सहयोग बोकेर आए दीनबन्धु

सहयोग बोकेर आए दीनबन्धु

प्युठान : माघको चिसो समय। बुढ्यौली उमेर। दाँत झरिसके। सेताम्मे कपाल। नियमित औषधि खानुपर्ने। स्वास्थ्यको ख्याल गर्नुपर्छ ८५ वर्षीय दीनवन्धु कोइरालालाई। उनी दिनहुँ पत्रिका पढ्छन्। अन्नपूर्ण पोस्ट्को नियमित ग्राहक बनेका छन्। सधैँजसो उनले अन्नपूर्ण पढे। पत्रिकाको पहिलो पृष्ठमै उनको नजर पुग्यो। ‘जब दैवलाई दया लागेन’ शीर्षक समाचार उनले घोत्लिएर पढे। साना नानीहरूको तस्बिरसहितको पूरै समाचार पढिसकेपछि उनको मन थामिएन। भन्छन्, ‘केहीबेर रोएर मन भुलाएँ।’

पोखरा महानगरपालिका–५ पर्सयाङका कोइराला अन्नपूर्ण पोस्ट्को गण्डकी प्रदेश कार्यालय खोज्दै पुगे। माघ ६ गते प्युठानका बेसहारा टुहुरा दिदीबहिनीको समाचारले मन पोलेपछि उनले सहयोग गर्ने वचन दिएका हुन्। बुवाआमाको मृत्युपछि बिचल्लीमा परेका झिमरुक गाउँपालिका–४ बांगेमरोठ सादनठुटाका १५ वर्षीया गंगा, ११ वर्षीया सलिना र ७ वर्षीया समीक्षा खड्कालाई उनले जनही एक/एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। त्यही सहयोग बोकेर उनी बिहीबार प्युठान आएका छन्। ‘नानीहरूको हातमै पैसा दिने मन छ’, कोइराला भन्छन्, ‘प्युठान पहिलोपटक आएको हुँ। राम्रो रहेछ।’

पोखराबाट प्युठानका लागि सीधै बस छुट्दैन। दाङको भालुवाङ  ओर्लिएर गाडी बदल्नुपर्छ। करिब १५ घण्टाको यात्रापछि मात्र प्युठान पुग्न सकिन्छ। यी सबै कुराको बेवास्ता गर्दै दीनबन्धुले गन्तव्यमा पुगेर पहिलो भेटमै प्रश्न गरे, ‘केशर बाबु ती नानीहरू कहाँ छन् ? ’ उनी बसेको जुम्रिबजारबाट नानीहरूको घरमा पुग्न कच्ची सडकबाट करिब डेढ घण्टा लाग्छ। जहाँ ओर्लन्छन्, त्यहीँ ‘लोकेसन सोधखोज गर्दै उनी आएका हुन्।

घरमै पुगेर शनिबार तीन लाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रम छ। ‘बैंकको ब्याजबाट भए पनि खान, बस्न समस्या नहोस् भनेर सहयोग गर्न आएको हुँ’, उनी भन्छन्, ‘मन थाम्न सकिनँ र आफैं आएँ बाबु।’ कोइरालाले अन्य क्षेत्रमा सहयोग गर्दै आए पनि समाचार पढेर यति ठूलो रकम सहयोग गरेको पहिलो पटक हो। खाद्य संस्थानमा नायब सुब्बाको जागिरे जीवनबाट ०५६ सालमा अवकाशप्राप्त उनी सामाजिक सेवामा रुचि राख्छन्। आफ्नै वडामा सञ्चालित विद्यालयमा एक लाख, धर्मस्थली आधारभूत विद्यालय र बाराही माविमा ५०/५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। पोखराकै नयाँबजारस्थित अपांगता भएकाहरू बस्ने घरमा कोठा बनाउन ५० हजार सहयोग गरेको उनले सुनाए।

उनले चिसाखोला वेद विद्या श्रममा पनि सहयोग गरेका छन्। उनका श्रीमती र दुई छोरा छन्। अमरसिंह नमुना माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन कक्षामा तीन महिना पढाएको उनले सुनाए। ‘घर नजिकै ट्र्याक्टरमा काम गर्ने बालबालिका देख्छु’, कोइराला भन्छन्, ‘बोलाएर मासुभात खुवाएर, केही पैसा दिएर पठाउँछु।’ बेसहारा बच्चाहरूलाई सहयोग गरेर बुढेसकालमा उनीहरूको आशीर्वाद लिने चाहना रहेको उनी सुनाउँछन्। ‘उनीहरूको दुःख देख्न सकिनँ’, उनले भने, ‘पैसा मात्र सबथोक होइन।’

कलिलै उमेरमा अभिभावक गुमाएका दिदीबहिनी क्रमशः दस, पाँच र तीन कक्षामा पढ्छन्। समाचार पढेपछि कोइरालाजस्तै धैरैले सहयोग गरेका छन्। डाल्स, अमेरिकामा रहेका हेटौंडाका विनय अर्यालले ५४ हजार सात सय ९४ रुपैयाँ सहयोग गरेका छन्। काठमाडौंका हेमन्तराज कोलक्षपतिले २५ हजार, झिमरुक गाउँपालिका–४ बांगेफेदीका जीवलाल पन्थी र सूर्यविनायक नगरपालिका–९ नीलकण्ठ भक्तपुरका लक्ष्मी केसीले पाँच÷पाँच हजार सहयोग गरेका छन्। मल्लरानी गाउँपालिका खलंगाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले एक हजार पाँच दिएकी छन्। खड्का दिदीबहिनीका लागि करिब चार लाख रुपैयाँ सहयोग जुटिसकेको छ। उनीहरूलाई माथिल्लो कक्षासम्म पढाउने थुप्रै सहयोगी भेटिएका छन्। बुद्धबाटिका कपी उद्योग गोरुसिंगे कपिलवस्तुकी अम्बिका जिसीले एसईई पढ्दासम्म वर्षमा पाँच दर्जन कपी, कलम दिने भएकी छन्। उनको जन्मघर पनि झिमरुक–४ मै पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.