५२ वर्षपछि थबाङमा ‘नचाउरु नाच’

५२ वर्षपछि थबाङमा ‘नचाउरु नाच’

रोल्पा : रोल्पाको थबाङका नयाँ पुस्ता मौलिक संस्कृति जगेर्नामा जुटेका छन्। उनीहरूले ५२ वर्षअघि नै लोप भएको मगर जातिमा लोकप्रिय मानिने ‘नचाउरु नाच’ यसै साल ब्यूँताएका छन्।

माघमा यहाँ नचाउरु नाचियो। युवाले एक महिना लगाएर नचाउरु नाच सिकेका हुन्। ‘लोप भएको नाच पुस महिनाभर सिकाइयो’, नचाउरु नाचका गुरु ६८ वर्षीय दय रोकामगरले भने, ‘हामी युवा हुँदै नाच्न छोडिएको नाच अहिलेका युवालाई सिकाउन पाउँदा खुसी लागेको छ।’ उनका अनुसार थबाङमा यो नाच २०२३ सालबाट नाच्न छाडिएको थियो। रोकामगर उति बेला १६ वर्ष थिए। उनीजस्तै दर्जनौं युवाले नाच सिकेका थिए। नाच्न जानेका दौंतरी सबैजसो मरिसकेका छन्। बाँचेका तीनजनालाई गुरु मानेर युवाहरू नाच सिक्न तयार भएका हुन्।

थबाङ गाउँपालिका–१, जुरबाङका ६९ वर्षीय हीरालाल रोकामगर पनि बुढ्यौली शरीर ढल्काउँदै नाच सिकाउन खटिए। नाचमा पोख्त रोकामगर स्मरण गर्छन्, ‘रुकुमको महत, केङ्सी र रोल्पाको थबाङका मगर जातिमा नचाउरु नाच लोकप्रिय मानिन्थ्यो।’ पञ्चायती व्यवस्थाका मुखियाले प्रतिबन्ध लगाएपछि नाच लोप हुन पुगेको थियो।

विसं १८१८ अघिदेखि नै यस भेगमा नचाउरु नाचिँदै आएको इतिहास छ। विशेष उत्सव, पर्व र खुसियालीमा नाचिने नचाउरुमा १२ देखि २० जना युवा हुन्छन्। वाद्यवादन टोली अलग्गै हुन्छ। दिन र रातमा फरकफरक पहिरनमा नाचिन्छ। कलात्मक, मौलिक र साहसिक प्रकृतिको नचाउरु अहिले थबाङमा लोकप्रिय बनिरहेको युवा अमित घर्तीमगर बताउँछन्।

मगर जातिको बाहुल्य रहेको यहाँ विविध मौलिक संस्कृति छन्। भुम्या, ढिकुरे, पैस्यारु, मयूर नाच यहाँका मौलिक नाच हुन्। ३५ वर्षअघि ढिकुरे नाच पनि लोप भएको थियो। ढिकुरे नाचको पनि पुनर्जागरण गरिएको छ। ‘यसअघि विभिन्न उत्सवमा थबाङ पुग्ने वाह्य र आन्तरिक पर्यटकले यी दुई नाच देख्ने अवसर पाउँदैन थिए। अब भने मौलिक नाच हेर्न सकिने भएको छ’, थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादु घर्तीमगर भन्छन्, ‘मौलिक संस्कृति जगेर्नाका लागि पहल थालिएको छ। मगर सांस्कृतिक समूह बनाएर व्यवस्थित गर्दैछौं।’

कसरी नाचिन्छ

मादल, डौडी र झ्यालीको तालमा नचाउरु नाचिन्छ। नाचको अगुवाको पछाडि लहरै घेरा बनाएर १२ देखि २० जना युवा नाच्छन्। दिनमा नाच्दाको पहिरन र ताल फरक हुन्छ भने रातको पहिरन महिलाले लगाउने घाँघर शैलीको हुन्छ। रातको नाचमा पुरुषले नै महिलाको रूप धारण गर्छन्। ‘नचाउरु घन्टौं नाचिन्छ’, गुरु रोकामगर भन्छन्, ‘माघेसंक्रातिपछि हप्तौं नाचेपछि नाच सेलाइन्छ।’

चरणा, चौबन्दी, ठिसनी, लजौती, पटुका, औंलामा मुन्द्री, लवेडा, घाँघरमा सजिएर यो नाच फुर्तिसाथ नाचिन्छ। लाठी, घुङ्रो, भुजेली, तरबार, मानव मुखुण्डो नाचमा प्रयोग हुन्छन्। चारजना युवाले मुखुण्डो लगाएर नाचमा भाग लिन्छन्। उनीहरूलाई ‘जोगी’ भन्ने चलन छ। उनीहरूले नाचमा हाँसोमजा गर्न सघाउँछन्। तरबारलाई कलात्मक रूपमा नचाउन सक्नु नाचको विशेषता हो। गुरुको शैली पछ्याउँदै वाद्यवादनको तालमा नाचेको निकै आकर्षक देखिन्छ।

नृत्य टोलीमा अगुवा, सिंगारु, रौली, पछाउरे र जोगी महत्त्वपूर्ण मानिन्छन्। चैते अस्टमीमा यो नाच प्रारम्भ गरिन्छ। असोज र कात्तिक महिनामा रिहर्सल गरी मंसिर पुसमा टाढाटाढाको गाउँसम्म नाच देखाउन जाने प्रचलन थियो। माघेसंक्रान्तिमा चेली पुजेपछि नाचगान गरी नचाउरु विसर्जन गरिन्छ।

दिन र रात गरी ४४ तालमा नाचिने नचाउरुमा तरबारको धारमाथि टेकेर नाचिने दृश्य निकै जोखिमयुक्त हुन्छ। काठको टुप्पो पेटमा अड्याएर नाचेको दृश्य रोचक मात्र होइन, भय मि िश्रत हुन्छ। साहसिक नृत्यको कोटीमा पर्ने नचाउरु र थबाङमा प्रचलित मौलिक संस्कृतिको जगेर्ना गर्न गाउँपालिकाले माघी महोत्सव र गाउँपालिका कप आयोजना नै गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.