केसीको स्वास्थ्य बिग्रँदै

केसीको स्वास्थ्य बिग्रँदै

काठमाडौं : ११ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएको छ। सरकारसँग भएको सम्झौता अनुरूप चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनशनरत उनको स्वास्थ्य नाजुक हुँदै गएको छ।

सोलिडारिटी फर डा.केसी अलायन्सको आह्वानमा उनका समर्थकले शनिबार माइतीघरमण्डलमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा डा.अभिषेकराज सिंहले डा.केसीविरुद्ध सरकारले ‘डमी’ अनशनकारी खडा गरेको आरोप लगाए। ‘झडप निम्त्याउन सरकारले केसी जता जान्छन् त्यतै डमी अनशनकारीलाई बोकेर हिँडिरहेको छ’, उनले दाबी गरे, ‘डमी अनशनकारीलाई सरकारको संरक्षण छ।’

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, डा.अभिषेकराज सिंहलगायतले सम्झौताअनुसार चिकित्सा विधेयक नल्याएकोमा सरकारको विरोध गरेका थिए। डा.केसी जता गए पनि पछि पछि डमी अनशनकारीलाई सरकारले लैजाने गरेको दाबी गरे। अलायन्सले सम्झौताअनुरूप चिकित्सा ऐन ल्याउन दैनिक प्रदर्शन गर्ने जनाएको छ।

थापा फेरि आईसीयूमा

शिक्षण अस्पतालको इमरजेन्सीमा उपचार हुँदाहुँदै उठेर माइतीघरमण्डल गएका थापा फेरि अस्पताल फर्किएका छन्। उनको आईसीयूमा उपचार भइरहेको छ। ‘ आईसीयू नपाएपछि माइतीघरमण्डल पुगेका थियौं। १५/२० मिनेट पनि डीएसपीको नेतृत्वमा प्रहरी आए। एम्बुलेन्समा हालेर अस्पताल पु¥याए’, थापाका सहयोगी पुष्प भण्डारीले बताए। रैथाने एकता परिषद्का महासचिव थापाले आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउन चाहेको भण्डारीले जानकारी दिए। यसअघि उनी खुलामञ्चमा अनशन बसेका थिए।

मौन साक्षी

‘तपाईं जुन अभियानमा लाग्नु भएको छ। यो अभियानमा प्रधानमन्त्री र सिंगो सरकार प्रतिबद्ध छ’, भन्दै २७ औं दिन डा.केसीलाई जुस खुवाएर अनशन तोडाउने नेकपा संसदीय दलका उपनेता सुवाश नेम्बाङ अहिले मौन छन्।

१५ औं अनशन तोडाउँदा नेम्बाङसहित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले डा.केसीलाई जुस खुवाए। राति प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले फोनबाट माथेमालाई धन्यवाद दिँदै आभार व्यक्त गरेका थिए। ती दृश्य माथेमाको मस्तिष्कमा फिल्म झैं घुमिरहेका छन्। यसले उनलाई आक्रोशित बनाइरहेको छ। ‘घरायसी कागजको पनि रेस्पेक्ट गरिन्छ। डा.केसीसँग जुन लिखित सहमति गरिएको थियो त्यसको सम्मान भएन। जबकि त्यसमा सरकारकै सचिवले हस्ताक्षर गर्नुभएको थियो’, उनले भने। १० साउनमा सरकार र डा.केसीबीच सम्झौता भएको थियो।

इलाममा अनशनरत डा.केसीलाई काठमाडौं ल्याउन पहल गरेका माथेमा छक्क छन्। केसीको दायाँतिर नेकपा महासचिव विष्णु पौडेल, बायाँतिर संसदीय दलका उपनेता नेम्बाङ बसेका थिए। ‘प्रधानमन्त्रीज्यूकै पहलमा सम्झौता भएको थियो। सम्झौतापछि प्रधानमन्त्रीज्यू र प्रचण्डज्यू दुवैले डाक्टर साब धन्यवादसमेत भन्नु भएको थियो’, उनले सम्झिए। विधेयककै सन्दर्भमा प्रधानमन्त्री ओली र डा.केसीबीच दुई पटक भेटवार्ता भइसकेको छ। ५ महिनामा प्रधानमन्त्री डा.केसीसँग चिढिएका छन्। १५ औं अनशनमा डा.केसी पक्षको वार्ता टोलीका संयोजक डा.अभिषेकराज सिंहले भने, ‘दुवै नेता साक्षी झैं गरेर बस्नु भएको थियो। तर यसपटक मूकदर्शक बनेको देख्दा अचम्म लागिरहेको छ।’

डा.केसीसँगको सम्झौता कार्यान्वयन गर्दा देशलाई हानी नहुने माथेमाले बताए। ‘डा.केसीको हातमा राज्यसत्ता छैन। राज्यसत्ता हातमा भएका व्यक्तिले सीमित स्वार्थ समूहको हित नहेरी देश र जनताको हितलाई ध्यान दिनु हुनेछ भन्ने आसा गर्नुबाहेक विकल्प भएन’, माथेमाले भने।संवादको पहलमा श्रेष्ठनेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ डा.केसीसँग वार्ताको पहलमा अग्रसर देखिएका छन्। उनले शुक्रबार दिउँसो खुमलटारमा नेकपा अध्यक्ष दाहालसँग भेट गरी डा.केसीका मागबारे छलफल गरेका थिए।

चिकित्सा शिक्षा विधेयक र डा. केसीसँग भएको सम्झौताबारे छलफल भएको स्रोतले बतायो। त्यसपछि उनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरि कुराकानी गरेका थिए। दिउसो चार बजे उनले डा. केसीका सहयोगी अभिषेकराज सिंहसँग टेलिफोनमा कुरा गरेका थिए। डा. सिंहलाई उनले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँग पुनः कुराकानी गरि पहल गर्ने आश्वासन दिएका थिए। तर, शनिबार साँझसम्म सरकारी पक्षसँग कुनै संवाद नभएको डा. केसीका एक सहयोगीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.