हिमपातमा फसेका शेर्पाको पाँच दिनदेखि उद्धार भएन
जर्मन–नेपाल फ्रेण्डसीप ट्रेक नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा शुरु गरेका आइम ट्रेकका प्रमुख पेम्वा जाङबु शेर्पासहित चारजना हिमपातपछि सम्पर्क बिहिन भएको कम्पनीका फुनुरु शेर्पाले बताए ।
हिमपातले हेलिकप्टर त्यस क्षेत्रमा पठाउने नसकिएको कम्पनीले जनाएको छ । पाँच दिन बितिसकेकाले तत्काल उद्धारमा सहयोग गरिदिन कम्पनी र परिवारले माग गरेका छन् । पदयात्रामा खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पेम्वा जाङबु, दारिन्जी, पेम्वारिन्जी, पासाङ गेलु शेर्पा रहेका छन् ।
खानेकुरा र स्यटलाइट फोनमा बेट्री सकिन लागेको भन्दै शुक्रबार बिहान तत्काल उद्धार गर्न परिवारसँग हारगुहार गरेको एजेन्सीका फुनुरु शेर्पाले बताए ।
शरद र बसन्त ऋतुमा मात्र पदयात्रा र पर्वतारोहण हुने गरेपछि सरकारले बाह«ै महिना पदयात्राका लागि नेपाल उपयुक्त गन्तव्य भनेर प्रचारप्रसार शुरु गरेका थियो । यो टोलीले नेपालमा पहिलोपटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा शुरु गरेका थिए ।
पदयात्रा ताप्लेजुङदेखि शुरु गरी टासीलाप्चा पास, गौरीशंकर हुँदै गर्ने तयारी थियो । हिउँदमा शुरु गरिएपछि यो पदयात्रा दुई हजार देखि शुरु भएर ६ हजार मिटरसम्म पास गर्नु पर्ने हुन्छ ।