जंगलबास सम्झेर भक्कानिन्, सुकमाया
नेपालगन्ज : रोल्पा जिल्लाको साविक गुम्चाल गाविस–१ पञ्चाम गाउँकी सुकमाया रोका १२ वर्षकी थिइन्। कुष्ठरोग लागेको शंकामा परिवारले गोठमा गाईबस्तुसँगै राख्यो। गाउँलेले थाहा पाएपछि गोठमा पनि बस्न दिएनन्।
दिनभरि जंगल किनारको छाप्रोमा बस्थिन्। राति लुकीलुकी गोठमा सुत्थिन्। गाउँलेले त्यो पनि सुइँको पाए र आमालाई धम्क्याए, ‘तेरी छोरीलाई झुपडीमा सार्छेस् कि तेरो घरमा आगो लगाइदिऊँ।’ त्यसपछि उनी निरन्तर जंगल किनारमै बस्न थालिन्।
शनिबार नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगबारे अनुभव सुनाउँदा सुरुमा हँसिलो मुद्रामा थिइन्, सुकमाया। कुष्ठरोगी भएकै कारण आपूmमाथि भएको विभेद र ८ वर्षे जंगल किनारको बास सम्झिँदा उनी भक्कानिन्। कुष्ठरोगबाट उनका दायाँ हातका औंला ठुटा भएका छन्। बायाँ हातमा मोजा जस्तो वस्त्र लगाएकी उनी रुन थालिन्, ‘जंगलमा बाघ थियो। छाप्रोमा बस्दा डर लाग्थ्यो।’
एक दिन उनलाई निकै ज्वरो आयो। आमालाई भनेर औषधि लिन पठाइन्। स्वास्थ्य संंस्थाले बिरामी नै ल्याउन भन्यो। त्यसपछि मात्र स्वास्थ्यकर्मीले कुष्ठरोगको उपचार गर्न दाङको घोराही जान सल्लाह दिए। घोराही जाँदा उनलाई बाटो प्रयोग गर्न दिइएन। ‘हिँड्ने बाटो नै पाइएन सर। रातिको १० बजे आमासँगै जंगलै जंगलको बाटो गएँ’, आँसु पुछ्दै भनिन्, ‘आमाले अस्पताल लग्नुभयो। त्यसपछि फर्केर आउनु भएन।’
पाँच दशकदेखि कुष्ठरोगले थलिएकी उनले रोग लागेको ८ वर्षपछि मात्र औषधि पाइन्। त्यतिबेलासम्म उनलाई रोगले गाँज्दै लगेको थियो। दुई वर्षकी छँदै बुवा गुमाएकी थिइन्। आमा, दाइ र दिदी मात्र थिए। ‘आमा र भाउजू पनि बित्नुभयो। भदैनी थिई। भीरबाट लडेर मरी। दाजु कहाँ जानुभयो पत्तो छैन।’ उनी परिवारविहीन र बेघर भइन्। आइएनएफले उनका लागि घोराही–११ भरतपुरमा घर बनाइदिएको छ। उनीजस्तै तीन जना रोगीका लागि बस्ने व्यवस्था गरिएको छ।
सुकमाया बेलाबेलामा नेपालगन्जको साइनिङ अस्पतालमा उपचार गर्न आउँछिन्। उनीजस्तै यो अस्पतालमा अहिले २१ जना कुष्ठरोगी भर्ना भएर उपचार गरिरहेको अस्पतालकी प्रबन्धक निर्मला बुढा मगरले जानकारी दिइन्। डेढ दर्जन जिल्लाबाट अस्पतालमा उपचार गर्न आएकामध्ये सबैभन्दा बढी बाँके र बर्दियाका कुष्ठरोगी छन्। ०७४÷७५ मा दुई सय १० जना कुष्ठरोगीको उपचार गरेकोमा आधाभन्दा बढी एक सय ११ जना त बाँकेका मात्र थिए।
५ माघ ०६६ मा सरकारले देशमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। निवारण हुनु भनेको एक हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोगी भेटिनु हो। तर, बाँके जिल्लाको हकमा घोषणा कार्यान्वयन हुन सकेको छैन। घोषणाको झन्डै एक दशकमा यो जिल्ला कहिल्यै पनि निवारणमा आएको छैन। देशका बढी कुष्ठरोगी हुने जिल्लाको एक नम्बरमा बाँके आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम केसी बताउँछन्।
उनका अनुसार हरेक वर्ष जिल्लामा नयाँ–नयाँ रोगी फेला पर्ने क्रम बढ्दो छ। पाँच वर्षको अवधिमा मात्र ८ सय १९ जना कुष्ठरोगी फेला परेका छन्। ०७३÷७४ मा सबैभन्दा बढी दुई सय ७० फेला परेका थिए। स्वास्थ्य कार्यालयका अनुसार यो आर्थिक वर्षमा पनि बैजनाथमा ६, खजुरामा ५, कोहलपुरमा ४, डुडुवामा र राप्ती सोनारीमा ३÷३ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
भेरी अञ्चल अस्पतालका चर्मरोग विशेषज्ञ डा.बद्री चापागाईंले अस्पतालमा उपचार गर्न आएकामध्ये गत वर्ष मात्र ४० जना नयाँ कुष्ठरोगी फेला परेको जानकारी दिए। उनी हरेक वर्ष रोगीको संख्या बढिरहेको बताउँछन्।
चिकित्सकका अनुसार कुष्ठरोग छाला र सतहका स्नायुमा असर पु¥याउने सरुवा रोग हो। यो श्वासप्रश्वासको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। ढिलो गरी सर्छ र विस्तारै निको हुन्छ। उपचार सुरु गरेपछि रोग सर्दैन। स्पर्श शक्ति हराएको दाग, कमजोर मांसपेशी, छालामा सुक्खापना, हातगोडाका औंला खुम्चिनु, बाँगो हुनु, आँखाको ढकनी बन्द नहुनु वा बन्दको बन्दै हुनु र पसिना नआउनाले घाउको अवस्था भइरहनु, खुट्टा लत्रिनु, हत्केला वा पैतलामा मांसपेशी सुकेर जानेजस्ता शंकास्पद लक्षण देखा पर्छन्।
‘धेरै रोगी आउनु राम्रो हो। समयमै रोग पहिचान गर्न सके सम्भावित क्षतिबाट जोगाउन सकिन्छ’, डा. चापागाईंको सुझाव छ, ‘शरीरमा लाटो फुस्रो दाद देखिएमा हेलचेक्र्याइँ गर्नु हुँदैन। दाद त हो नि भनेर मलम लगाएर रोग निको हुँदैन। कुष्ठरोगकै औषधि सेवन गर्नुपर्छ। समयमै उपचार भएमा अंगभंग हुनबाट जोगाउन सकिन्छ।’