बारामा सरकारी गाडी दुर्घटना : सशस्त्रका एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते
सिमरा : बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितका सुरक्षा अधिकारी चढेको सरकारी गाडी शनिवार राति दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा सशस्त्र प्रहरी बलका एकजना उपरीक्षक (एसपी) को मृत्यु भएको छ । दुर्घटनामा बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते भएका छन् ।
कर्मचारी मिलन केन्द्र बाराको वनभोज खाएर फर्कने क्रममा पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक ना१झ १६३३ नम्बरको जीप दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको मृत्यु भएको हो । पोखरेल सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख थिए ।
दुर्घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतामा उपचारका लागि ल्याइए पनि चिकित्सकले पोखरेललाई मृत घोषणा गरे । दुर्घटनामा सिडिओ गणेश भट्टराईसहित तीनजना घाइते भएका छन् ।
सिडिओ भट्टराईको अवस्था गम्भीर रहेको छ । टाउकोमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि वीरगन्ज हेल्थ केयरबाट काठमाडौँ पठाउने तयारी गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
दुर्घटनामा चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव र प्रहरी हवल्दार शम्भु गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।
कर्मचारी मिलन केन्द्रको आयोजनामा निजगढस्थित शहिद हिरालाल गौतम स्मृति पार्कमा वनभोज आयोजना गरिएको थियो । वनभोजमा बाराका अधिकांश सरकारी कार्यलयका कर्मचारी सहभागी थिए ।
वनभोजबाट फर्कने क्रममा सडकमा रोकिरहेको ट्रयाक्टरको ट्रेलरमा गाडी ठोक्किएको हो । गाडी सडकबाट १० मिटर तल खसेको छ । दुर्घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले उद्दार गरी घाइतेलाई अस्पताल ल्याएका थिए ।
शरीरको विभिन्न भागमा चोट लागेका एसपी पोखरेललाई उपचारको क्रममा अल्पाइन अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । एसपी पोखरेलको शव अल्पाइन अस्पतालमै राखिएको छ ।