ओझेलमा टीकापुर पार्क

ओझेलमा टीकापुर पार्क

टीकापुर : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सूचीकरणमा परेका सय पर्यटकीय गन्तव्यमध्ये एक गन्तव्य टीकापुर पार्कको व्यवस्थापन र प्रवद्र्धनको काम अझै सुरु हुन सकेको छैन। टीकापुर पार्क शाहवंशीय शासनकालको इतिहासमा नारायणहिटी राजदरबार बाहिरबाट एक महिना देशको शासनसत्ता चलेको ऐतिहासिक पार्क हो।

टीकापुर पार्क हेर्न वार्षिक झन्डै तीन लाख पर्यटक आउने गरेको टीकापुर नगरपालिकाको तथ्यांक छ। पार्कको व्यवस्थापनको जिम्मा पनि नगरपालिकाकै छ। टीकापुर पार्कमा ४२ प्रजातिका गुलाबका फूल हेर्न पाइन्छ भने त्यहाँ पिकनिक खानेको पनि घुइँचो लाग्ने गर्छ। पार्कको पूर्वपट्टि बगिरहेको कर्णालीमा र्‍याफ्टिङ र पौडीको आनन्द पनि लिन सकिन्छ। तर पार्क पिकनिक स्पटका रूपमा मात्रै देखिएको छ। पार्कभित्र पानी पाउने स्थान पनि छैन, न पार्कमा कुनै सामान किन्न पाइन्छ। नगरपालिकाले न वीरेन्द्र वि श्राम गृह र महेन्द्र आरोग्य केन्द्रलाई सर्वसाधारणका लागि खुला गरेको छ, न त त्यहाँ आउने पर्यटकलाई त्यसका बारेमा पूर्ण विवरण दिने गरेको छ।

‘टीकापुर पार्कमा सयजनाभन्दा बढी टूर गाइडलाई रोजगार दिन सकिन्छ, केन्द्र र गृहलाई सर्वसाधारणका लागि खोल्ने हो भने नगरपालिकाले वर्षेनी करोडौंको आम्दानी गर्नसक्छ’, पर्यटन व्यवसायी कालु हमालले भने। पार्कमा विद्यार्थीलाई १५, नेपाली नागरिकलाई २५, विदेशी नागरिक सार्क राष्ट्रका भए १५० र त्यस बाहिरका भए तीन सय प्रवेश शुल्क राखिएको छ। नगरपालिकाका मेयर तपेन्द्र रावल भने पार्क व्यवस्थित गर्न नगरपालिकाले योजना बनाइरहेको बताउँछन्। ‘यसवर्षमात्र एक करोड राखेका छौं’, उनले भने।

पूर्वराजा महेन्द्रले २०२४ चैत २५ गतेदेखि २०२५ वैशाख २४ गतेसम्म पार्कस्थित महेन्द्र आरोग्य केन्द्रबाट राजकाज चलाएका थिए। टीकापुरका थारु अगुवा लालवीर चौधरी भन्छन्, ‘२०२४ चैत २ मा महेन्द्र शिकार खेल्न कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आए। राजाले शिकार खेल्नु त्यतिबेला नौलो कुरो होइन तर त्यसैबेला उनलाई ह्दयघात भयो।’ महेन्द्रलाई तुरुन्तै काठमाडौं लगिएको थियो। त्यतिबेला महेन्द्र चढेको जहाज त्रिभुवन विमानस्थलमा लालटिन बालेर रात्रीकालिन अवतरण गराइएको उनको भनाइ छ। थियो। उनका व्रिटिस चिकित्सक र नेपाली चिकित्सकहरुले उनलाई एकदमै सुन्दर ठाउँमा आराम गर्न सुझाए। चिकित्सकले कलकल कञ्चन पानीको ध्वनी आउने शान्त ठाउँ, सुन्दर वन क्षेत्र, अझ त्यसमा प्राकृतिक रूपमा हरियो वन भएको क्षेत्र चयन गर्न सुझाएका थिए’, उनले इतिहास कोट्याउँदै भने।

राजाका भारदार देशैभर घुमे अन्ततः टीकापुुर पार्क छनोटमा पर्‍यो। उनले भने, ‘थारुमा गाई पाल्ने तर गाईको दुध खायो भने पाप लाग्छ भन्ने परम्परा थियो, राजा महेन्द्र आएकै वर्षदेखि गाईको दुध त औषधि रहेछ भनेर सबैले खान थालेका हुन्।’ सोही पार्कमा महेन्द्रको ‘मेडिटेसन’ का लागि महेन्द्र आरोग्य केन्द्र बनाइएको उनको भनाइ छ। २०२४ सालमा बनाइएको एक तले घरमा बाथटप, तीन सयन कक्ष र एउटा बैठक कक्ष निर्माण गरिएको छ। उनले पार्कमा एक महिना वि श्राम गरेपछि महेन्द्र सञ्चो भएर नारायणहिटी फर्किएको उनले बताए।

महेन्द्रको मृत्युपछि तत्कालीन राजा वीरेन्द्रले पनि टीकापुर पार्कको सौन्दर्यता देखेर त्यहाँ वीरेन्द्र वि श्राम गृह बनाएका थिए। बाथ टप सहितका चार सयन कक्ष, एउटा बैठक कक्ष, डायनिङ कक्ष सहितको वीरेन्द्र वि श्राम गृहमा अहिले पनि उनले प्रयोग गरेका कप, प्लेट, थाल आदि संग्रहालयका रूपमा राखिएका छन्। उनले प्रयोग गरेका काठका फल्याकले बनाइएको डायनिङ टेबुल, बेतका कुर्सी टेबुल सबै संरक्षित छन्। बहुदल आउनु अघिसम्म उनको सयन कक्षका पलङहरू रहे पनि हराएको पार्कका इञ्चार्ज अर्जुनबहादुर कुँवरले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.