इन्जिनियर चरा
आदित्यको घरबारीमा रातो काँगियो फूलको रूख छ। रूखमा केही चराहरू बसेका छन्। हाँगामा झुन्डिएर ती चराहरूले के–के गरिरहेका छन्।
आदित्यले रूखमा चराहरू झुन्डिरहेको देख्यो। चराहरूले के–के गरिरहेको पनि देख्यो। चराहरूले के गरिरहेका होलान् भनेर उसलाई निकै खुल्दुली लाग्यो।
खेतको काम सकेर आदित्यको बुवा घरमा आउनुभयो। बुवालाई देख्नासाथ आदित्यले सोधिहाल्यो, ‘बुवा, ती चराहरूले रूखमा झुन्डिएर के गरेका हुन् ? ’
आदित्यको बुवाले काँगियो फूलको रूखतिर हेर्नुभयो। रूखको हाँगामा तोप चराहरू झुन्डिरहेको देख्नुभयो। अनि उहाँले रूखतिर देखाएर भन्नुभयो, ‘ती चराहरूको नाम तोप चरा हो। अहिले तिनीहरू त्यहाँ आफ्नो घर बनाउन खोज्दैछन्। चराको घरलाई हामी गुँड भन्छौं।
चराहरूको नाम थाहा पाएर आदित्य खुसी भयो। तर ती चराहरूले रूखमा घर बनाउन लागेको सुनेर उसलाई अनौठो लाग्यो। चराहरूले कसरी घर बनाउँछन् होला, त्यो पनि रूखमा ? आदित्यलाई निकै खुल्दुली लाग्यो।
‘तोप चरालाई घर बनाउन आउँछ त बुवा ? ’ आदित्यले रूखमा झुन्डिरहेको चराहरूतिर हेरेर भन्यो।
‘आउँछ नि। कस्तो राम्रो कलात्मक घर बनाउँछ तोप चराले। त्यसैले त तोप चरालाई इन्जिनियर चरा भन्छन् नि’, बुवाले भन्नुभयो।
बुवाको कुरा सुनेर आदित्यलाई झन् अचम्म लाग्यो। इन्जिनियर चरा रे। चरा पनि इन्जिनियर हुन्छन् ?
उसलाई मान्छे मात्रै धेरै पढेर डाक्टर अनि इन्जिनियर बनेको थाहा छ। तर चरा इन्जिनियर बनेको अहिलेसम्म सुनेको थिएन।
त्यो रूखको हाँगामा सिमेन्ट कसरी लगाउने ? सिमेन्ट नलगाई इँट्टा कसरी टाँस्सिन्छ। इँट्टा नै नटाँसी घरको गारो कसरी बन्छ ? अनि गारो नै नबनाई कसरी घर बन्छ ? फेरि त्यस्तो रूखको हाँगामा घर कसरी अड्छ होला ? आदित्यको मनमा धेरै थरी प्रश्न उठे।
‘त्यो रूखको हाँगामा कसरी घर बन्छ बुवा ? ’ आदित्यले निकै उत्सुक भएर सोध्यो। आदित्यको प्रश्न सुनेर बुवा हाँस्नुभयो। उहाँले हाँस्दै भन्नुभयो, ‘मान्छेको जस्तो घर बनाउने होइन नि त।’
‘अनि कस्तो घर त बुवा ? ’ आदित्यको मनमा झन् धेरै खुल्दुली बढ्यो। तोप चराले कस्तो घर बनाउने होला भनेर जान्न उसलाई खुप मन लाग्यो।
‘मैले भनेर भन्दा पनि तिमी आफैंले हेरेर राम्रोसँग थाहा पाउँछौ। त्यसैले तिमी यहाँ बसेर हेरिराख। चराले घर बनाउँदै जान्छ। तिमी हेर्दै जाऊ। त्यसपछि थाहा पाइहाल्छौ तोप चराले कसरी घर बनाउँछ’, बुवाले भन्नुभयो।
‘एउटा कुरा चाहिँ थाहा पाइराख। भाले तोप चराले मात्रै घर बनाउँछ। पोथी तोप चराले कहिल्यै घर बनाउँदैन। उसले भाले तोप चराले घर बनाएको हेरि मात्रै रहन्छ। उसलाई मन परेन भने भाले तोप चराले फेरि अर्को घर बनाउँछ। त्यसैले पोथीलाई खुसी पार्न भाले तोप चराले सकेसम्म राम्रो घर बनाउने कोसिस गर्छ’ , बुवाले फेरि भन्नुभयो।
बुवाको कुरा सुनेर आदित्यलाई अचम्ममाथि झन अचम्म लाग्यो। एउटा चरा काम गरिरहने। अनि अर्को चरा चाहिँ हेरी मात्रै रहने। अँ, घर बनाएको ठीक भयो कि भएन भनेर हेर्ने होला। चराहरू पनि कस्तो चलाक हुँदा रहेछन्। आदित्यले मनमनै भन्यो।
बुवाले भन्नुभए जस्तै आदित्यले तोप चराले घर बनाएको हेरिरह्यो। अरू चराहरू यताउता मात्रै गर्दै थिए। एउटा तोप चराले भने घर बनाउन सुरु गरिसकेको रहेछ। तोप चराले मुखैले रूखको हाँगामा के–के घुसार्दै र तान्दै गरिरहेको थियो। एकैछिनमा त्यो चरा भुर्र उडेर गयो। त्यो चरा कहाँ जान्छ भनेर आदित्यले हेरिरह्यो।
त्यो चरा नजिकैको नर्कटघारीमा गएर बस्यो। त्यसले नर्कटको पातलाई मुखले काट्यो। अनि त्यसलाई धागोजस्तै पारेर चटक्क चुँडाल्यो। त्यही पात लिएर फेरि भुर्र उडेर आयो। रूखमा झुन्डिएर फेरि उसैगरी हाँगामा घुसार्दै र तान्दै लुगा सिएजस्तो सिउन थाल्यो।
आदित्यले तोप चराले घर बनाएको हेरिरह्यो।
तोप चराले घर बनाएको हेर्दाहेर्दै आदित्य थाक्यो। उसलाई भोक पनि लाग्यो। अनि साँझ पनि पर्यो। त्यसपछि आदित्य घरभित्र पस्यो र आफ्नो होमवर्क गर्न थाल्यो।
भोलिपल्ट पनि आदित्यले उसैगरी त्यो तोप चराले घर बनाएको हेर्यो। पर्सिपल्ट पनि हेर्यो। त्यसपछि पनि हेर्यो। करिब एक हप्तासम्म उसले त्यो तोप चराले घर बनाएको हेर्यो। अब त अरू तोप चराले पनि त्यहाँ घर बनाउन थालिसकेका छन्। त्यसैले त्यो काँगियो फूलको हाँगाभरि तोप चराका घरैघर देखिन थाल्यो।
हेर्दाहेर्दै कस्तो राम्रो चिटिक्कको घर तयार भयो। त्यो घर निकै ढाँचाकाँचा परेको छ। तर त्यो मान्छेको घरजस्तो होइन। पहिलापहिला हामीले पानी खाने माटोको सुराहीजस्तो। काँगियो फूलको हाँगामा तुर्लुङ्ग झुन्डिएको तोप चराको गुँड देखेर आदित्यलाई निकै अचम्म लाग्यो।
उसले पहिलो पटक यसरी चराले आफ्नो घर बनाएको देखेको थियो। त्यसैले ऊ निकै खुसी भयो। मान्छे मात्रै होइन, चरा पनि इन्जिनियर हुँदा रहेछन्। मान्छेले जस्तै आफ्ना लागि मिलाइमिलाइ राम्रो घर बनाउन जान्दा रहेछन्।
तोप चराले चिटिक्कको घर बनाएको देखेर आदित्यलाई पनि इन्जिनियर बन्न मन लाग्यो।
तोप चराको घरतिर देखाएर आदित्यको बुवाले भन्नुभयो, ‘त्यो घर जति सुन्दर छ त्यति नै सुरक्षित पनि छ। त्यसलाई हावाले झार्न सक्दैन। पानीले भिजाउँदैन। अनि घामले पोल्दैन। अनि त्यसमा सर्प पनि आउन सक्दैन। कागले पनि केही गर्न सक्दैन। यसो हुँदा पोथी तोप चराले ढुक्कले बच्चा कोरल्न सक्छे।’
‘किनभने त्यो इन्जिनियर चराले बनाएको घर हो नि। होइन त बुवा ? ’ आदित्यले भन्यो।
‘हो, तिमीले ठीक भन्यौ।’ बुवाले आदित्यको गाला मुसार्दै भन्नुभयो।
आदित्यले खुसी हुँदै भन्यो, ‘अब त म पनि इन्जिनियर बन्छु।’
आदित्यको कुरा सुनेर बुवा मुसुक्क हाँस्नुभयो।