फिल्मकर्मीको रोजाइमा झापाका ग्रामीण बस्ती

फिल्मकर्मीको रोजाइमा झापाका ग्रामीण बस्ती

बिर्तामोड : झापाका ग्रामीण बस्ती, पर्यटकीय क्षेत्र र धार्मिक स्थल चलचित्र निर्माता र निर्देशकको रोजाइमा पर्न थालेका छन्। दैनिक रूपमा एकदुईवटा चलचित्रको छायांकन झापाका मुख्य पर्यटकीय, धार्मिक स्थल र ग्रामीण बस्तीमा भइरहेको हुन्छ।

झापामा पहाडदेखि तराईसम्मका सबै खाले समाज, धर्म, पेसा र जाति पाउनुको साथै भौगोलिक बनावट पनि पहाड र तराई दुवै पाइने हुँदा चलचित्र निर्माता निर्देशकको रोजाइमा झापा परेको हो। चलचित्र निर्देशक विकासराज आचार्यले झापाका धेरै पर्यटकीय स्थल र ग्रामीण बस्तीलाई चलचित्र ‘नाइँ नभन्नु ल ५’मा समेटे। चलचित्र पनि हिट भयो। त्यसअघिका नेपाली चलचित्रका निर्माता र निर्देशकले पनि चलचित्रका गीत र कथामा झापाका अर्जुनधारा, कन्काई नदी, जामुनखाडी लगायतका स्थानलाई समेटे पनि ‘नाइँ नभन्नु ल ५’मा कलात्मक रूपमा निर्देशक आचार्यले धेरै स्थानलाई अग्रभाग तथा पछाडि समेटेपछि पछिल्लो समय झापामा चलचित्र छायांकन गर्ने निर्माता निर्देशकको लर्को नै लागेकोे छ।

आचार्य अहिले प्रेमकथामा आधारित चलचित्र ‘हजार जुनीसम्म’को छायांकनका लागि शिवहरि पौडेल (मुखमा हान्नुजस्तो), उत्तम केसी (चुइँचुइँ पारेर) सहितका कलाकार लिएर झापाका मुख्य पर्यटकीय स्थल, धार्मिक स्थल र ग्रामीण बस्ती चहार्दै छन्। निर्देशक आचार्य भन्छन्, ‘झापामा चलिचित्रका निर्देशक र निर्माताले नदेखेका धेरै स्थान रहेछन्।’ प्रविधिको उच्च प्रयोग र खारिएका कलाकार नेपाली चलचित्रमा बढे पनि छायांकन गर्ने स्थानको ख्याल नगर्दा राम्रो कथासमेत नराम्रो हुने भएकाले आफू उत्कृष्ट स्थानको खोजीमा झापा आउने गरेको निर्देशक आचार्यको भनाइ छ।

‘छायांकन गर्ने उकृष्ट स्थानको खोजीमा आउँदा सिन पनि राम्रो पाइन्छ’, उनले भने, ‘झनै प्राकृतिक झरनादेखि समथर भूभाग र हिमालका शेर्पा जातिसँगै तराईका रैथाने जाति सबै एकै ठाउँमा भेटिने हुनाले कथाले मागेको चिज झापामा पाइन्छ।’ पछिल्लो समय आफूले बनाएको चलचित्रले प्रेम, पर्यटन, धर्म र लुकेका स्थानलाई प्राथमिकता दिने गरेकाले पनि झापा जिल्ला छनोटमा परेको आचार्यको भनाइ छ।

उनले झापाको बिर्तामोड, दमक, अर्जुनधारा र काँकडभिट्टाका विभिन्न स्थानलाई अबको आफूले निर्देशन गरेको चलचित्रमा समेटेको बताएका छन्। उनले निर्देशन गरिरहेको नयाँ चलचित्र ‘हजार जुनीसम्म’मा ४० प्रतिशतभन्दा बढी झापाको दृश्य समेट्ने बताए। ‘चलचित्र ‘नाइँ नभन्नु ल ५’मा धेरै स्थान झापाको समेटिएको थियो। दर्शकबाट राम्रो साथ पनि पाएँ’, आचार्यले भने, ‘जस्तो खोज्यो त्यस्तै स्थान झापामा छ। त्यसैले पुनः अर्को चलचित्र छायांकनका लागि झापा आएको हुँ।’

त्यस्तै अहिले अर्को चलचित्र ‘आरुशी’को पनि छायांकन झापामै भइरहेको छ। ‘झापाका स्थान दर्शकले त मन पराउँछन् नै, कलाकारलाई पनि खुबै मन पर्ने भएकाले झापा ‘सुटिङ’मा जाने भनेपछि सबै ‘एक्साइटेड’ हुन्छन्’, चलचित्रका निर्देशक उदय सुब्बाले भने, ‘चलचित्र ‘नाइँ नभन्नु ल ५’ले सबैलाई पाठ पढाएकै हो। विकास दाइले कलात्मक रूपमा देखाएको झापालाई हामी पनि पछ्याइरहेका छौं।’

पूर्वबाट निर्माता र निर्देशक उत्पादन हुनुले पनि पूर्वका पर्यटकीय क्षेत्र उनीहरूले रोज्ने गरेको निर्माता तथा निर्देशक बताउँछन्। सुब्बा पूर्व र पूर्वको पनि झापामा छायांकनका लागि सोचे र भनेसम्मका स्थल, सहयोगी समाज र स्थानीय कलाकार पनि प्रशस्त पाइने भएकाले पछिल्लो समय निर्माण हुने सबैजसो चलचित्रले कुनै न कुनै ‘सिन’ झापाका पर्यटकीय क्षेत्रकै हाल्ने गरेको बताउँछन्। उनले आफूले निर्माण गरेका प्रायः सबै चलचित्रको धेरै भाग झापामा छायांकन गरेको बताए।

पूर्वमा छायांकन गरिएका चलचित्रका दृश्य सबै स्थानका दर्शकले उत्तिकै मन पराउने गरेको चलचित्र वितरक चैतन्य बराल बताउँछन्। झापाको अर्जुनधारा धाम, दोमुखा, सतासीधाम, कन्काई, केचनाकलन, काँकडभिट्टा, बिर्तामोड, दमक, चन्द्रगढी क्षेत्र झापाका चलचित्र छायांकन हुने मुख्य स्थान हुन्। ‘राधा’, ‘नाइँ नभन्नु ल ५’, ‘दुई रुपैयाँ’, ‘जय भोले’ झापामै छायांकन भएका चर्चित चलचित्र हुन्। जुन चलचित्रले राम्रो व्यापार गरेका छन् भने दर्शको मन पनि उत्तिकै जित्न सफल भएको चलचित्र निर्देशकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.