डोजर बनाउने हेमराज
भक्तपुर : दैलेखका हेमराज विश्वकर्मा चार कक्षामा पढ्थे। जतिबेला उनले आफ्नो गाउँमा एउटा अचम्मको वस्तु देखे। अगाडिपट्टि हात्तीको जस्तै सुँड भएको एउटा गाडी उनको गाउँमा आयो। गाडीले माटो र ढुंगा पन्छाएर धमाधम बाटो खन्न थाल्यो। उनी हेरेको हेर्यै भए। त्यो गाडी अरू केही नभएर बाटो खन्ने डोजर थियो।
सुरुमा उनलाई ‘यो के होला ? ’ भन्ने लागेको थियो। त्यो डोजर हो भन्ने पनि उनलाई थाहा थिएन। थोरै समयमा धेरै काम गर्ने त्यो गाडी देखेर उनी छक्क परेका थिए। उनलाई डोजर एकदमै राम्रो लाग्यो। त्यतिबेला उनले डोजर नजिकबाट हेर्ने मौका पाएनन्। उनी सानै भएकाले चोटपटक लाग्ला भन्ने डरले अरूले उनलाई डोजरसामु जान दिएनन्।
गाउँमा आफूले देखेजस्तै डोजर बनाउन उनलाई रहर लाग्यो। यसका लागि प्रयास पनि गरे। तर, सफल भएनन्। डोजरको लागि आवश्यक पर्ने सामान उनले गाउँमा भेटेनन्। त्यसका लागि अस्पतालमा फ्याकिएका सिरिन्ज चाहिन्थ्यो। तर अस्पताल घरबाट निकै टाढा भएकाले सिरिन्ज नभएर उनले डोजर बनाउन पाएनन्। हेमराजलाई विज्ञान क्षेत्रमा एकदमै रुचि छ। गाउँमा हुँदा उनी फ्याकिएका सामान जम्मा पारेर हेलिकप्टर र गाडी बनाउँथे। आफूलाई चाहिने सामान नपाउँदा धेरै सामान उनले माटोबाटै बनाए। भाइको यस्तो क्षमता देखेर उनका दाइ लोकेन्द्रले हेमराजलाई भक्तपुर पढाउन ल्याए।
हेमराज ११ वर्षका भए। उनी अहिले भक्तपुर, व्यासीस्थित बासु उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छन्। कक्षा ५ सम्म उनी दैलेखको पशुपति माध्यमिक विद्यालयमा पढेका हुन्।
दुई महिना अगाडि मात्रै उनले आफ्नो डोजर बनाउने सपना पूरा गरेका छन्। अस्पतालमा फ्याकिएका सिरिन्ज, मसिना पाइपका टुक्रा, सामान हाल्दा प्रयोग गरिने कार्टुन र फर्निचर उद्योगमा फ्याकिएका काठका टुक्रा जम्मा पारेर उनले डोजर बनाएका हुन्। त्यो डोजर बनाउन उनलाई जम्मा दुई दिन लाग्यो। सिरिन्जभित्र उनले पानी भरेका छन्। सिरिन्ज चलाउने बित्तिकै डोजर पनि चल्छ।
हरेक सिरिन्जका आ–आफ्नै काम छन्। माटो उठाउने, फ्याक्नेदेखि डोजर दायाँबायाँ घुम्ने सबै काम सिरिन्जको सहायताबाट हुन्छ। यो भन्दा पहिला पनि उनले एउटा डोजर बनाएका थिए। त्यसको लागि उनलाई करिब एक हप्ता लागेको थियो। तर, त्यो खासै राम्रो नभएपछि उनले अहिलेको डोजर बनाएका हुन्। ‘गाउँमा एउटा मात्र डोजर थियो,’ उनले भने, ‘यहाँ आएपछि धेरै डोजरहरू देखियो। पहिला डोजरलाई अगाडिबाट नियालेर हेरेँ, अनि बनाउन थालेँ।’
उनले आफूले बनाएको डोजर आफू पढेको स्कुलमा पनि देखाइसके। स्कुलमा उनलाई सबैले स्याबासी र हौसला दिए। ‘साइन्स टिचरले तिमी यसरी नै अगाडि बढ्यौ भने साइन्टिस्ट बन्छौं भन्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले मेरो कामलाई ‘एक्सिलेन्ट’ भन्नुहुन्छ। यो सुन्दा अझै धेरै काम गर्न मन लाग्छ।’
हेमराजको पढाइ पनि राम्रो छ। उनी टप फाइभ स्टुडेन्टमा पर्छन्। आफू सहरमा बसेर पढ्न पाएकोमा उनी खुसी छन्। तर, गाउँका साथीहरूलाई उनी बारम्बार सम्झिरहन्छन्। ‘गाउँमा मेरा धेरै साथीहरू कापीकलम नभएर पढ्न पाएका छैनन्,’ उनले भने, ‘गाईभैंसी चराउन जाँदा भिरबाट लड्छन्। खोलामा डुबेर मर्छन्।’ भविष्यमा विज्ञान क्षेत्रमा लाग्न चाहान्छन्। पढ्ने इच्छा भएर पनि पढ्न नपाएकालाई सहयोग गर्ने उनको धोको छ। ‘यस्तै–यस्तै धेरै काम गरेर गाउँको नाम राख्नुछ,’ उनले भने।
उनले बनाएको डोजरलाई रिमोटबाट चलाएर पनि गुडाउन सकिन्छ। आर्थिक अभावले अझै पनि उनले आफूले सोचेअनुसार गर्न पाएका छैनन्। गाडी र हेलिकप्टर बनाउने उनको इच्छा छ। यसका लागि आवश्यक सामग्री जुटाइरहेको उनले बताए। ‘यो त मेरो सानो प्रयास मात्र हो,’ उनले भने, ‘अवसर पाए भने अझै धेरै गर्न सक्छु।’