विशखापटनमबाट बढ्यो व्यापार
वीरगन्ज : तेस्रो मुलुकबाट मालसामान आयात गर्न भारतको आन्ध्रप्रदेशस्थित विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै गएको छ। तेस्रो मुलुकको मालसामान आयात गर्न मुख्य कारोबार हुँदै आएको भारतको कोलकाता बन्दरगाहभन्दा लागत खर्च र समय कम तथा कागजी प्रक्रिया सहज भएकाले नेपाली आयातकर्ता विशखापटनम बन्दरगाहतर्फ आकर्षित भएका हुन्।
नेपाली आयातकर्ता र व्यापारीले तेस्रो मुलुकको मालसामान आयात गर्न विशखापटनम बन्दरगाह सन् २०१७ जुन ६ (२०७४ जेठ २३ गते) देखि प्रयोग गर्न थालेका हुन्। २०७४ जेठ २३ गते पहिलो पटक मालसामान भरिएको ५० वटा कन्टेनरसहितको एउटा रेल विशखापटनमबाट वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुगेको थियो।
त्यसयता १९ महिनाको अवधिमा तेस्रो मुलुकबाट विशखापटनम हुँदै वीरगन्जमा १८ हजार कन्टेनर मालसामान आयात भएको छ। त्यसअघि १० महिनाको अवधिमा विशखापटनम हुँदै चार हजार पाँच सय कन्टेनर मालसामान वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुगेको थियो।
विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार सुरु भएयता १८ महिनाको अवधिमा १८ हजार कन्टेनरमा हार्डवेयर, मेसिनरी पार्टपुर्जा, विद्युतीय सामग्री, मदिरालगायत सामान आयात भएको सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी लिएको हिमालयन टर्मिनल्स प्रालिका सूचना अधिकारी अमिनेष कुमारले जानकारी दिए। साथै एक लाख ३२ हजार पाच सय मेट्रिक टन बोराबन्द सामान सिर्सिया सुक्खा बन्दरगाह हुँदै नेपाल भित्रिएको उनले जानकारी दिए।
विशखापटनम बन्दरगाहबाट आयात भएका बोराबन्द सामानमा रासायनिक मल, तोरी, केराउ, भटमास, मसुरो, कुखुराको दानालगायत छन्। विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै गएको उनले बताए। ‘पछिल्लो समय नेपाली आयातकर्ताको रोजाइ कोलकाताभन्दा विशखापटनम छ, उनले भने, ‘अहिले औसतमा हरेक दुइ दिनको फरकमा विशखापटनम बन्दरगाहबाट एक र्याक (रेल) मालसामान सिर्सिया सुक्खा बन्दरगाह आइपुग्छ।’
वीरगन्जबाट विशखापटनमको दुरी कोलकाताभन्दा दोब्बर भए पनि जाँचपास प्रक्रिया झन्झटिलो भएको हुँदा व्यापारीको रोजाइमा परेको हो। यसका साथै कोलकाता बन्दरगाहमा भन्सार जाँचपास गर्न बिचौलियाले कागजी प्रक्रियामा बखेडा झिकेर अतिरिक्त रकम लिँदै आएकाले आयातकर्ताको लागत खर्च बढ्ने गरेको हो। तर, विशखापटनममा कन्टेनर ढुवानी गर्ने, भन्सार जाँचपास, बन्दरगाहबाट वीरगन्जको सिर्सियासम्मको ढुवानीलगायत आवश्यक प्रक्रिया सबै सिपिङ कम्पनीले गर्दै आएको छ।
यसका साथै पानीजहाजबाट बन्दरगाहमा कन्टेनर झारेपछि कुनै कारण कन्टेनर रेलमा लोेड गरेर वीरगन्ज पठाउने क्रममा ढिला भए बन्दरगाहलाई तिर्नुपर्ने विलम्ब शुल्क ९डिटेन्सन चार्ज० र बाटोमा रेल अड्किएर समयमा वीरगन्ज पुर्याउन नसकिँदा त्यस अवधिको शुल्क पनि सिपिङ कम्पनीले नै तिर्ने भएकाले आयातकर्तालाई थप भार नपर्ने नेपाल उद्योग वाणिज्य महासंघको पारवहन तथा यातयात समितिका संयोजक अशोक टेमानीले बताए।
उनले भने, ‘तर, कोलकाता बन्दरगाहमा भने जहाजबाट पोर्टमा कन्टेनर झारेपछि र त्यहाँबाट वीरगन्जसम्म पुर्याउने क्रममा लाग्ने डिटेन्सन चार्ज आयातकर्ताले नै तिर्नुपर्छ, सिपिङ कम्पनीले तिर्दैन।’ नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालसामानका कन्टेनर, रेलमार्फत विशखापटनम बन्दरगाहबाट वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा अधिकतम पाँच दिनमा पुग्छ।
विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार सुरु भएयता १८ महिनाको अवधिमा १८ हजार कन्टेनरमा हार्डवेयर, मेसिनरी पार्टपुर्जा, विद्युतीय सामग्री, मदिरालगायत सामान आयात भएको छ।
विशखापटनम बन्दरगाहमा जहाजबाट कन्टेनर अनलोड भएको पाँच दिनभित्र नै वीरगन्ज पुग्ने र त्यहाँबाट आयातकर्ताले कन्टेनर खाली गर्न पाँच दिनको समय पाउने भएकाले आयतकर्तालाई कन्टेनरको डिटेन्सन चार्ज नलाग्ने गरेको विशखापटनम बन्दरगाहका बरिष्ठ महाप्रबन्धक भी कल्याणन चक्रवर्तीले बताए।
नेपाल उद्योग वाणिज्य महासंघको पारवहन तथा यातयात समितिका संयोजक टेमानीका अनुसार विशखापटनम बन्दरगाह प्रयोग गर्दा वीरगन्जसम्म कन्टेनर पुर्याउन नेपाली आयातकर्तालाई प्रतिकन्टेनर करिब एक लाख भारु ढुवानी खर्च लाग्ने गरेको छ। तर कोलकाता बन्दरगाह प्रयोग गर्दा भने एक लाख २० हजार भारु लाग्छ।
‘तेस्रो मुलुकसँगको नेपालको व्यापार बढिरहेको छ, यो अवस्थामा हामी कोलकाता बन्दरगाहको मात्रै भर पर्यौ भने हाम्रो व्यापार व्यवसाय नै धरासयी हुन्छ’, उनले भने, ‘कोलकाताभन्दा विशखापटनम बन्दरगाह निक्कै ठूलो र सुविधासम्पन्न पनि छ, त्यहाँ कन्टेनर जाँचपास प्रक्रिया कोलकाताको जस्तो झन्झटिलो छैन। समय र लागत दुवै कम लाग्ने भएकाले पनि नेपाली आयातकर्ता आकर्षित छन्।’
विशखापटनम बन्दरगाह प्रयोग गर्दा नेपाली आयातकर्तालाई ढुवानी लागत र समय दुवै कोलकाताको भन्दा कम लाग्ने भएका कारण नेपाली आयातकर्ताका लागि कोलकाताको विकल्पमा विशखापटनम बन्दरगाह धेरै सहज र सस्तो भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए।
कोलकाता बन्दरगाहबाट कारोबार गर्दै आएका नेपाली आयातकर्ताले त्यहाँको अव्यवस्थित र झन्झटिलो प्रक्रियाका कारण वार्षिक रूपमा अर्बौं रुपैयाँ डिटेन्सन चार्जका रूपमा सिपिङ कम्पनीलाइ तिर्न बाध्य भएको केडियाले बताए। उनले भने, ‘तर विशखापटनममा आयातकर्ताले डिटेन्सन चार्ज तिर्नु नै पर्दैन, त्यो चार्ज सिपिङ कम्पनीले नै बेहोर्ने गर्छ। कन्टेनर पनि बढीमा एक साताको अवधिमा वीरगन्ज आइपुग्ने गरेको छ।’
कोलकाता बन्दरगाह रिभर बेस पोर्ट भएका कारण त्यहाँ साना पानीजहाज मात्रै आउने गरेका छन्। तेस्रो मुलुकबाट ठूला पानीजहाजमा आयात गरिएका मालसामान सिंगापुर र श्रीलंकामा साना पानी जहाजमा लोड गरी कोलकाता बन्दरगाहमा पुर्याउने गरिन्छ। जस कारण ढुवानी भाडा बढी पर्छ। तर, विशखापटनम बन्दरगाहमा ठूला पानीजहाज आउँछन्।