सहयोग पाउँदा दिदीबहिनी हर्षित
प्युठान : झिमरुक गाउँपालिका-४ बांगेमरोठ सादनठुटा प्युठानका बेसहारा दिदीबहिनीलाई जुटेको सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ। पोखरा महानगरपालिका-५ पर्सयाङका ८५ वर्षीय दीनवन्धु कोइरालाले घरमै पुगेर तीन दिदीबहिनीलाई एक÷एक लाखका दरले हातैमा दिए। ‘नानीहरूको घरमै पुगेर पैसा दिने मन थियो’, कोइरालाले भने, ‘मनको चाहना पूरा भयो।’
विभिन्न व्यक्तिले गरेको सहयोग चार लाख २९ हजार सात सय ९४ रुपैयाँ घरमै पुगेर प्रदान गरिएको हो। सहयोग बुझ्दै बेसहाराका माइला बुवा खिमबहादुर खड्काले आफूलाई धेरै खुसी लागेको अभिव्यक्ति दिए।
माघ ६ गते अन्नपूर्ण पोस्ट्मा ‘दैवलाई दया लागेन’ समाचार प्रकाशन भएपछि थुप्रै सहयोग दाता भेटिएका हुन्। दिदीबहिनीलाई माथिल्लो कक्षासम्म पढाउने थुप्रै सहयोगीसमेत भेटिएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा जुटेका स्थानीयले पहिलोपटक गाउँमा ठूलो धनराशीको सहयोग संकलन भएको देख्दा हर्षित भएको प्रतिक्रिया दिए।
समाचारको प्रभावले लाखौँ रुपैयाँको आएकोमा उत्साहित भएको लक्ष्मी माविका प्रधानाध्यापक कर्णबहादुर जिसीले बताए। बालिकाका परिवारसँग सल्लाह गरेर आगामी शैक्षिक शत्रदेखि पठनपाठनका लागि जिल्ला बाहिर पठाउनेबारे छलफल गर्ने उनले सुनाए ।