प्लाष्टिक विस्थापित गर्न दुना-टपरी खुट्दै महिला
सन्धिखर्क : पर्यटकीय स्थल सुपा देउरालीदेखि डम्मरु दहसम्मको क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउन शितगंगा नगरपालिकाका महिला दुना-टपरी खुटन थालेका छन्। विभिन्न जिल्ला तथा भारतबाट समेत आउने आन्तरिक तथा बाह्य पर्यटकले प्लाष्टिकको प्रयोग गरेर सडक नै प्लाष्टिकमय हुन थालेपछि प्लाष्टिक विस्थापित गराउने अभियान शितगंगा नगरपालिकाले सुरु गरेको हो।
भौगोलिक दृष्टीकोणले नेपालकै सबैभन्दा ठूलो शितगंगा नगरपालिकाले पहिलो चरणमा मेसिनद्वारा दुना टपरी बनाउने तालिम सम्पन्न गरेको छ। महिलाले खटेका दुनाटपरी प्रयोग गर्ने र प्लाष्टिक प्रयोग गर्न नपाइने नियमपनि बनाइने शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए।
प्लाष्टिक मुक्त मात्र हैन दुनाटपरीबाट महिलालाई आत्मनिर्भर बनाउन तथा रोजगारी सृजना गन र वातावरण प्रदुषण कम गर्न दुना-टपरी बनाउने तालिमको आयोजना गरिएको शितगंगा नगर प्रमुख अधिकारीको भनाइ छ।
१२ दिनसम्म सञ्चालन भएको दुना-टपरी बनाउने तालिमको सफल महिला उद्यमी रुक्मीण पराजुलीले सहजीकरण गरेकी थिइन्। तालिममा शितगंगा नगरपालिका- ३ मा रहेका स्वाबलम्वन महिला कृषक समूहका १७ जना महिलाको सहभागिता रहेको थियो।
तालिमको समापन समारोहमा शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेस्मी, प्रशिक्षक रुक्मीणा पराजुलीलगायतको उपस्थिति रहेको थियो।