वर्षाले करोडौंको इँटा नष्ट
भैरहवा : हिउँदे वर्षाका कारण रूपन्देहीमा २० करोडभन्दा बढी रुपैयाँको काँचो इँटा नष्ट भएको छ। लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रूपन्देहीका अनुसार जिल्लाका ५०उद्योगमा पोल्न तयार पारिएको करिब पाँच करोड काँचो इँटा गलेर नष्ट भएको छ।
५० उद्योगको कुल पाँच करोडवटा काँचो इँटा गलेर नष्ट हुँदा व्यवसायीले २० करोडभन्दा बढी रुपैयाँ नोक्सानी बेहोरेको लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रूपन्देहीका महासचिव अजयकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार पोल्न तयार एउटा इँटाको करिब चार रुपैयाँ लगानी पर्छ। यहाँको इँटा पाल्पा, गुल्मी, पोखरा, काठमाडौंलगायत स्थानमा जाने गर्दछ।
बेमौसमीका कारण काँचो इँटा गलेर नष्ट हुँदा उत्पादनमा कमी आउने र बजारमा पनि इँटाको अभाव हुने उनले बताए। प्रत्येक वर्ष माघदेखि जेठ महिनासम्म उद्योग सञ्चालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण बन्द हुन्छन्।
यस वर्षको पहिलो लगानीमै वर्षाले नोक्सानी हुँदा व्यवसायी मारमा परेका छन्। उनीहरूले वर्षाका कारण करोडौं इँटा नष्ट भएकाले नयाँ उत्पादनमा पनि करिब एक महिना थप समय लाग्ने बताए। भारत सरकारले कोइला निर्यातमा रोक लगाउँदा इँटा व्यवसायी थप चिन्तित भएका छन्। ‘भारतबाट आयात हुँदै आएको कोइलामा भारत सरकारले निर्यातमा रोक लगाउँदा उत्पादनमा कमी आउने त निश्चित नै थियो, यो वर्षा थप अभिशाप बनेको छ’, गुप्ताले भने।
सरकारी नीतिका कारण काँचो इँटाको बिमा नहुने हुँदा बर्सेनि करोडौं रुपैयाँको नोक्सानी बेहोर्दै आएको संघका सदस्य गोविन्द ज्ञवालीले बताए। सरकारलाई काँचो इँटाको पनि बिमा हुनुपर्ने व्यवस्था गर्न आग्रह गरे पनि हालसम्म बेवास्ता गर्दै आएको व्यवसायी सुरज श्रेष्ठको गुनासो छ।