सडक नबन्दा सुस्ताउँदै ‘होमस्टे’

सडक नबन्दा सुस्ताउँदै ‘होमस्टे’

गाईघाट : उदयपुरको प्रमुख पर्यटकीय क्षेत्र रौतापोखरीमा पर्यटक स्वागतका लागि होमेस्टे तयार भए पनि सडकको स्तरोन्नति नहुँदा सञ्चालनमा समस्या भएको छ। सडकका कारण सिंगो होमस्टे व्यवसाय नै सुस्ताएको हो। जिल्लाकै ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको रौतापोखरीलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ गुयोजना निर्माण गरे पनि सडक स्तरोन्नति हुन नसक्दा पर्याप्त पर्यटक भित्रन सकेका छैनन्।

रौतामाई गाउँपालिका–६ स्थित पोखरी व्यवस्थित गर्न पर्यटकलाई सहज तरिकाले र सुलभ ढंगबाट राख्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्दै होमेस्टे सञ्चालनमा ल्याएको थियो। पोखरी प्रवेशद्वार निकासमा २०७२ सालमा ११ घरपरिवार मिलेर रौतामाई विकास सामुदायिक होमस्टे स्थापना गरी सञ्चालनमा ल्याएका हुन्। तर पर्यटक अभावमा अहिलेसम्म प्रभावकारी ढंगले सञ्चालन हुन सकिरहेको छैन। सडकको समस्याले आन्तरिक पर्यटक पनि कम आउने गरेको होमस्टे सञ्चालक समितिका अध्यक्ष जितशेर राईले बताए। रौतापोखरी गाईघाटदेखि ४४ किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्छ।

नगरपालिका र गाउँपालिकाले सडक स्तरोन्नति गर्ने बताए पनि सडकले बिस्तार नपाउँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको केशव राईले बताए। एक्लैको पहलकदमी र बजेटले नभ्याउने भएपछि संयुक्त लगानीमा सडकलाई व्यवस्थित गर्ने योजना रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। सडकको भाग नगरपालिकामा पर्ने भएकाले गाउँपालिकाको बजेट लगाउन प्राविधिक समस्या रहेको उनले बताए। यता नगरपालिकाले भने पर्यटकीय क्षेत्रको आम्दानी गाउँपालिकाकै हुने भएकाले सडक विस्तारका लागि आनाकानी गरिरहेको स्रोतको भनाइ छ। यद्यपि, सडक विस्तार हुँदा नगरपालिकाका १४ र १६ नम्बर वडाका बासिन्दालाई पनि राहत पुग्नेछ।

आन्तरिक र बाह्य गरी दैनिक एक सय पर्यटक आउने गरेको यो क्षेत्रमा सडक बन्न साथ करिब पाँच सयको हाराहारीमा पर्यटक भित्र्याउन सकिने वडाध्यक्ष तिलबहादुर मगर बताउँछन्। धार्मिक आस्थाको केन्द्र बोकेको रौता पोखरीको दर्शनका लागि उदयपुर, सिरहा, सप्तरी, सुनसरी, विराटनगर, जनकपुर, सिन्धुली र छिमेकी मुलुक भारतबट दर्शनार्थी आउने गरेको पुजारी हितबहादुर मगर बताउँछन्।

सगरमाथा, चोयु, महालंगुरलगायत हिमालको अवलोकन गर्न सकिने स्थानीय युवा केशव राईले बताए। ‘सडकको स्थिति नाजुक भए पनि धार्मिक तथा पर्यटकीय स्थल रौता आइपुगेका पर्यटक प्र्राकृतिक सौन्दर्यतामा रमाउने गर्दछन्’, उनले भने। होमस्टे सञ्चालक समितिसदस्य प्रेमीका राईले स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, स्थानीय जातको कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकारले पर्यटकलाई आकर्षण गर्ने गरेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.