युवाको हिउँदे छुट्टी योजना

युवाको हिउँदे छुट्टी योजना

झापा, बिर्तामोड– ५ कि सुनिता खरेलले हिउँदे छुट्टीमा झापाकै रमणीय क्षेत्र घुम्ने विचार गरेकी छन्। प्लस टु अध्ययनरत सुनिता भन्छिन्– ‘अन्य जिल्लाका मेरा फेसबुकका साथी झापामा कति रमाइलो ठाउँ रैछ, हामी घुमेर आयौं भन्दै फोटो सेयर गर्छन्, हामी यही बसेकाले सबै ठाउँ घुमेकै छैनौं। त्यसैले, साथीहरूको रोजाइ यो वर्ष आफ्नै जिल्लाको पर्यटकीय क्षेत्र पर्‍यो।’

झापा तराईको समथर भूभागसँगै चुरे क्षेत्रसँग गाँसिएको जिल्ला भएकाले यहाँ सबैखाले पर्यटकीय क्षेत्र छन्। भौगोलिक बनावटले फरक झापामा धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगम छ। किच्चकवध, टाँसी छ्योलिङ गुम्बा, कनकाई माई, अर्जुनधारा–जलेश्वरधाम, कृष्णथुम्की, केचनाकवल, पातालगंगा, बर्ने चिया बगान, विराट पोखरी, सताक्षीधाम, साधुटार, जामुनखाडी, दोमुखा, कोटीहोम, सुखानी, समयगढ, चिल्लागढ, सुनमाई, कञ्चनगढ दर्जनौं स्थान झापाको पर्यटकीय प्रवद्र्धनका लागि उपयुक्त क्षेत्रमा पर्छन्।

पछिल्लो समय अर्जुनधारा नगरपालिकामा रहेको सुखानी पार्क (झिल) र कनकाई नगरपालिकामा रहेको ह्यापिल्यान्ड फनपार्क पनि युवाहरूका लागि आकर्षकको केन्द्र बनेको छ। यी क्षेत्रमा पूर्वाधारको विकास सेवासुविधाको विस्तार बढाए सँगै युवायुवतीको आकर्षण थपिएको उनीहरू बताउँछन्।

‘घुम्दा धेरै कुरा सिकिन्छ।’ अर्जुनधारा नगरपालिका–६ का स्थानीय युवा रमेश सिवा बताउँछन्। झापाले नेपालको सबैभन्दा होचो स्थानदेखि पहाडलाई छोएको हुनाले पनि पर्यटनको राम्रो सम्भावना भएको जिल्लाका रूपमा रहेको छ। पर्यटन वर्षमा व्यवस्थित र प्रचारप्रसारका कारण यहाँ पर्यटकको आवागमन उत्तिकै छ।

उता मेची र देवनिया नदीको बीचमा रहेको किच्चकवधको उत्खननपछि चर्चा अझै बढेको छ। यहाँ युवाहरू पुरातात्त्विक अवलोकनका लागि पुग्छन्। सदरमुकाम चन्द्रगढीदेखि एक किमि पूर्व–दक्षिणमा रहेको किच्चकवध पाँच वर्षअघि उत्खनन गरिएको थियो। किच्चकवध क्षेत्र पुरातात्त्िवक उत्खनन् गर्दा आठ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। त्यसको अध्ययनका लागि र होचो स्थान नजिकै भएकाले युवाहरू दैनिक मोटरसाइकल हुँइक्याएर यहाँ पुग्छन्।

बिर्तामोडबाट पाँच किलोमिटर उत्तरमा रहेको पशुपतिनाथको नामले परिचित अर्जुनधारा–जलेश्वरधामको महत्त्व अझ व्यापक छ। महाभारत कथासँग इतिहास जोडिएको यस धाममा अर्जुनले वाण हानेपछि निस्किएको पानीबाट पोखरी बनेको विश्वास गरिन्छ।

कचनाकवल गाउँपालिकामा रहेको केचनाकवल नेपालको सबैभन्दा होचो भूभाग मानिन्छ। यो समुद्री सतहदेखि ५८ मिटर उचाइमा छ। यस्तै दोमुखा, सतासीधाम र सुरुंगाको बीचमा पर्ने विशिष्ट पर्यटकीय स्थल हो। कनकाई माई नदीको सदाबहार उपस्थिति पनि दोमुखाको विकासमा अर्को महत्त्वपूर्ण आधार बनेको छ।

त्यस्तै काँकडभिट्टाको टाँसी छोयलिङ गुम्बा झापालाई चिनाउने अर्को महत्त्वपूर्ण धार्मिकस्थल हो। गुम्बामा धार्मिक अनुष्ठान र भिक्षु तथा लामाहरूले नियमित प्रवचन दिने गरेका छन्। मेचीनगरस्थित पातालगंगा झापाको अर्को धार्मिक तथा ऐतिहासिक स्थल हो। १९९० सालमा भूकम्प जाँदा यहाँ दूधजस्तो सेतो फोहरा निस्किएपछि गंगाजल प्रकट भएको विश्वास गरी स्थानीयले पूजाआजा गर्न थालेका हुन्।

बाहुनडाँगीस्थित कृष्णथुम्कीको छुट्टै विशेषता छ। यसैगरी, जामुनखाडी सिमसार क्षेत्र आन्तरिक पर्यटकले निकै रुचाइएको ठाउँ हो। कनकाई नगरपालिकामा रहेको जामुनखाडी लोकमार्गबाट तीन किलोमिटर उत्तरमा पर्छ। चार बिघा क्षेत्रफलको मध्यभागमा रहेको जमुना पोखरीमा नौका र डुंगा सञ्चालन गरिएकाले आकर्षक केन्द्रको रूपमा विस्तार हुँदैछ।

शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाम धार्मिक पर्यटकहरूको अर्को गन्तव्य हो भने उत्तरी खुदुनाबारीस्थित साधुटार, कनकाई माई नदी, डाँगीबारीस्थित कञ्चनगढ, शान्तिनगरस्थित बर्ने चिया बगानलगायतका पर्यटकीयस्थल पछिल्लो समय पर्यटकले रुचाएका ठाउँ हुन्। त्यसैगरी, तोपगाछीस्थित समयगढ, सहिद स्मारक सुखानी पार्क, झापा र इलामको सिमानामा पर्ने सुनमाई झापाको चिनारी हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.