एकै दिन तीन फिल्मको भिडन्त

एकै दिन तीन फिल्मको भिडन्त

दक्षिण भारतीय शैलीमा बनेको ‘रणवीर’, मनोजको डेब्यु फिल्म ‘सयकडा दस’ र गाईपालक विपिनको ‘गोपी’ मैदानमा


काठमाडौं : निर्माणको सुरुआतदेखि नै विभिन्न कारणले चर्चामा रहेका तीन ठूला नेपाली फिल्म आगामी शुक्रबार एकसाथ रिलिज हुने भएका छन्। स्टार कास्ट, लगानी, प्रचारप्रसार र निर्माण शैलीका कारण चर्चामा रहेको रणवीर, हास्य अभिनेता मनोज गजुरेलको डेब्यु फिल्मका कारण निकै आशा गरिएको सयकडा दस र अभिनेता विपिन कार्कीको फरक गेटअप र उठाइएको विषयवस्तुका कारण प्रतीक्षा गरिएको फिल्म गोपी एकसाथ प्रदर्शनमा आउन लागेका हुन्।

अहिले तीनवटै फिल्मका निर्माता तथा वितरक आफ्नो फिल्मका लागि आकर्षक र धेरै हल जुटाउन साम, दाम लगाएर लागिपरेका छन्। अहिलेसम्म कुन फिल्मले कति सो र कुनकुन हल पाउने भन्ने तय भएको छैन। अहिले फिल्म उद्योगमा शुक्रबारे यो लडाइँमा कसले व्यापारिक बाजी मार्ला भन्ने अड्कलबाजी भइरहेको छ।

गोविन्दसिंह खड्काले निर्देशन गरेको फिल्म रणवीर साउथ इन्डियन शैलीमा बनेको छ। आफू साउथ इन्डियन फिल्मबाट प्रशिक्षित भएकाले त्यही शैलीमा फिल्म बनाएको उनले बताए। निर्देशक खड्काले लामो समय साउथमा काम गरिसकेका छन्। दर्शकले यो फिल्ममा एक्सनका साथै फ्यामेली ड्रामा हेर्न पाउने उनले बताए।

एक्सन मुभी भन्नेबित्तिकै हिरोमा दमदार क्यारेक्टर खोजिन्छ। तर निर्देशक गोविन्दले चकलेटी हिरो सुशील सिटौलालाई प्रमुख भूमिकामा उभ्याएका छन्। उनी भन्छन्, ‘रणवीर कुनै शक्तिशाली पात्र होइन। आत्मशक्ति प्रबल भएको एक साधारण युवा हो।’ एक्सन, लभस्टोरी कथा रणवीर भावनात्मक सम्बन्धले जोडिएको कथा भएको पनि उनले बताए।

नायक सुशीलले एक्सन फिल्ममा काम गर्नु निकै चुनौतीपूर्ण रहेको बताए। भन्छन्, ‘शरीरलाई फिट राख्नेदेखि डाइट, योग सबै कुरामा ध्यान दिएँ।’ सुशीललाई उक्त फिल्म खेल्न मानसिक रूपमा तयार हुन समय लागेको थियो। यही फिल्मबाट सन् २०१२ की मिस इन्टरनेसनल शुभेक्षा खड्का पनि फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी छन्।

फिल्मकी निर्माता गोमा विष्टले फिल्मको कथावस्तुलाई हेरेर लगानी गरेको बताइन्। फिल्मका अर्का निर्माता दीपेन्द्र रेग्मी हुन्। फिल्म ऐश्वर्यबाट चर्चामा आएका कलाकार तथा मोडल प्रशान्त ताम्राकारको समेत फिल्ममा दमदार एक्सन देख्न सकिन्छ। फिल्म दुई करोड ८० लाखको लगानीमा निर्माण भएको बताइएको छ।

यस्तै हास्यव्यंग्यको क्षेत्रमा स्थापित कलाकार मनोज गजुरेलले अभिनय गरेको भएकाले फिल्म ‘सयकडा दस’ पनि दर्शकले हेर्न चाहेको फिल्मको सूचीमा पर्छ। फिल्ममा गजुरेलको आफ्नै वास्तविक जीवनकथा छ। भ्रष्टाचारविरुद्ध लागेको एक कमेडियन अभियन्ताको रूपमा उनलाई फिल्ममा उतारिएको छ।

गजुरेलले भने, ‘म यो क्षेत्रमा आउन राम्रो कथाको पर्खाइमा थिएँ। कमेडी विधाकै भए पनि मेरो विचारमा फिल्मले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्न सक्नुपर्छ। सयकडा दस यी दुईको उपयुक्त मि श्रण भएकाले काम गरेको हुँ।’ यो फिल्म सामाजिक रूपान्तरणका लागि एक अभियान भएको उनले बताए। फिल्ममा प्रेम भर्सेस भ्रष्टाचारको कथा प्रस्तुत गरिएको छ।

रामशरण पाठकले यो फिल्मको निर्देशन गरेका छन्। उनले आफ्नो फिल्मले सदाचारको वकालत गर्ने बताए। फिल्ममा अमृत ढुंगाना, करुणा श्रेष्ठले रोमान्स गर्दैछन्। साथमा रवि डंगोल, रश्मि भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको अभिनय छ। अर्का हास्यकलाकार राजाराम पौडेल यही फिल्मबाट निर्माणमा उत्रेका छन्।

यसै फिल्मबाट कार्यकारी निर्माता बनेका पौडेलले पैसाको नाफाभन्दा देशको नाफालाई प्राथमिकतामा राखेको बताए। ‘जिन्दगीमा रहरले फिल्म खेलेँ, पैसा कमाउन खेलेँ। तर, सयकडा दस खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भइरहेको छ’, उनले भने।

उता यी दुवै फिल्मलाई चुनौती दिँदै गाईपालक किसानको भूमिकामा देखिन लागेका विपिन कार्की र विषयवस्तुका कारण चर्चामा रहेको फिल्म गोपी पनि आउँदैछ। देशमै केही गर्न सकिन्छ भन्ने सन्देशसहित आउन लागेको गोपीमा विपिनले घर परिवार र नेपाली समाजसँग गरेको संघर्षको कथा छ। क्यारेक्टर आर्टिस्टको भूमिका निभाउँदा निभाउँदै नेपाली मूलधारका फिल्मको हिरो बन्न पुगेका विपिन गोपी एक सुखद अनुभूति भएको बताउँछन्।

फिल्मको ‘तेरो आफ्नो’ बोलको गीतमा विपिनको गेटअपको पनि चर्चा छ। यो गीत शिव परियारले गाएका हुन्। विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन्।

आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण तथा दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपीमा दुई नायिका सुरक्षा पन्त र वर्षा शिवाकोटीले विपिनलाई साथ दिएका छन्।

सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतले पनि अभिनय गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.