकार भएर त सबैलाई मनाउँदै पो हिँड्नुपर्छ दिदी। यस्तो रिसाउन हँुदैन।’ उनलाई आश्वासन दिँदै मैले भनंँे, ‘ठीक छ भाइ, अबदेखि त्यसै गरम्ला।’ यसरी गोल्डस्टार प्रतिको मेरो विश्वासलाई च्यालेन्ज गरेका सिपाहीसँग पनि लिइयो पंगा। मेरो झोँकको एक झोक्का भेटेका हवल्दार भाइ ब्यारेकमा पुगेपछि क्याप्टेनको कमान्डमा सज्जन भावमा प्रस्तुत थिए। ज्ञानी मुद्रामा पानीको व्यवस्था गरिदिए। त्यही कारण धुलो जुत्ता चम्केर मुस्कुरायो। उनीसँग एकैछिनमा धन्य भएँ म। आजकल ठमठम गोल्डस्टार लाएर न्युरोड, असन, ठमेल हिँड्दा हवल्दार भाइको याद आइहाल्छ।
एकपटक बझाङमा पुग्दा काठमाडौंमा किनेको झिल्के फिस चप्पल चँुडिएको थियो मेरो। पसलमा किन्न जाँदा प्लास्टिकको चप्पलबाहेक केही पाइएन। मेला–पर्वको सिजन थिएन। गोल्डस्टारको स्टक पनि सकिएको थियो। एउटा भद्दा प्लास्टिकको चप्पल नै भीरको भर रहेछ त्यतातिर। मलाई नि होलाजस्तो लाग्यो। त्यही लगाएर फटाकफटाक चैनपुर बजारमा रल्लिएँ। तबसम्म त ठिकै थियो। जब आँखाअगाडि उभियो नामुद भतेलीको लेक, तेस्का बाजेले देखायो तोरीको फूल। आकाशका इन्द्रको बासस्थानमै पुग्छ कि जत्रो लामो रैछ भीर। लामो मात्र होइन, गिरिरी चिप्लेटी खेल्न मिल्ने बलौटे माटो र ढुंगा। त्यो प्लास्टिकको चप्पलले चार कदम माथि पुग्थेँ अनि चिप्लिएर दुई कदम तल झर्थें। रिस उठ्थ्यो, भीरलाई घुमेर किक हानम्जस्तो। मेरो ताल देखेर साथी कल्पना विक घरि हाँस्थी, घरि डराउँथी। भालुको अखडाबाला भीरमा गोल्डस्टार खुब मिस गरेँ। चार कदम चढेर दुई कदम झर्दा घाटाको व्यापारवाला यात्रा जस्तो लाग्थ्यो। मन बुझाउँथे। चारमा चार पनि झर्न सकिन्थ्यो। दुई पाइला त नाफा नै भयो। यसरी नै हिँड्दै गए कटिजाला बाटो। साह्रै अप्ठेरो समय पनि कहाँ मुठीभित्र कैद रहन्छ र सदा ! त्यति बेलाको तोडले पछिल्ला यात्राहरूमा गोल्डस्टार नलगाई हिँड्ने हिम्मत मैले गर्नै सकिनँ।
गाउँतिर नाम, बदनाम दुवै छ गोल्डस्टारको। एकपटक घुम्दै बाजुराको पैमा भन्ने गाउँतिर पुग्यौं। वर्षातको बेला थियो। सबै मान्छे खेतमा थिए। एउटा घरको पिँढीमा लमतन्न पसारियौं। अलि साइडतिर। घरका मान्छे खेतबाट आएछन्। हाम्रा खुट्टाको जुत्ता र बाँकी हुलिया देख्दा माओवादी भन्ने ठानेछन्। कसैले बोलाएनन्। पानी पनि सोधेनन्। उठेर आफंै घुस्रन परिहाल्यो। पत्रकार भनेपछि बल्ल राजसी सम्मान भेटियो। त्यसपछिका कुरा के गर्नु ! गाउँ नै उल्टेर बाजा बजाउलान् जस्तो गरी रमाए। त्यो घर माओवादीपीडित परेछ। माओवादीले त्यो जुत्ता धेरै प्रयोग गर्ने रहेछन् युद्धताका। आर्मीले जुत्ता बिक्रीमै रोक लगाएको रहेछ त्यो बेला। यही कारण कम्पनी घाटामा गएको समाचार अस्ति भर्खर पढेँ। अनि पो त्यो दिनको घटनामा सम्झनाको रिल फर्कियो। तीनताका गोल्डस्टार लाउने जोकोहीलाई समातेर सेनाले दुःख दिने सामान्य कुरा भइगयो।
कुनै ठाउँमा पुग्दा त्यही हुलियाका कारण कमरेड साप भनेर निकै सम्मान पनि भेटियो। माओवादी स्टाइलमा गाउँलेको खेत रोप्दै हिँडेपछि मेजमानीको के खाँचो हजुर ! रोपाइँ चलिरहेको हूलमा फुत्त पसिन्थ्यो। आलीमा गोल्डस्टार ट्याक्क खोलेर। उता गाउँलेले तारिफमा देउडा लाउन थाल्थे। यसै त रोपाइँको मेलो। अचानक डिलबाट प्रकट भएका नचिनेका खेताला। कसैले भन्थे, ‘मान्छे हेर्दा खैरिनीजस्तो लाग्यो, जुत्ता हेर्दा यतैकी जस्तो।’ कसैले भने, ‘अम्रिकाने केटीले गोल्डस्टार लाएकी सोच्यौं हामीले।’ उनीहरूका बात र गीत। भोकले आफ्नो पेट बटारेको हुन्थ्यो। तर, चिन्ता हँुदैनथ्यो, खेतालाले खाने दामी भोजन आजलाई पक्का गरियो भनेर। मनले यही सोचेर धानको बीउ हातमा लिएर खेतमा चोपल्थेँ। सम्झँदा अहिले नि हाँसो लाग्छ। त्यो आलीमा बिसाएको गोल्डस्टार जुत्ता, मान्छे भएको भए के भन्दो हो हामीलाई ‘तिम्लाई खानका कालहरू, गाँस र बास पक्का गर्यौ हैन !’ त्यसले पनि मुसुमुसु गरेझैं लागेको के उबेला।
सबैभन्दा रमाइलो लाग्थ्यो, महिलाका खुट्टामा यो जुत्ता देख्दा। शीत छल्न होस् कि भीरको कहरसँग भिड्न। सुतीको धोतीमा, कुर्ता वा लुंगी सबैमा गोल्डस्टार लगाएका भेटिन्थे। उनीहरूको खुट्टाले ओभानो पाएर सुुख भेटेको देख्दा आफ्नै सुख थपिएझैं लाग्थ्यो। चप्पल लाइहिँड्नेलाई पनि ‘बाइफाले आइमाई’ भन्ने जमाना छिचोलेका महिलाहरू थिए। गोल्डस्टार पड््काउँदै मेला भर्न हिँडेकादेखि खेतबारीमा काम गर्न हिँडेका सबैलाई एकैछिन अडिएर हेर्न मन लाग्थ्यो। तिमीहरूको परि श्रमले अडिएको छ यो पहाडको मेरुदण्ड भनेर अँगालो मारूझैं हुन्थ्यो। उनीहरूको खुट्टामा आराम थमाइदिएको गोल्डस्टार जुत्तालाई कति भन्ने धन्यवाद। दाम पनि त ‘आइमाईले’ किन्न सक्ने नै थियो। र त लाउन पाए जुत्ता।
जति पटक जिल्लाहरू गएँ, गोल्डस्टार नै लाएँ। यसमा जत्तिको भर अरू केहीमा पर्नै सकिनँ। तर, सबैभन्दा याद पहिलोपटक किनेको जुत्ताको आउँछ। पहिलोपटक भीरपाखामा भर दिएको कालो गोल्डस्टार ! जतन गरी काठमाडौं ल्याइपुर्याएकी थिएँ। कुन बेला त्यो हरायो। सम्झेर मन खिन्न हुन्छ। पैसा सस्तो, नेपाली ब्रान्ड, आफ्नै औकातसँग ठीक म्याच हुने। यसको प्रेमले सामाजिक सञ्जालमा स्टेटस लेख्दा मानिसहरू ‘गोल्डस्टार एम्बासडर’ भनेर जिस्क्याउँछन्। यसको कारखाना र उत्पादक कसैलाई चिनेको पनि थिइनँ। अचानक एक अनलाइन पत्रिकामा उत्पादकहरूका बारेमा लेखिएको जानकारी पढेर मनै प्रफुल्ल भयो। माओवादी र सरकारी दुवै अत्याचारका भुक्तभोगी राणा दम्पतीले बँचाएको गोल्डस्टारको झनै माया लागेर आयो। कहिलेकहिले वस्तुको पनि मानिसकै जस्तो माया लाग्ने रहेछ।
असाध्यै अप्ठ्यारा बाटामा गोल्डस्टारको सहारामा हिँड्दा मनमा फुथ्र्यो, ‘कर्णालीको तीर होस् कि मालिकाको भीर। छ भने खुट्टामा गोल्डस्टार, मान्नु पर्दैन पीर।’ त्यही बेलादेखि यी बाटाहरूको नामकरण गरिदिएँ मनमनै, ‘गोल्डस्टार वे !!’ मोतीसरि खजाना लुकाएका हाम्रा भीरपाखा विचरण गराउने बाटाहरू पो त ! कहाँ ऐरे गैरे नत्थु गैरे जुत्तालाई गन्छन् त ! गोल्डस्टारबाहेक। निकै खालका कष्ट पछि अगि बढ्दै छ मुलुक। आफ्ना उत्पादनमा नागरिक भर पर्न थाले भने उन्नतिको गति पनि उकालो लाग्न सक्छ। आफ्नो खुट्टालाई १० वर्षदेखि भर दिएको जुत्ताको नाममा लेखेँ मैले यो प्रेमपत्र। सित्तैमा विज्ञापन भयो भने पनि ‘कहाँ पोखियो घिउ, दालमा’ ठानिदिनुहोला है !