कांग्रेसका पूर्वसांसद् नेकपा प्रवेश
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसांसद् तीर्थ भुषाल नेकपा प्रवेश गरेका छन् । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुषाललाई पार्टी प्रवेश गराएका हुन् ।
०५१ सालमा चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित उनी कांग्रेस चितवनका पूर्वजिल्ला सभापति हुन् । पार्टी प्रवेश गदै उनले नेकपाले मात्रै अब जनताको मुक्तिको सपना पूरा गर्ने र देशको विकास पनि गर्ने बताए ।
उनले नेपालमा अहिले नेकपाको शक्तिशाली सरकार रहेको र उसलाई कसैले केही डगमगाउन नसक्ने भन्दै आफू रहेको पूर्ववत पार्टीलाई पनि सरकारलाई सहयोग गर्न उनले आग्रह गरे।
कांग्रेस सरकारविरुद्ध आन्दोलनमा जाने बताइरहेका बेला कांग्रेसबाट पूर्वसांसद समेत रहेका भुषालले सरकारलाई जुनकुनै दलले पनि भित्र बाहिर सबैतिरबाट सहयोग गरेर देशको विकासमा साथ दिनुपर्ने धारणा राखे ।
‘नेपालमा अहिले शक्तिशाली सरकार छ । मैले हिजो जुन पार्टीमा काम गरे, तिनलाई पनि यो सरकारलाई भित्र÷बाहिर जाहाबाट भएपनि सहयोग गरेर नेपाल निर्माणमा एकजुट भएर लाग्न आग्रह गर्छु ,’ धुम्बराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा भुषालले भने ।
भुषाललाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले नेकपा बुझ्नेलाई श्रीखण्ड भएको बताएका छन्। नेकपा खुइलियो भन्नेको हेर्ने चश्मा नै दोषी भएको उनको भनाइ छ। उनले दोष लगाउनुअघि चश्मा सफा गरेर मात्र हेर्न आग्रहसमेत गरेका छन्।
‘पार्टी खुइलियो भन्नेहरु पनि छन्। चश्मा फोहोर भयो भने राम्रो देखिदैन। पहिला चश्मा सफा गर्न आग्रह गर्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी खुइलिएको छैन। बुझ्नेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिड हो। नेकपा श्रीखण्ड नै हो भनेर थाहा पाउन म आग्रह गर्छु।’
प्रधानमन्त्री ओलीले हरेक दिन सरकार एक कदम अगाडि रहेको दाबीसमेत गरे। उनले सरकारले नयाँ काम गर्दै अघि बढेको बताए। ‘सरकार हरेक दिन एक कदम अगाडि बढेको छ। अगाडि बढ्योकी बढेन हेर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘हरेक दिन नयाँनयाँ काम गरेका छौँ।’
कानुनी संरचनादेखि सबै काम भइरहेको उनको दाबी छ। उनले अब कर्मचारी समायोजनअघि देखिएका समस्या समाधान भएको बताए। ‘समायोजनसम्म कर्मचारी पुग्दा अनेक व्यावधान र कठिनाई आए’, उनले भने, ‘अब ति पार भए।’ नेकपाको दौडमा संख्या थपिदै गएको र जनताको विश्वाससमेत बढ्दै गएको उनको भनाइ छ।
‘दौडमा संख्या थपिदैछ। जनताको विश्वास बढ्दै छ’, ओलीले भने, ‘निष्ठापूर्वक अगाडि बढौं, सबै राजनीतिक दल र जनताका लागि काम गरौं।’