४० किलो चरेससहित दुई भारतीय पक्राउ
तौलिहवा : कपिलवस्तुमा ४० किलो चरेससहित दुई जना भारतीय पक्राउ परेका छन्। भारत मोतिहारीका २६ वर्षका ताहिर अली र सोही स्थानका ३२ वर्षका मोहम्मद अलीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा आइतबार साँझ ६ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
मोहम्मद अली कृष्णनगरमा बस्दै आएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुपदार्थ चरेस झण्डै १२ लाख बराबरको बजार मूल्य रहेको प्रहरीले अनुमान गरेको छ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूलाई कपिलवस्तु नगरपालिका वडा नम्बर १ बहादुरगञ्ज जाने चोक तौलिहवाबाट पक्राउ गरेको हो।
नयाँ तरिकाबाट ४ वटा ग्लालेनमा झोलामा लुकाई ओसारपोसार गर्ने क्रममा ४० किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भई कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ।