सिमरा गोल्डकप : आर्मी सेमिफाइनलमा

सिमरा गोल्डकप : आर्मी सेमिफाइनलमा

सिमरा : साबिक विजेता त्रिभुवन आर्मी क्लबले सिमरामा जारी दसौं सिमरा गोल्डकपको पहिलो खेलमा रोमाञ्चक जित हात पारेको छ।

दोस्रो विशाल मेमोरियल गोल्डकपको उपाधि उचालेर वीरगन्जबाट सिमरा आइपुगेको आर्मीले अर्को विभागीय टोली एपीएफ क्लबलाई ४–२ गोलले पराजित गर्‍यो। जितसँगै आर्मी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।

अग्रता लिएको एपीएफविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै आर्मीले नतिजा आफ्नो पक्षमा पारेको हो। आर्मीविरुद्ध एपीएफले दुईपटक अग्रता लिए पनि सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिन पुग्यो। एपीएफले यसअघि वीरगन्जको विशाल मेमोरियल फाउन्डेसनलाई पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको थियो।

विभागीय भिडन्तमा आर्मीलाई जित दिलाउन टंक बस्नेतले दुई गोल गरे। यस्तै दीपक गुरुङ र सुदिल राईले एक-एक गोल गरे। एपीएफका लागि राजन गुरुङ र आशिष लामाले गोल गरेका थिए। 

खेलको ३३औं मिनेटमा राजन गुरुङको गोलबाट अग्रता लिएको एपीएफ सम्हालिन नसक्दा आर्मीले नतिजा उल्टाएको हो। सुदीप शिखराकाले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा राजनले हेड गर्दै बललाई जाली चुमाएका थिए।

एपीएफको अग्रतालाई आर्मीले धेरै बेर टिक्न दिएन। टंक बस्नेतले ४३औं मिनेटमा राजन गुरुङको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफमा लगातार अवसर गुमाएको एपीएफले दोस्रो हाफमा पुनः अग्रता लियो। आर्मीको रंक्षापक्ति अल्मलिएको फाइदा उठाउँदै एपीएफका आशिष लामाले खेलको ४७औं मिनेटमा टोलीलाई २–१ को अग्रता दिलाए। 

आशिषको गोलपछि आर्मी आक्रामक देखियो। खेलमा उत्कृष्ट पुनरागमन गर्दै आर्मीले दोस्रो हाफ भने नियन्त्रणमा लियो।

आर्मीले खेलको ७३औं मिनेटमा बराबरी गोल फर्कायो। दीपक गुरुङले डीबक्सभित्रको अवसरलाई सदुपयोग गरेका थिए। दीपकको गोलले खेल बराबरीमा पुगेपछि प्रशिक्षक नवीन न्यौपानेले गोलरक्षक विकेश कुथूलाई मैदानमा उतारे।

टाइब्रेकरलाई लक्षित गर्दै विकेशलाई मैदानमा उतारेको आर्मीले अन्तिम १० मिनेटको खेल आफ्नो नियन्त्रणमा राख्दै थप दुई गोल ग¥यो। ८६औं मिनेटमा सुदिल राई र इन्जुरी समयमा टंक बस्नेतले गोल थप्दै आर्मीलाई४–२ को सानदार जित दिलाए। आर्मीले अब आयोजक नवजनजागृति क्लबसँग फाइनल प्रवेशका लागि खेल्नेछ।

आर्मीका दीपक गुरुङ खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले अन्तिम समय सम्हालिन नसक्दा पराजय भोग्नु परेको बताए। बलियो आर्मीविरुद्ध उत्कृष्ट सुरुआत गर्दै अग्रता लिए पनि दोस्रो हाफमा सोचेजस्तो प्रदर्शन हुन नसकेको उनले बताए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातारको प्रतियोगिताका कारण खेलाडी थकित भएकाले जितका लागि संघर्ष गर्नुपरेको बताए।

प्रतियोगिताअन्तर्गत सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.