खाजापसलकाे आवरणमा यौनधन्दा

खाजापसलकाे आवरणमा यौनधन्दा

काठमाडौंका विभिन्न स्थानमा खुलेआम यौन व्यवसाय भइरहेका छन् । गैर कानुनी रुपमा यौन व्यवसाय सञ्चालन गरेका ठाउँहरुमा गएर अन्नपूर्ण सम्पूर्णले लाइभ स्टोरी (खाजापसलकाे आवरणमा यौनधन्दा) तयार पारेको छ ।

काठमाडौँ महानगरपालिकाको भित्री भागमा पर्ने पुरानो बजार क्षेत्र नरदेवी भन्नेबित्तिकै हामी सबैलाई नरदेवीको मन्दिर र देशको पुरानो नरदेवी आयुर्वेद अस्पतालको सम्झना आउँछ। काठमाडौँको पुरानो बस्ती भएकाले यो क्षेत्रमा पुराना घरहरू अहिले पनि देख्न सकिन्छ। नरदेवी मन्दिरदेखि ताम्सीपाखा ओरालोसम्म करिब पाँच सय मिटरको दूरीमा टेको लगाएर अड्याइएका थुप्रै घर छन्।

२०७२ सालको महाभूकम्पपछि अझै जीर्ण भएका, तर नढलेका यस्ता घर नरदेवी मन्दिर हुँदै ताम्सीपाखातिर ओरालो लाग्ने धेरैका आँखामा परिरहेका हुन्छन्। टेको लगाएर अड्याइएका यी घर नियाल्दै दिनहुँ हजारौँ मानिस यो बाटो हुँदै ओहोरदोहोर गरिरहन्छन्। 

निकै पुराना देखिने, टेको लगाइएका, झ्याल तथा ढोका बन्द भएका, घरको छाना तथा झ्यालका कापमा घाँस उम्रिएर सुकेको देख्दा यी घरमा कोही पनि बस्दैनन् होला भन्ने लाग्छ। कतिपय पुराना घरमा मानिस बस्दैनन् पनि। केही यस्ता घर छन्, जसको एउटा ढोका खुला हुन्छ र त्यसमा मैलो न मैलो पर्दा झुण्डिरहेको हुन्छ। तर, त्यो ढोकाबाट भित्र पस्ने र बाहिर निस्कनेहरू भने बाक्लै हुन्छन्। विभिन्न उमेर समूहका पुरुषहरू आउजाउ गरिरहने यी जीर्ण घरभित्र हुने गतिविधि नियाल्ने उद्देश्यले ‘अन्नपूर्ण सम्पूर्ण’ टिमले गत बिहीबार, शुक्रबार र शनिबार निगरानी गरेको थियो। निगरानीका क्रममा देखिएका दृश्य यस्ता छन्ः   

निगरानी नम्बर १ 

नरदेवी मन्दिरबाट ताम्सीपाखातिर मोडिनेबित्तिकै कुनामा एउटा मिठाईपसल छ। मिठाईपसलसँगै स्वयम्भू आयुर्वेदिक ड्रग सेन्टर छ। योसँगै जोडिएको छ, तीनतले जीर्ण घर। यो घरको ठीक अगाडि तारैतारले बेरिएको बिजुलीको खम्बा छ। काठका पुराना झ्यालहरू बन्द छन्। घरको बाहिरी भाग ठाउँ–ठाउँमा भत्किएको छ। इँटाहरू उप्किएर खस्न लागेका देखिन्छन्। बाहिरबाट घरको स्वरूप हेर्दा भित्र पस्न डरमर्दाे छ। हेर्दाहेर्दै गल्र्यामगुर्लुम भएर ढल्लाजस्तो यो घरको एउटा ढोका भने खुलै देखिन्छ। ढोकामा झुण्डिएको छ, सेतो रंगको मैलो पर्दा। हरियो खुर्सानी र कागतीको माला पनि झुण्ड्याइएको छ। ढोकाबाहिर एउटा बेन्च राखिएको छ।  

 

यो घरको ठीक अगाडि घाम तापेको बहाना गरेर हामीले यो घरभित्र आउजाउ गर्ने मानिसलाई केही बेर नियाल्यौँ। जब कोही पुरुष घरभित्र प्रवेश गथ्र्यो, एक जना युवा ढोकानजिकै राखिएको बेन्चमा आएर ढोकामा बार लगाएर खुट्टा तेर्साएर बस्थे। केही बेरको अन्तरालमै चार जना पुरुष भित्र पसे र केही छिनपछि बाहिर निस्के। यस्तो थोत्रो घर, जसमा खुला भनेको एउटा ढोका छ, त्यसमा यति धेरै आउजाउ हुनुको रहस्य पत्ता लगाउन हामी पनि यो घरभित्र प्रवेश गर्‍यौँ। निगरानीका लागि खटिएका सम्पूर्णकर्मीमध्ये दुई जना यो घरभित्र गयौँ।

भित्र पस्दा ढोकामा सेन्ट्री बस्ने युवा र दुई महिला थिए। मुश्किलले चार जना अट्ने बेन्च र एउटा टेबल राखिएको थियो। हामीले कालो चिया अर्डर गर्‍यौँ। खाजा खाने निहुँ गर्दै टेबलमाथि राखिएका परिकार नियाल्यौँ। साना भाँडामा आलु, चना, कुखुराको पांग्रा र खुट्टा, उसिनेको अण्डा र चिउरा राखिएका थिए। हामीले खाजा खानुपर्‍यो भन्दा ‘खाजा त यहाँ खासै केही छैन, खाजा खान कोही आउँदैनन्’ भन्दै ती युवा चिया पकाउन लागे। हामी चियाका लागि पर्खिंदै गर्दा दुई अधबैँसे पुरुष प्रवेश गरे। हामीलाई देखेर उनीहरू अलमलिएपछि हामीलाई भित्रपट्टि पनि ठाउँ छ भन्दै बस्ने ठाउँ देखाइयो। हामी भित्र बसेर कालो चिया खान थाल्यौँ। भित्र पसेकाहरू थोरै समय पनि अलमल नगरीकन भर्‍याङ उक्लिए। केही समयपछि निस्किए। 

चिया खाइसकेपछि हामीले पांग्रा र चिउरा अर्डर गर्‍यौँ। केही बेर अलमल गर्ने र भित्र हुने गतिविधि नियाल्ने उद्देश्यले केही समय भित्रै बिताउन खोजिरहेका थियौँ। तर, ती युवा हामी बसेको ठाउँमा आउँदै ‘दाइहरू पहिलो पटक हो र यहाँ आउनुभएको? यहाँ विशेष व्यवस्था पनि छ’ भन्दै केही संकेत गर्दै थिए। ‘यस्तो थोत्रो घरमा पसल चलाउने आँट कसरी गरेको? भाइलाई डर लाग्दैन?’ भन्दै गफिन खोजिरहेका हामीलाई उनी आफ्नो असली धन्दा बताउन चाहिरहेको प्रस्ट हुन्थ्यो। 
यत्तिकैमा उनले भने, ‘तपाईंहरू बस्ने होइन?’ 
हामीले भन्यौँ, ‘बसिरहेका त छौँ नि।’ 
‘यस्तो बसाइ होइन क्या दाइ !’ उनले भने, ‘माथि केटीहरूसँग बस्नुस् भनेको।’ 

उनले आफ्नो असली धन्दा बताए। हामीले ‘यी दुई जना मात्र हुन् केटी? अरू छैनन्, यी त त्यति मन परेनन्’ भन्यौँ। ती युवाले अरू दुई जना आउँदै छन् भन्दै फोन लगाए। सुषमा नाम गरेकी युवतीलाई फोन गर्दै उनले छिटो आउन भने। केही बेरपछि दुई जना युवती आइपुगे। 

‘ल, दाइहरू दुई जना नयाँ आए, अब तपाईंहरू माथि जानुस्’ भन्दै ती युवा हामी बसिरहेको ठाउँमा आए। हामीले ‘कति हो?’ भनेर सोध्यौँ। ‘जम्मा पाँच सय त हो,’ उनले भने। ‘पुलिस आउँछ कि?’ हामीले  प्रश्न गर्न नपाउँदै उनले भने, ‘डर मान्नुपर्दैन दाइ, सबै सेटिङ मिलाएको छ। फेरि तपाईंहरू माथि उक्लिएपछि भर्‍याङको मुखमै ताला लगाउने व्यवस्था छ। म बाहिर बेन्चमा बसेर कोही आउँछ कि भनेर निगरानी गरिहाल्छु।’ कुनै नयाँ पुरुष भित्र छिर्नेबित्तिकै ती युवा बेन्चमा बस्नुको कारण उनैले खुलाए। 

घरका माथिल्लो तलाको अवस्था र यौनकर्मी महिलासँग केही कुरा गर्न पाइन्छ कि भनेर निगरानीमा खटिएका दुईमध्ये एक जना माथि जाने निर्णयमा पुग्यौँ। ती युवालाई पैसा दिएर अँध्यारो र साँघुरो काठको भर्‍याङ हुँदै माथिल्लो तलामा पुग्दा अगाडिपट्टिको भागमा भुइँ तलमा जस्तै सानो टेबल र बेन्च राखिएका थिए। त्योभन्दा माथि उक्लिएपछि भर्‍याङको मुखमा रहेको घोप्टेमा ताल्चा लगाउने व्यवस्था गरिएको रहेछ। तलबाट ताल्चा लाग्यो। अँध्यारो भग्नावशेषजस्तो कोठाभित्र सँगै अन्दाजी २२ वर्षकी युवती हतारिँदै ‘छिटो न छिटो’ भन्दै थिइन्। 

हामीले उनलाई ‘बाहिरबाट यस्तो पुरानो देखिने घर भित्रचाहिँ कस्तो रहेछ’ भनेर हेर्न आएको बतायौँ। 
ती युवती रिसाइन् र भनिन्, ‘यो ठाउँ नानाथरी कुरा गरेर बस्ने ठाउँ होइन। कामकुरो गर्ने भए गर्नू, नगरे पनि मलाई के र? मेरो २ सय ५० पाकिहाल्यो।’  उनले ताल्चा खोल्न संकेत गर्दै तल रहेका युवालाई एसएमएस पठाइन्। ग्राहकबाट पाँच सय रुपैयाँ लिएर आधा यौनकर्मीलाई दिने र आधा सञ्चालकले राख्ने गरिएको रहेछ। ताल्चा खुलेपछि तल ओर्लिएर हामी बाहिर निस्किन लाग्दा ती युवाले हामीलाई बिदा गर्दै भने, ‘आउँदै गर्नू है दाइहरू ! यहाँ कुनै डर हुँदैन। पुलिसको चेकिङ पनि हुँदैन।’ 

निगरानी नम्बर २ 

निगरानी नम्बर एकको घरबाट ताम्सीपाखातिर थोरै अघि बढेपछि दायाँतिर चार वटा फलामको बिमको टेकोले अड्याएको पाँच तलाको जीर्ण घर छ। नीलो ढोका भएको र एउटा ढोका खुलेको, त्यसमा पर्दा झुण्डिएको र बाहिर बेन्च राखिएको छ। नरदेवी मार्टको ठीक अपोजिट रहेको यो घरलाई दायाँबायाँ पक्की घरले च्यापेको छ। यो घरसँग जोडिएको घरमा किरानापसल छ। घरको बाहिरी भागमा झार उम्रिएर सुकेको देखिन्छ। झ्यालहरू खस्लान्जस्तो देखिन्छ।

 

घरभित्र पस्न टेको लगाइएको फलामका बिममुनिबाट टाउको निहुर्‍याएर छिर्नुपर्छ। निगरानीका लागि भित्र पस्दा बस्ने ठाउँ नै थिएन। अन्दाजी ५० वर्षका एक पुरुष, तीन युवती र एक युवा बसिरहेका थिए। हामी भित्र पस्नेबित्तिकै एक युवती उठिन् र हामी दुई जना बेन्चको छेउमा बस्यौँ। हामीले चिया पाइन्छ भनेर सोधेपछि लामो कपाल भएका युवा चिया पकाउन लागे। बेन्चमा बसेका पुरुषले सँगै बसेकी युवतीको कपडाभित्र हात लगेर पिठ्यूँ कनाइदिइरहेका थिए।

सिँगारपटार गरेर बसेकी ती महिला सञ्चो मानिरहेकी थिइन्। चिया पाक्दै गर्दै ती युवाले पनि युवतीको शरीर कन्याइदिइरहेका थिए। ‘कति कडा हो तिम्रो ढाड’ भन्दै कपाल पालेका युवा युवतीको कपडाभित्र हात घुमाइरहेका थिए। त्यही बेला एक युवती भने हतार–हतार मेकअप गर्दै थिइन्। हामीले चिया खाइ नसक्दै ती युवतीले क्रिम–पाउडर दलेर ओठमा निकै रातो लिपस्टिक पोतिन्। अर्की युवती नजिकै बसेर हामीलाई नियालिरहेकी थिइन्। पिठ्यूँ कन्याउन लगाउनेचाहिँ भित्र पसिन्। 

चिया खाइसक्ने बेलामा हाम्रै अगाडि बसिरहेकी युवतीले ‘बस्ने होइन?’ भनिन्। हामीले ‘तपाईंहरू यति हो?’ भन्यौँ। 
उनले भनिन्, ‘जम्मा दुई जना त आउनुभएको छ। हामी चार जना छौँ। के हो फेरि यति हो भनेको? लाइन लगाएर, बिहे गरेर लैजाने होइन क्यारे। एक छिन बस्ने त हो नि। किन चाहियो नि रोजी रोजी?’ 

उनी हामीलाई ‘कोठामा जाऊँ’ भनिरहेकी थिइन्। कपाल पालेका युवा हामीलाई भर्‍याङ देखाउँदै माथि जान आँखा सन्काउँदै थिए। तल बस्दा नयाँ आउने ग्राहक अप्ठेरो मानेर फर्किने भएकाले उनी हामीलाई ‘छिटो माथि जान’ भनिरहेका थिए। केही बेर घुमेर आउने भन्दै हामी त्यहाँबाट बाहिर निस्क्यौँ। 

०००
बिहीबार चिया खाएर निस्किएको यही घरमा शुक्रवार फेरि हामी निगरानीका लागि पुगेका थियौँ। हामी भित्र पस्नेबित्तिकै ‘आज पनि चिया मात्रै खान आउनुभएको कि मुड फ्रेस पनि गर्ने सोचमा हुनुहुन्छ?’ भन्दै एक युवती टाँसिन आइपुगिन्। त्यति नै बेला बिहीबार निगरानी गरेको पहिलो घरका युवा टुप्लुक्क आइपुगे। ‘दाइहरू आज यता,’ उनले भने, ‘ठाउँ फेरि–फेरि हो कि क्या हो?’ ती युवा कपाल पालेका युवासँग गफ गर्न थाले।

उनीहरूको गफ सुनेपछि यी दुवै घरमा यौन धन्दा सञ्चालन गर्ने व्यक्ति एकै रहेछन् भन्ने थाहा लाग्यो। ग्राहकको चापअनुसार युवती यताउति गर्नेदेखि ग्राहकलाई एउटाबाट अर्कोमा सिफारिस गर्ने गरिएको थाहा पाइयो। यी दुवै जीर्ण घरमा रामेछाप घर भएका विकास थापा भनिइने जयन्त थापा (जसलाई लीला नामले पनि चिनिन्छ) ले यौनधन्दा चलाउने गरेको पत्ता लाग्यो। थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मानव बेचबिखनविरुद्ध पटक–पटक मुद्दा परेको देखिन्छ। ‘सम्पूर्ण’ टिम निगरानीमा खटिएका बेला उनी काठमाडौँ बाहिर गएकाले यी घरमा भेटिएनन्। थापा फलामले टेको लगाएको घर बाहिरको बेन्चमा बसिरहने गरेको स्थानीय बासिन्दाले बताए।   

निगरानी नम्बर ३ 

नरदेवी अस्पतालबाट करिब दुई सय मिटरअगाडि दायाँतिर ताम्सीपाखाको ओरालोमा स्टार बुटिक एन्ड लेडिज टेलर्स र तारा बुटिकको बीचमा रहेको नीलो ढोका भएको घरमा पनि यौनधन्दा हुने गरेको छ। ताम्सीपाखाको प्रहरी बिटबाट करिब ५० मिटर दूरीमा रहेको घर बाहिरबाट हेर्दा सद्दे देखिए पनि भित्र भने जीर्ण छ। घरको ढोकाबाहिर एउटा कुर्सी राखिएको हुन्छ।  

 

निगरानीका लागि यो घरमा जानुअघि हामीले केही सूचना संकलन गरेका थियौँ। भित्र पस्नेबित्तिकै केही अलमलमा परेजस्तो गर्ने र ‘यो माइला दाइको पसल होइन’ भनेर जिज्ञासा राख्दा सो घरभित्र रहेकाले रेस्पोन्स गर्छन् भन्ने सूचना हामीले थाहा पाएका थियौँ। ‘कलंकीको प्रेम भन्ने व्यक्तिले दुई वर्षअघि ल्याएका थिए, माइला दाइको पसल यही होजस्तो लाग्छ’ भन्दै हामी भित्र पस्दा चार जना महिला चुरोट तान्दै बसिरहेका थिए। चारमध्ये एक जना १५–१६ वर्षकी देखिन्थिन्। 

यहाँ पनि हामीले कालो चिया नै अर्डर गर्‍यौँ। साँघुरो बेन्चमा अगाडि बसेर ट्वालट्वाल्ती हेरिरहेकी कालो वर्णकी एक युवतीले भनिन्, ‘तन–मन मिलाउने ठाउँमा पनि के कालो चिया खाएर बस्नु, हौ ! अरू नै चिज खान पाइन्छ नि।’ उनले आँखाले ‘माथि जाऊँ’ भन्ने इसारा गरिन्। हामीले उनीहरूले गरेको इसारा र कटाक्षलाई नबुझेजस्तो गरेर ‘अरू के–के पाइन्छ यहाँ?’ भनेर प्रश्न गर्‍यौँ। 

त्यहाँ भएका युवकले दुई जना ‘सम्पूर्ण’कर्मीलाई तलदेखि माथिसम्म नियाले। युवतीले भनिन्, ‘पहिला आउनुभएको थिएन
र?’ 
‘साथीसँग आएका थियौँ,’ हामीले भन्यौँ।  
‘अनि थाहा र’छ त, यहाँ के पाइन्छ भन्ने,’ ती युवतीले भनिन्। 
युवकले माथि उक्लिने भर्‍याङतर्फ इसारा गर्दै भने, ‘जाने हो?’ 
‘हो,’ हामीमध्ये एक जनाले भन्यौँ।
 
अब उनीहरू सहज भए। ग्राहक नै आएकोमा ढुक्क भए। लुँडो खेल्दै चुरोट तानिरहेकी युवतीले कडा स्वरमा भनिन्, ‘अघि नै जाने भन्नुपर्दैन। के–के पाइन्छ भनेर सोधिबस्छ।’ 

युवकले तीन युवतीमध्ये एउटीलाई छान्न लगाए। चुरोट तानिरहेकी गोरी–गोरी २०–२२ वर्षकी जस्ती देखिने युवती छनोटमा परिन्। युवकले उनलाई आदेश दिए। युवती चुरोटको ठुटा फ्याँक्दै उठिन्। चिया पाकिरहेको कुनातर्फ पसेर हातमा कन्डम र पत्रिकाको टुक्रा लिएर आइन्। ‘हिँड्नुस्,’ गोलो अनुहारकी ती युवतीले आदेशको शैलीमा भनिन्। 

दोस्रो तलामा पुग्दा निष्पट्ट अँध्यारो छायो। अगाडि केही देखिएन। वरपर खुसखुस मान्छे बोलिरहेको सुनिन्थ्यो। काठको सानो भर्‍याङमा दुईतिर समाउँदै तेस्रो तला पुगियो। त्यहाँ जिरो वाटको बत्ती बलिरहेको थियो। 

काठले बनेका भित्ताहरू, काठकै ढोकाहरू। थोत्रा लुगाहरू। बियरका बोतलहरू। प्रत्येक तलामा तीन–चार वटा कोठा। प्रत्येक कोठा बन्द। प्रत्येक तला एकदमै फोहर। ‘यता के हो?’ तेस्रो तला पुग्दा उनलाई सोधियो। रिसाउँदै भनिन्, ‘हामी सुत्ने कोठा हो। किन सोध्नुपर्‍यो जे पायो त्यही?’

जीर्ण घरको चौथो तलामा पुगेर ती युवतीले पश्चिमतर्फको ढोका खोलिन्। उत्तरतर्फको ढोकाबाट केही आवाज आइरहेको थियो। मुश्किलले एउटा पलङ अट्ने कोठा थियो। भित्र देखियो थोत्रो डसना, च्यातिएर धुजा–धुजा भएको थोत्रो तन्ना। माटोका डल्ला। मैलो न मैलो सिरानी। माथि टिनको छाना। दक्षिणतिर छ माटो भत्किएर बनेको झ्याल। त्यहाँ थोत्रो लुगा कोचिएको छ। त्यहीँबाट थोरै उज्यालो पसेको छ भित्र। 

‘सम्पूर्णकर्मी’लाई उनले तल बसाइन्। कन्डम झिकिन्। पत्रिकाको टुक्रा सिरानीतिर राखिन्। 
‘लु छिटो !’ उनले भनिन्। 
‘एक छिन है। मलाई एकदमै डर लागिरहेको छ। कोही आउँदैन यहाँ?’ ‘सम्पूर्णकर्मी’ले भने। 
‘आउँदैन, कोही आउँदैन,’ उनले विश्वस्त पार्न खोजिन्। 
युवतीले फेरि भनिन्, ‘लु न छिटो।’ 
‘तपाईंको नाम के हो?’ सम्पूर्णकर्मीले सोधे। 
युवती जुरुक्कै उठिन्। आँखा ठूलो पारेर हेरिन् र चर्काे स्वरमा भनिन्, ‘के खोज्न आको याँ? किन चाहियो नाम र साम? कुरा मात्र गर्न आको हो कि काम पनि गर्न?’ 
‘के भयो?’ ढोकाबाहिर अर्की युवतीको आवाज आयो। 

‘हेर्नु न कस्तो खालको मान्छे र’छ,’ उनले बाहिर उभिएकी युवतीलाई भनिन्। बाहिरका युवती र ग्राहक तल झरे। कुरा गर्न खोज्दा उनी बोल्न चाहिनन्। ‘एक पैसा फिर्ता हुँदैन,’ ती युवतीले भनिन्। उनी पैसा फिर्ता गर्नुपर्नेमा चिन्तित हुन थालिन्। ‘म पैसा फिर्ता दिँदै दिन्नँ?’ कन्डम र पत्रिकाको टुक्रा पोको पारेर ढोकातर्फ अघि बढिन्। ढोका खोल्दाखोल्दै उनले ‘सम्पूर्णकर्मी’लाई धम्की दिइन्, ‘आइन्दा यो टोलवरिपरि देखापर्ने होइन।’

‘के भयो, के भयो?’ एउटा पुरुष आवाज भर्‍याङबाट आयो। उनको अनुहार देखिँदैन थियो। ‘हेर्नु न यो के वाहियात मान्छे रैछ !’ युवतीले भनिन्। अनि, भर्‍याङबाट तल झरिन्। मधुरो प्रकाशमा देखियो ती पुरुषको अनुहार। ४५ वर्षजतिका उनले थर्काउँदै भने, ‘बाहिर जानुस्।’ 
 
दोस्रो तलामा पुगेकी थिइन् युवती। उनी अझै भन्दै थिइन्, ‘पैसा फिर्ता हुँदै हुँदैन।’  उनी भुँइ तलामा पुगिन्। ती ४५ वर्षीय पुरुष पनि तल आइपुगे। उनैलाई हेर्दै ती युवतीले भनिन्, ‘पैसा फिर्ता हुँदै हुँदैन। माथि के–के सोध्यो। सबै भन्दिऊँ?’ 

‘सर, म पहिलो पटक आएको। एकदमै डर लाग्यो, त्यसैले...,’ ‘सम्पूर्णकर्मी’ले भने। पैसा फिर्ता माग्दा ती पुरुषले युवतीलाई भने, ‘अढाइ सय मात्र फिर्ता दे।’ 
यो घरमा यौनधन्दा चलाउने माइला दाइ भनिने टेकबहादुर थापा हुन्। 

निगरानी नम्बर ४ 

निगरानी नम्बर ३ को घरको ठीक अगाडि थोत्रो घर छ। जसको अगाडि बौद्ध स्तुपा छ। घरमा ‘एड्मिसन ओपन’ लेखिएको स्कुलको बोर्ड टाँसिएको छ। सो घरको करेसाबाट स्कुलतिर जाने बाटो देखिन्छ । ढोकामा रातो छिर्केमिर्के पर्दा झुण्डिएको छ। ढोकामाथि कपडा सुकाइएको छ। घरभित्रको हुलिया अन्य घरको जस्तै नै छ। खाजाको परिकार एकै छन्।

 

सबै ठाउँमा छ वटै आइटम देखिन्छन्, आलु, चना, कुखुराको पांग्रा र खुट्टा, उसिनेको अण्डा र चिउरा। एक युवा र युवती मोबाइलमा गेम खेल्दै थिए। एक युवती कपडा धुँदै थिइन्। त्यति नै बेला दुई जना युवा आए। हामी चिया खाँदै थियौँ। हामीले चिया खाइ नसक्दै मोबाइलमा गेम खेलिरहेका युवाले ‘बस्ने होइन?’ भनिहाले। कपडा धुँदै गरेकी युवती ‘कपडा पखालुञ्जेल पर्खिन भन्नू है’ भन्दै धारातिर लागिन्। हामी पछि आउँछौँ भन्दै निस्कियौँ। यो घरमा ठूलदाइ भनिने दलबहादुर थापाले यौनधन्दा चलाउने गरेका छन्। 



‘यौनधन्दा बन्द गराउँछौँ’ 

 डीएसपी टेकुनन्द ईवा लिम्बू 
प्रमुख, महानगरीय प्रहरी वृत्त जनसेवा, विशालबजार, न्युरोड 

नरदेवी क्षेत्रका पुराना घरमा खाजापसलको अवरणमा यौनधन्दा हुने गरेको जानकारी हामीलाई पनि छ। प्रहरीले धेरै पटक यो क्षेत्रमा रेड पनि हानेको छ। दुई वर्षअघि प्रमाणसहित यौनधन्दा सञ्चालकलाई मानव बेचबिखनमा मुद्दा पनि चलाइएको थियो। तर, पछि ती सञ्चालक छुटेछन्।

काठमाडौँ महानगरपालिकाको वडा नं. १८ मा पर्ने यो क्षेत्रमा हुने गरेको यौनधन्दा बन्द गराउनुपर्छ भनेर वडाअध्यक्षसँग तीन पटक त छलफल नै भइसकेको छ। दैनिक सर्च गरेर भए पनि यौनधन्दा बन्द गराउने योजनामा छौँ। सञ्चालक नबस्ने र घरबेटी पनि पत्ता नलागेकाले कारबाही गर्न कठिन भइरहेको छ। गैरकानुनी कामका लागि घर भाडामा दिनेलाई पनि पक्राउ गरेर कारबाही गर्न सकिने व्यवस्था कानुनमा छ।

फिल्डमा खटिने प्रहरीसँगको मिलोमतोमा यस्ता धन्दा सञ्चालन हुने गरेका हुन्छन् भन्ने जनगुनासोलाई सम्बोधन गर्न ताम्सीपाखाको प्रहरी बिटका इन्चार्ज १५–१५ दिनमा परिवर्तन गर्ने रणनीति बनाएको छु। धन्दा सञ्चालकले प्रहरीको साथ र सहयोग पाएका रहेछन् भने त्यस्तो कनेक्सन ब्रेक गर्ने गरी रणनीति बनाएर काम गर्ने योजना छ। वडा कार्यालयको सहयोगमा यस्ता घर खाली गराउने र घरबेटी भेटाउन सक्ने अवस्था बन्यो भने यौनधन्दा नियन्त्रण गर्न सकिन्छ। वडा कार्यालय र स्थानीय बासिन्दाको सहयोगमा धन्दा बन्द गराउने काम प्रहरीले गर्नेछ। 


‘वडाकै इज्जत खतरामा छ’ 

न्हुच्छेकाजी महर्जन, अध्यक्ष, वडा नं.१८, काठमाडौँ महानगरपालिका 

 

नरदेवी क्षेत्रमा रहेका थोत्रा घरमा यौनधन्दा हुने गरेको मैले पनि सुनेको छु। वडा नं. १८ को कार्यालय पनि यही एरियामा छ। वडाकै इज्जत खतरामा छ। स्थानीय, जनप्रतिनिधि र प्रहरीको बीचमा छलफल हुँदा खाजापसलको अवरणमा भइरहेको यौनधन्दाका बारेमा कुरा उठ्छ। प्रहरी ‘जनप्रतिनिधिले यस्ता धन्दा चलाइरहेका पसल बन्द गराउन सक्छन्’ भनेर पन्छिने गरेका छन्। तर, हामीले यी घरका वास्तविक घरबेटी भेट्न सकेका छैनौँ।

घर भाडामा लिने मुख्य मानिस पत्ता लगाउन पनि गाह्रो छ। यौनधन्दा सञ्चालन भइरहेको प्रमाण जुटाउन हामीले सक्दैनौँ। स्थानीयले प्रहरी नै धन्दावालासँग मिलिरहेको बताउने गरेका छन्। मिडियाले यहाँ यौन धन्दा हुने प्रमाण जुटाइदिन सक्ने हो भने हामी कारबाही गर्न सक्छौँ। थोत्रा घरभित्र चियापसल सञ्चालन गर्नेहरू वडामा व्यवसाय दर्ता गर्न पनि आउँदैनन्। घरबेटी कर तिर्न पनि आउँदैनन्।

जसले गर्दा हामीले केही गर्न सक्ने अवस्था छैन। कानुनले वर्जित गरेको गतिविधि सञ्चालन गर्दा प्रहरीले एक्सन लिनुपर्ने हो। धेरै पटक यी थोत्रा घरमा यौनधन्दा सञ्चालन गरेको अभियोगमा सञ्चालकहरूविरुद्ध मुद्दा परे पनि उनीहरू सजिलै उम्किरहेकाले कमजोर कानुनले गर्दा धन्दावालाहरू कारबाहीबाट उम्किरहेका छन्। स्थानीय वासी, घरबेटी र प्रहरी प्रशासनले सहयोग गर्ने हो भने यस्ता थोत्रा घरभित्र हुने यौनधन्दा बन्द गराउन सकिन्छ। 
 


‘आवाज उठाइरहेका छौँ’ 

विधानराज वैद्य, अध्यक्ष, रक्तकाली युवा क्लब, नरदेवी, काठमाडौँ 

थोत्रा घरभित्र हुने यौनधन्दा रोक्न स्थानीय बासिन्दाका हैसियतले हामीले पटक–पटक पहल गरेका हौँ। थोत्रा घरमा यौनधन्दा मात्र हुँदैन, लागुऔषध सेवनकर्ता र विक्रेताहरू पनि पुगिरहेका हुन्छन्। एक्सन कमिटी बनाएर यौनधन्दा बन्द गराउने पहल गरिए पनि सफल हुन सकेको छैन। हामीले आवाज उठाउने मात्रै हो। वडा कर्यालय र प्रहरीले आँट गर्ने हो भने यस्ता धन्दा बन्द गराउन सकिन्छ। वडामा सार्वजनिक सुनुवाइका क्रममा थोत्रा घरभित्र हुने यौनधन्दाको विषयमा कुरा उठे पनि यसलाई बन्द गराउनेतर्फ सम्बन्धित निकायले ध्यान दिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.