दाङमा पहिलो पोल्ट्री महोत्सव
दाङ : दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीको मूल आयोजनामा प्रदेशस्तरीय पोल्ट्री महोत्सव तथा प्रदर्शनी बिहीबार सुरु हुँदै छ ।
बिहीबार सुरु हुने उक्त महोत्सव ५ नम्बर प्रदेशस्तरीय प्रहिलो पोल्ट्री महोत्सव हो । घोराहीस्थित कृषि सामग्री कम्पनीको प्रांगणमा सुरु हुने महोत्सवको तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
महोत्सवको उद्घाटन बिहीबार दिउसो १ बजे कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले गर्ने सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीले जानकारी दिए ।
महोत्सव उद्घाटन अघि बुधबार बिहान ११ बजे घोराही बजारमा विभिन्न संस्कृति झल्कने झाँकीसहितको ¥यालीको आयोजना गरिएको थियो । ‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नारा दिइएको महोत्सवमा पोल्ट्री सम्बन्धी प्रर्दशनी र यो व्यवसायमा सम्बन्धित सचेतनामूलक कार्यक्रम पनि हुने सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले बताए ।
माघ २० गतेसम्म चल्ने महोत्सवमा बाल उद्यान पनि यहाँको आकर्षण बन्ने छ । साथमा चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती पनि रहने बताइएको छ । महोत्सव अवधिभर करिब २ लाख दर्शक अवलोकनका लागि आउने र २ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।