साना हतियारको बिगबिगी

साना हतियारको बिगबिगी

बुटवल : प्रदेश ५ का तराई जिल्लामा साना हतियार छ्यापछ्याप्ती बढेको छ । सँगै यसबाट हुने अपराध पनि बढ्दो छ । संघीयता कार्यान्वयन चरणमा संक्रमणको फाइदा उठाउँदै हतियारधारीहरू तस्करी र असुलीमा संलग्न छन् । पछिल्लो एक वर्षमा बढ्दो हत्या घटनाले पश्चिम तराई फेरि अशान्त बन्दै गएको देखिएको छ ।

प्रहरी कमजोर बन्दा अपराध मौलाएको सरोकारवाला बताउँछन् । कतिपय तस्करी र असुलीमा प्रहरीकै संलग्नता देखिएकाले अपराध घटना झनै रहस्यमयी एवं त्रासदीपूर्ण बनेको छ । तराई क्षेत्रमा उद्योग चलाउने उद्योगी र प्रतिष्ठित व्यक्ति साना हतियार र असलीको चंगुलमा फसेका छन् । सामान्य रिसइबीका घटनामै हतियार प्रयोग हुनुले प्रहरी निगरानी असफल जस्तै देखिएको छ ।

मंसिर ७ गते कपिलवस्तु शुद्धोधनका राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको हत्या भयो । सामान्य रिसइबीमा स्थानीय अजित पाण्डेले उनको हत्या गरे । उनको हत्यामा भारतीय बजारमा सजिलै पाइने सानो हतियार प्रयोग भएको थियो । अभियुक्त फरार छन् ।

पुस २९ मा भैरहवामा इन्काउन्टरमा मारिएका रूपन्देही सिद्धार्थनगर–६ का केदार सहनीको साथबाट पनि यूएसए अटोमेटिक पेस्तोल फेला पर्‍यो । कुख्यात अपराधी उनले प्रहरीमाथि नै गोली चलाएपछि मारिए । यस्तै ०७५ जेठ २ गते राति नलकटुवा पेस्तोलले कोटहीमाई गाउँपालिका–४ का ४१ वर्षीय घर निर्माण गर्ने मजदुर रामकेश धवलको हत्या भयो । यी घटनाले साना हरियारको बिगबिगीलाई प्रस्ट पार्छन् । चर्चित गुन्डानाइके मनोज पुनदेखि हालसम्मका अपराधले फेरि साना हतियार बढेको देखिएको छ । मनोज पुन मारिँदासमेत अटोमेटिक पेस्तोल बरामद भएको थियो ।

सामान तस्करदेखि हत्या धम्कीमा फिरौती उठाउने काममा साना हतियार प्रयोग बढेको छ । यसले सर्वसाधारण त्रासमा छन् । अघिल्लो वर्ष फागुन २८ मा भैरहवाका व्यापारी हरिश सेठियामाथि गोली प्रहार गरेर भाग्ने क्रममा भारतीय सीमावर्ती सहर नौतनवाका ४६ वर्षीय रमजान मुसलमान ‘सुटर’ पक्राउ परे । उनको साथबाट पनि नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक थान बरामद भएको थियो।

हतियार छ्यापछ्याप्ती भए पनि प्रहरीमा निगरानी गर्ने प्रविधि छैन । ‘पछिल्ला घटनाले हतियार बढेको देखिन्छ’, रूपन्देहीका एक प्रहरी अधिकृत भन्छन्, ‘खुला सिमाना र निगरानीको कमजोरीको फाइदा अपराधीले उठाएका छन् ।’

अपराध बढ्दै जाँदा सर्वसाधारणमा त्रास छ । उद्योगीहरू पनि चन्दाबाट आजित छन् । ‘प्रहरीलाई खबर गर्‍यो, धम्की आउन छाड्दैन, चन्दा नदिए मार्छन् कि भन्ने डर’, लुम्बिनी कोरिडोरका एक उद्योगीले भने, ‘व्यवसाय गरेर बस्नसमेत कठिन भयो ।’

रूपन्देहीका पाँचमध्ये तीन घटनामा नल कटुवा (देशी) पेस्तोलको प्रयोग भएको छ, जुन भारतमा सहजै पाइन्छ । यी नलकटुवामध्ये दुईवटा अपराधिक घटनामा प्रयोग भएको र एउटा लिएर हिँड्ने बेला बरामद भएको हो । बाँकी दुई हतियार अटोमेटिक पेस्तोल हुन्, जुन जिल्लामा भएका दुईवटा इन्काउन्टर घटनामा कुख्यात अपराधीले प्रयोग गरेका थिए ।

तर्साउने र लुटपाट जस्ता अपराधमा सहज रूपमा उपलब्ध हुने नल कटुवा पेस्तोल, रिभल्बर जस्ता साना हतियार प्रयोग हुने गरेको जानकार बताउँछन् । सीमा क्षेत्रमा पर्ने जिल्लामा हुने ठूला अपराधका अधिकांश घटनामा भारतमा निर्मित साना हतियारको प्रयोग हुने गरेको प्रहरीको भनाइ छ ।

घटनामा फेला पर्ने अधिकांश हतियार अपराधीले भारतबाट नै ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी कुमोद ढुंगेलले बताए । ‘खुला सिमाना रहेकाले अपराधीहरूले भारतबाट सहजै हतियार ल्याउने गरेका छन् । अधिकांश घटनाको अनुसन्धानमा ती हतियार पाइँदै आएको छ’, उनले भने ।

नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियाका सीमाक्षेत्रमा छ्यापछ्याप्ती हतियार देखिने गरेका छन् । सुरक्षा निकायले भने एकाध हतियार मात्रै पक्राउ गर्दै आएको छ । कतिपय घटनामा सीमावर्ती क्षेत्रका प्रहरी चौकीका इन्चार्जसमेत संलग्न रहेको स्रोतले बतायो । गोरुदेखि ढुंगागिटी तस्करीमा प्रहरीले सघाउँदा रूपन्देही, कपिलवस्तु, बाँकेमा हतियार र अपराध मौलाएको स्थानीयको दाबी छ । हतियार हुनेले चन्दा फिरौतीको धन्दा चलाउँदै आएका छन् ।

वारि आक्रमण, पारि लुकामारी

कात्तिक तेस्रो साता बर्दियाको बढैयाताल गाउँपालिका–३ गोब्रेपुरस्थित ३५ वर्षीय मोहनलाल खटिकको घरमै सुतिरहेको अवस्थामा गोली हानी हत्या भयो । लेनदेन तथा पुरानो रिसइबीका कारण पशु व्यवसायमा संलग्न खटिक निद्रामै मारिए । उनको हत्यामा संलग्न हरियार र भारतीय सुटर पक्राउ पर्न सकेका छैनन् ।

भैरहवामा भएको घटनामा पनि भारतीय सुटर नै देखिन्छन्, जो गोली प्रहारपछि सहजै सीमापार पुग्छन् । सीमाक्षेत्रमा प्रहरीको कमजोर निगरानी र ग्रामीण क्षेत्रमा शून्य उपस्थितिले अपराधी उम्किने गरेका छन् । मनोज पुन काण्डका अभियुक्त त्यही मौका छोप्दै बाहिरिएको तथ्य प्रहरीसमक्ष छ । तर अहिलेसम्म सुधार गरिएको छैन ।

नेपालमा हुने हत्यामा भारतीय मानिस र हतियार प्रयोग भएको प्रहरी स्विकार्छ । तर उसले नियन्त्रण गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली भन्छन्, ‘साना हतियार सीमापारिबाटै बाइक तथा शरीरमा लुकाइछिपाइ भित्रिन्छन् । त्यस्ता हतियार डरधम्की, हत्यालगायत अवैध कार्ममा प्रयोग हुने गरेका छन् ।’

बर्दियामा गत वर्ष प्रहरीले दुई थान कटुवा पेस्तोल र एक थान रिभल्बरसहित तीन जनालाई समात्यो । यस वर्ष साउनदेखि पुससम्म दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग गरिने दुई थान गोलीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपाली सीमामा जाँच गर्ने अत्याधुनिक प्रविधि नहुँदा समस्या भएको प्रहरीको भनाइ छ । छामछुमकै आधारमा जाँच गर्नुपर्दा हतियार भेटिने सम्भावना कम हुने उनीहरू बताउँछन् । कपिलवस्तु प्रहरीले तीन वर्षमा पाँच वटा हतियार बरामद गरेको छ । सबैभन्दा बढी हतियार कपिलवस्तु र रूपन्देहीबाट भित्रिने गरेको बताइन्छ । कपिलवस्तुको मर्यादपुर क्षेत्रका विभिन्न चोरनाकाबाट अवैध हतियार भेटाउने गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

हतियारसहित समातिनेहरू सामान्य धरौटीमा छुट्ने गरेकाले समेत अपराध मौलाएको सरोकारवालाको भनाइ छ । बाँके प्रशासनले यो वर्ष हतियारसहित भेटिएका जाजरकोट भेरी नगरपालिका–९ का २३ वर्षीय अमृत विकलाई ८० हजार र राप्ती सोनारी गाउँपालिका–२ कुसुम गाउँका हिरालाल खुनालाई एक लाख धरौटीमा रिहा गरेको छ ।

(बर्दियाबाट यादव आचार्य, बाँकेबाट शंकरप्रसाद खनाल, रूपन्देहीबाट सलमान खान र कपिलवस्तुबाट दीपक आचार्यको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.