बर्बरिकलाई कस्ले मार्यो
काठमाडौ : बर्बरिक महाभारतका मिथकीय पात्र हुन्। लामो र बाक्लो कपाल भएका कारण उनको नाम बर्बरिक राखिएको थियो जो पाण्डव भीमका छोरा घटोत्चक र नागकन्या अहिलवतीका पुत्र हुन्।
महाभारतको कथाअनुसार उनी बाल्यकालदेखि नै युद्धकलामा पोख्त थिए। शस्त्रअस्त्र र धनुर्विद्यामा निपुर्ण थिए। बर्बरिकले भगवान् शिवको कठिन तपस्या गरी अभेद्य बाण प्राप्त गरेका थिए। युद्धकौशलमा तेज बुद्धिका बर्बरिक महाभारत युद्धमा कृष्णको कुटिल चालमा परी आफ्नो शिर कटाउन बाध्य पारिएका पात्र हुन्। महाभारत युद्धको दाउपेचमा परे उनी।
यस्तै नेपाली राजनीतिमा बर्बरिक नामले चिनिन्छन् जननेता मदन भण्डारी। उनी नेपाली राजनीतिका एक हस्ती हुन्। उनको बौद्धिकता र वाकपटुतालाई आज पनि नेपाली राजनीतिमा स्मरण गरिन्छ। नेकपा मालेको भूमिगत राजनीतिमा उनी बर्बरिक, भीष्मका नामबाट चर्चित थिए। २०५० सालमा उनको सडक दुर्घटनामा मृत्यु भयो। आजसम्म पनि उनको मृत्युको रहस्य खुलेको छेैन।
उनको जीवनमा आधारित भएर नेता प्रदीप नेपालले बर्बरिक उपन्यास लेखेका हुन्। यही उपन्यासको नाट्य रुपान्तरणलाई झोराहाट नाट्य समूह मोरङले मञ्चमा उतारेको छ। थापागाउँस्थित कुञ्ज थिएटरमा माघ २ गतेदेखि मञ्चन भएको यो नाटक माघ १२ गतेसम्म प्रदर्शन हुनेछ।
नाटक बर्बरिकका कलाकारले जीवन्त अभिनय गरेका छन्। कलाकारहरू झोराहाट नाट्य समूह, मोरङबाटै काठमाडौं आएका हुन्। सुदीपजंग कार्की, विमल सम्बाहाम्फे, अनु श्रेष्ठ, निराशा ढुंगेल, दीक्षा चौधरी, दीपा पोखरेल, दिव्या रेग्मी, प्रदीप सरदार, विजय थारू, सुरज माझी, लकेश राई, सुलभ पाण्डे, विजय नेपाल, दिवाकर घिमिरे, सुनिता कट्टेल, प्रयाग न्यौपाने र भरत गुरागाईं नाटकका कलाकार हुन्। भरत गुरागाईंले बर्बरिकलाई नाट्य रूपान्तरण गरेका हुन्।
२०४६ सालदेखि दासढुंगा दुर्घटनाको कालखण्ड समेटेर बर्बरिक नाटक मञ्चन गरिएको छ। नाटकमा त्यो समयको राजनीतिक र सामाजिक अवस्था चित्रण गरिएको छ। रहस्यको रूपमा रहेको मदन भण्डारीको मृत्युको वास्तविकता उजागर हुनुपर्छ भन्ने मान्यताले बर्बरिक नाटकलाई मञ्चमा उतारेको झोराहाट नाट्य समूहको दाबी छ।
‘हामीहरू इतिहास खारेज गर्ने मान्यतामा विश्वास गर्दैनौं। समय गतिशील छ र राजनीति पनि गतिशील हुनुपर्छ। गएको जनआन्दोलनले हामीलाई खण्डित नेपाल दिएको होइन। हामीले सिंगै नेपाल पाएका हौं। पूर्णताको यो इतिहासमा राजा यलम्बर पनि अटाउनुपर्छ। चाँगुनारायण, पृथ्वीनारायण र मानदेवसँगै देवशमशेर पनि अटाउनुपर्छ। सरकारले पनि आफूलाई इतिहासमा जीवित राख्ने हो भने त्यस्तै कर्म गर्नुपर्छ भनेर सुझाव दिन चाहन्छु’, बहुदलीय जनवादका प्रणेता मदन भण्डारीले तत्कालीन राजा वीरेन्द्र शाहलाई दिएको सुझाव थियो यो।
देशका सर्वाेच्च पदमा आसीन तत्कालीन राजालाई उनले सार्वजनिक भाषणबाटै श्रीपेच खोलेर चुनावमा आउन च्यालेन्ज गरेका थिए। २०४८ सालको आम निर्वाचनमा काठमाडांै क्षेत्र नम्बर १ र ५ बाट उनी उम्मेदवार बनेका थिए। उनले चाबहिल गणेशस्थानको चौरबाट भनेका थिए ‘राजा, तिमीले जनताको अधिकारमाथि गिद्धेदृष्टि लाउँछौ भने श्रीपेच खोल र चुनावमा आउ, हामी तिमीलाई जनताको बलमा हराइदिन्छौं। नत्र किलोमा बाँधिएको बाख्राजस्तो जनताले छुट्ट्याएको चार लाख खाऊ तर जनताको अधिकारमा गिद्धेदृष्टि नलगाऊ।’
कुञ्ज थिएटरको हल। एक हूल राजनीतिक कार्यकर्ता पाटीको महाधिवेशनको तयारी गर्दैछन्। ‘सानो एक झिल्कोबाट बन्दै गर्छौं लाखांै जवान’ पृष्ठभूमिमा यो गीत बजिरहेको छ। जनवादी युद्धमा होमिएका युवायुवती अनेक पहिरनमा मञ्चमा घुमिरहेका छन्। मञ्चको बीचमा कालो वस्त्रधारी एक मानिस घेरिएका छन्। उनी हुन् बर्बरिक अर्थात् मदन भण्डारी।
नाटक अवधिभर नै मदन भण्डारीका आवाज बजिरहन्छ। उनको जोशिलो र ओजिलो भाषण सुन्न पाउँदा नाटक हेर्ने दर्शक मन्त्रमुग्ध बन्छन्। उनी भूमिगत राजनीतिमा हुँदा जनताका घरमा गएर काम सघाएको, अन्यायविरुद्ध आवाज उठाएको दृश्य देखिन्छ। जनताको अत्यधिक माया पाउन सफल मदन भण्डारीले पूरा आयु बाँच्न पाएनन्।
२०४७ सालको संविधानले राजा संविधानभन्दा माथि रहने व्यवस्था गर्यो। भूमिगत राजनीति गरिरहेका भण्डारीलाई यो सह्यै भएन। उनले राजा पनि कानुनभन्दा मुनि हुनुपर्छ भन्ने तर्क राखे। दरबार र उनीबीच वैचारिक टकराव भइरह्यो। नेता प्रदीप नेपाल भण्डारीको मृत्यु यही टकरावको बीचमा भएको आकलन गर्छन्।
नाटक ‘बर्बरिक’ मा मदन भण्डारीका धेरै किस्सालाई समेट्ने प्रयास गरिएको छ। तर उनको मृत्यु सम्बन्धमा निचोडमा पुग्न सकेको छैन। उनको हत्या कस्ले गर्यो त ? प्रश्न छोडेरै नाटक सकिन्छ। दुईवटा लास कलाकारले मञ्चमा बोकेर हिँडेको दृश्य वास्तवमै कारुणिक छ।
उनकै पार्टी अहिले सरकारमा छ। पटकपटक सरकारमा पुगेका उनका सहयात्री र दुई पटकसम्म राष्ट्रपति बन्न सफल उनकी श्रीमती विद्या भण्डारी पनि उनको मृत्युका कारणबारे मौन छन्। मृत्युसँगै मृत्युको रहस्य पनि मरेर किन जान्छ ? नाटकका निर्देशक जीवन बरालले दर्शकलाई नै प्रश्न तेस्र्याएका छन्।
नाटकमा पत्रकारको भूमिकामा एक व्यक्ति देखा पर्छन्। उनी मदन भण्डारीको प्रोफाइल लेखेर जनताका घरघरमा बाँड्न चाहन्छन्। भण्डारीको मृत्युको खबर पाएपछि पत्रकारले टाउको समाउँदै विलाप गर्दै बोल्छन्, .....
एउटा मान्छे हुन्छ, एउटा योद्धा हुन्छ।
मान्छे मर्छ, स्वास्नी विधवा हुन्छे, छोराछोरीले बरखी बार्छन्।
योद्धा मर्छ, देश विधवा हुन्छ, इतिहासले बरखी बार्छ।