एकै गाउँमा डेढ करोडको सुन्तला

एकै गाउँमा डेढ करोडको सुन्तला

पाल्पा : पश्चिम पाल्पाको रैनादेवी छहरास्थित अमलावासका कृषकले खेतबारीबाटै यस वर्ष एक करोड ५० लाखभन्दा बढी रुपैयाँको सुन्तला बिक्री गरेका छन्। गाउँका ४६ घरपरिवारले सुन्तला खेतीबाट गाउँमै एक करोड ५० लाख रुपैयाँ भिœयाउन सफल भएका हुन्।

अमलावासको पूरै गाउँ सुन्तला खेतीले ढाकेको छ। अमलावासका कृषकले अन्य खेतीबाली छोडेर सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन्। गाउँमा २०४० सालमा पहिलोपटक सुन्तला लगाएर चर्चामा आएका गाउँका अगुवा यमलाल कोइराला नै सुन्तला खेतीको प्रेरणा हुन्। मकै, कोदो र गहुँ आदि फल्ने बारीमा सुन्तला रोप्दा आलोचना खेपेका कोइरालालाई पहिलो वर्ष गाउँमा पागलको उपमा दिइयो। तर लगाएको तीन वर्षमै कोइरालाले सुन्तलाबाट २० हजार आम्दानी गर्न सफल भएपछि गाउँका अन्य व्यक्तिले सिको गरी सुन्तला खेती गर्न थालेका थिए।

अहिले प्रत्येक परिवारले एक सयदेखि पाँच सयसम्म सुन्तलाका बोट लगाएका छन्। प्रशस्त आम्दानी भएपछि अमलावासी नै अन्य खेती छोडेर सुन्तलातिर आर्कषित भएका हुन्। अमलावासमा ४६ घरपरिवारको मुख्य आम्दानी नै सुन्तला खेती भएको छ। अमलावास क्षेत्रमा एक कृषकले ५० हजारदेखि पाँच लाख रुपैयाँको सुन्तला बिक्री गर्दै आएका सुन्तलाव्यवसायी दुर्गा कोइरालाले बताए। ‘३५ वर्षदेखि निरन्तर सुन्तला खेती गर्दै आएको छु, यसैबाट छोराछोरी पढाएँ, घरखर्च चलाएँ, अहिले पनि जीवन चल्दैछ’, यमलाल कोइरालाले भने। उनले मात्र यो वर्ष पनि तीन लाखको सुन्तला बेचेका छन्।

रोग निम्त्याउने किराको व्यवस्थापन समयमै भएकाले सुन्तलाको उत्पादन राम्रो भएको अगुवा कृषक टिकाराम पोखरेलले बताए। उत्तरतर्फ फर्केको जमिन, ओसिलो जमिन, हिमालका प्रशस्त भूभाग देखिने स्थान भएकाले सुन्तला खेतीलाई आवश्यक पर्ने हावापानी सुहाउँदो हुँदा उत्पादन पनि राम्रो हुने सुन्तला व्यवसायी नित्यानन्द पोखरेलले बताए। मलेसियाबाट फर्किएका रिब्दिकोट ७ पालुङमैनादीका ५५ वर्षीय गोपालबहादुर कु“वरले बारी भरी बगैँचा बनाएर सुन्तला खेती गर्दै आएका छन्। सात वर्षयता सुन्तलाबाट वार्षिक चार लाखसम्मको आम्दानी गर्दै आएको उनले बताए। गाउँमा अचेल बुढाबुढीको पेन्सन भनेकै सुन्तला भएको स्थानीयको भनाइ छ। व्यपारीले किसानको बारीमा पुगेर प्रतिकेजी ५० रुपैयाँदेखि ७० सम्म सुन्तला खरिद गरेका छन्।

पाल्पाबाट मात्र वार्षिक १३ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ। अहिले पाल्पामा स्थानीयले जमिनको अवस्थाअनुसार ५० देखि सात सयसम्म बिरुवा लगाएर सुन्तला खेती गर्दै आएका छन्। पाल्पाबाट वार्षिक ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा जाने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.