सडक सर्भेमै झमेला

सडक सर्भेमै झमेला

गाईघाट : प्रदेश १ सरकारले प्राथमिकतामा राखेको अन्तरजिल्ला सडक सर्भेकै क्रममा रोकिएको छ। उदयपुर र खोटाङ जोड्ने गरी सुरु गरिएको ३० किलोमिटर सडकको काम प्रदेशले समन्वय नगरेको भन्दै चौदण्डीगढी नगरपालिकाले रोकेको हो।

प्रदेश १ सरकारले आगामी वर्ष प्रदेश २ अन्तर्गत सप्तरीको महुली जोड्ने गरी सडक योजना अघि सारेको थियो। पूर्वाधार विकास कार्यालयका इन्जिनियर रमेश कार्कीका अनुसार यो वर्ष चौदण्डीगढी–९ बाट निर्माण सुरु गर्ने गरी काम अघि बढाइएको थियो। अमिलिखर्कबाट–हडिया–ज्यामिरे–सातधारे–बेल्टार–साउने–धाप्लाङ हुँदै खोटाङ जोड्ने लक्ष्य छ। यो सडक समन्वय अभावसँगै राजनीतिक स्वार्थका कारण रोकिएको स्थानीयको बुझाइ छ। उनीहरूले यसलाई प्रदेश र स्थानीय सरकारबीच तालमेल मिल्न नसकेको भनेर अर्थ्याएका छन्।

प्रदेशले यो वर्ष खर्च गर्ने गरी २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसलाई बहुवर्षीय योजनामा राखिएको छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रदेश सांसद विमल कार्कीको भनाइ छ। उनका अनुसार आठ मिटर चौडाइमा कालोपत्रे र दुवै साइडमा नाला निर्माण गरी ३० किलोमिटर सडक बनाउने योजना छ।

चौदण्डीगढीका मेयर खगेन्द्र राईका अनुसार कहाँ, कताबाट सडक निर्माण गर्ने भनेर प्रदेश सरकारले समन्वय गरेको छैन। ‘आफूखुसी सर्भे भएको सुनें’, उनले भने, ‘पूर्वाधार विकास कार्यालयका डिभिजन इन्जिनियर जितेन्द्रकुमार कर्ण र इन्जिनियर रमेश कार्कीसँग बुझ्दा केही अस्पष्ट देखियो।’

प्रदेश सरकारले आफूअनुकूल कर्मचारी खटाई काम सुरु गरेको विषयमा किन समन्वय नगरेको भन्दा कर्ण र कार्कीसँग भनाभन चलेको उनले सुनाए। त्यसपछि उनीहरुले नै काम रोकेको दाबी उनले गरे। सडकको नाममा हडिया लेखिएकाले वडा नम्बर १० को कार्यालय घुमाएर हडिया बजार छुवाई लैजानुपर्ने उनले बताए। वडा नम्बर ९ र १० साविकको हडिया गाविसमा पर्छन्। आफ्नो वडालाई छुवाएर लैजाने गरी प्रदेश सरकारसँग आफूले योजना माग गरेको ९ का वडाध्यक्ष प्रकाश राउतले बताए।

नगर कार्यपालिकाको आकस्मिक बैठक सोमबार बसेको थियो। बैठकमा वडाध्यक्ष राउत अनुपस्थित थिए। बैठकले १० नम्बर वडा कार्यालय हुँदै हडिया बजार घुमाएर लैजाने गरी सडक निर्माण गर्न दिने निर्णय गरेको मेयरले बताए। कर्णको मोबाइल स्विच अफ छ। इन्जिनियर कार्कीले भने राजनीतिक स्वार्थका कारण काम रोकिएको बताए। ‘सडकको सात किलोमिटर सर्भे सकिसकेका थियौं। मेयरले नगरपालिकासँग समन्वय नगर्ने अनि सडक कहाँबाट कता लैजान खोजेको कुनै जानकारी छैन भन्दै हामीमाथि खनिनुभयो,’ उनले भने, ‘त्यसपछि काम अघि नबढाउन मेयरले नै निर्देशन दिनुभयो।’

प्रदेश सांसद कार्कीले भने जनताको विकास निर्माणको चाहनालाई खुला मनले सहयोग गर्नुपर्ने बताए। ‘प्रदेश सरकारको योजना रोक्ने आँट मेयरले गर्न हुँदैन’, उनले भने, ‘यस्ता योजना सञ्चालनमा प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ।’

पहिलो चरणकै काम रोकिएपछि स्थानीय आक्रोशित बनेका छन्। सडक निर्माणले ठूलो राहत पुग्ने स्थानीय शम्भु पौडेलको भनाइ छ। सडक भए कृषि सामग्री निर्यातदेखि औषधोपचार गर्न सहज हुने खोटाङका सर्वजित राईले बताए।

राजनीतिक दाउपेच

प्रदेश सांसद कार्की तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् भने चौदण्डीगढीका मेयर राई कांग्रेसबाट। दुवै जना फरक–फरक पार्टीका भएकाले विकास निर्माणमा अवरोध पुगेको स्थानीयको बुझाइ छ। ‘विकास निर्माण जनताको आधारभूत आवश्यकता भएकाले विकास निर्माणमा राजनीति गर्न हुँदैन’, स्थानीय कुमारसिंह कार्कीले भने। विकास साझा भएकाले राजनीतिक स्वार्थका आधारमा जनतालाई बाधा पु¥याउन नहुने उनको भनाइ छ।

सांसद कार्कीले विकासको जस नेकपाले लिने भएकाले कांग्रेस समर्थकले अवरोध पु¥याएको आरोप लगाए। मेयर राईले भने प्रदेश सरकारबाट आएका अन्य केही योजना सांसदले आफू र आफ्नो पार्टीका कार्यकर्ताअनुकूल बनाउने गरी संशोधनको तयारी गरेको आरोप लगाए। ठेक्का लागेको झोलुंगे पुललाई पक्की बनाउने र बेल्टार बजारको सिटीहल उत्तर हुँदै पानीट्यांकी जाने सडक पश्चिमबाट लैजाने गरी संशोधनका लागि सम्बन्धित मन्त्रालयमा निवेदन दिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.