बाख्रापालनबाट आत्मनिर्भर
नेपालगन्ज : बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–७ लालपुरकी कौसिला बुढा क्षेत्रीले गएको दसैंमा ६ वटा खसी बेचिन्। अरु ६ वटा बेच्ने तरखरमा छन्। क्षेत्री भन्छिन्, ‘एउटै खसी १५ हजारमा बेचें। १० हजार घटीमा कुनै बेचिएन।’ खसीबाट वार्षिक एक लाख आम्दानी हुन्छ। परम्परागत रुपमा जंगलमा चराएर बाख्रापालन गर्दै आएकी उनी अहिले उनी दुई महिनाको बोकोलाई खसी पारेपछि घरमै पाल्छिन्। अरु बाख्रा भने अझैं जंगल चराउन जान्छिन्। ‘घरमै पालेको खसी आठ महिनादेखि १० महिनासम्म ४० किलोको हुन्छ’, उनले अनुभव सुनाइन्।
राप्ती सोनारी–६ मोहनपुरकी सीता पुनको आम्दानीको मुख्य स्रोत बाख्रापालन हो। उनको खोरमा पनि २० वटा बाख्रा छन्। २०७० सालदेखि व्यवस्थितरूपमा बाख्रापालन थालेकी उनी मान्छेले जस्तै स्याहारसुसार गर्दा खसीबाट राम्रो आम्दानी हुने बताउँछिन्। ‘बाख्रा बस्ने खोर मान्छे बस्ने जस्तै सफा हुनुपर्छ। सफा पानी खुवाउनु पर्यो। नियमितरूपमा जुकाको औषधि र भ्याक्सिन लगाउनु पर्छ। अनि मात्र खसीबाट राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भनिन्। यो वर्ष चारवटा खसी बेचेर उनले दसैं मनाइन्। ‘आफ्नै जीवन बिमा छैन। बाख्राको भने बिमा गरेका छौं। मरेको खण्डमा बिमाबाट असुल उपर हुन्छ’, उनले प्रष्ट पारिन्।
राप्ती सोनारी–५ बिनौनाकी रामरति थारुले व्यावसायिक बाख्रापान सुरु गरेकी छन्। पहिले जंगलमा चराएर बाख्रा पाल्ने उनी अहिले साना ठूला १२ वटा बाख्रालाई घरमै पालिरहेको बताउँछिन्। डेढ कठ्ठा जग्गामा बाख्राका लागि घाँस उत्पादन भइरहेको छ। उनी भन्छिन्, ‘एक वर्ष नहुँदै ३० देखि ४० किलोको खसी उत्पादन हुन्छ। १२ देखि १५ हजारमा एउटै खसी बेच्दा घर खर्च नि टर्छ।’
बाँकेको राप्ती सोनारी गाउँपालिकाका प्रत्येक वडामा महिलाले बाख्रा पालेका छन्।
चार वर्ष अघि एउटाबाट बाख्रा पाल्न थालेकी राप्ती सोनारी–३ बैजापुरकी चम्फी चौधरीको घरमा अहिले ११ वटा बाख्रा छन्। ६ वटा खसी छन्। उनले दसैंअघि सातवटा खसी एउटाको औसत मोल १५ हजार रुपैयाँमा बेचिन्। आगामी वैशाखमा बेच्ने गरी चारवटा खसी तयार हुँदैछन्। ‘हामीले हचुवाको भरमा पालेका रहेछौं। व्यावसायिक रूपमा पाल्दा घाँस र अन्न खेर जान्न अनि खसी चाँडै बढ्छ’, उनले बताइन्।
कौसिला, सीता, रामरति र चम्पी मात्र होइन, बाँकेको राप्ती सोनारी गाउँपालिकाका प्रत्येक वडामा महिलाले बाख्रा पालेका छन्। नजिकै वन र चरनका क्षेत्र पर्याप्त हुँदा यहाँका ११ हजार साना किसान महिलाले बाख्रा पालेका छन्। किसानले बोयर, जमुनापारी, अजमेरी, ब्ल्याक बंगाल, बारबेरी जातका बाख्रापालेका छन्। यसरी व्यवसायिक बाख्रा पाल्ने किसानहरु संगठित पनि भएका छन्।
बाख्रापालनका लागि १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था दर्ता गरिएका छन्। ती सहकारीबाट संकलित खसी सामाजिक महिला उद्यमी महिला जिल्ला सहकारी संघमार्फत बिक्री गरिन्छ। संघले स्थानीय बजारका अलावा काठमाडौं र पोखरा लगेर खसी बेच्ने गरेको छ। २०७२ साल यता संघले सात हजार नौ सय ७३ खसी बेचेर आठ करोड २२ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ। संघकी जिल्ला अध्यक्ष गंगा चन्द ठकुरी भन्छिन्, ‘दुई करोड ४६ लाख ३४ हजार रुपैयाँ त किसानलाई नाफा नै भएको छ। जुन विगतमा कुतुवामा खसी बेच्दा ठगिने रकम हो।’
महिलालाई बाख्रापालनका लागि हेफर इन्टरनेसनल नेपालले प्राविधिक, दाना र घाँसका साथै उन्नत जातको बाख्रा पाठापाठी, बाख्राको स्वास्थ्य सेवा उपलब्ध गराएर सहयोग गरेको संस्थाका कार्यक्रम प्रबन्धक कृष्ण कट्टेलले जानकारी दिए। जिल्लामा राप्ती सोनारी, खजुरा र बैजनाथ गाउँपालिकामा पर्ने फत्तेपुर, बिनौना, बैजापुर, कुसुम, ढकेरी, कचनापुर, बनकटुवा, खजुराखुर्द, कोहलपुर, टिटिहिरियालगायत क्षेत्र व्यावसायिक बाख्रापालनका पकेट क्षेत्र भएका छन्।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख हरिबहादुर कुँवर बाख्रापालनका लागि नेपालगन्जको मुख्य सहरी क्षेत्रबाहेक जिल्लाका सबै स्थानीय तह उर्बर भएको बताउँछन्। त्यसमा पनि राप्ती सोनारी बाख्रा पकेट क्षेत्रमै पर्छ। उनले भने, ‘स्थानीय खसी जिल्लामै खपत हुँदा खसी मासुमा बाँके आत्मनिर्भर छ।’