‘धेरै नपढे पनि  कला क्षेत्रको पीएचडी नै हुँ’

‘धेरै नपढे पनि  कला क्षेत्रको पीएचडी नै हुँ’

 नेपालकी पहिलो अभिनेत्री हुन्, भुवन चन्द। नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ बाट उनले फिल्म क्षेत्रमा आफूलाई चिनाएकी थिइन्। २०१८ सालदेखि राष्ट्रिय नाचघरमा आबद्ध भएकी उनी २०६२ सालमा प्रथम श्रेणीकी अधिकृत भएर सेवानिवृत्त भएकी हुन्। उनकाे जीवन भोगाइकाे अनुभवलाई समेटेर अन्नपूर्ण सम्पूर्णका लागि (‘धेरै नपढे पनि  कला क्षेत्रको पीएचडी नै हुँ’) उपेन्द्र अर्यालले तयार पारेकाे स्टाेरी ;

१० वर्षको उमेरमै नाटकमा डेब्यू

अभिनेत्री भुवन चन्द ६८ वर्षअघि काठमाडौँको धोबीचौरमा जन्मिएकी थिइन्। नौ वर्षको हुँदासम्म उनको बाल्यकाल राम्ररी बित्यो। बुबाले अर्की श्रीमती ल्याएपछि घरमा अलिक खटपट सुरु भएको उनी बताउँछिन्। ‘बुबाको दोस्रो विवाहभन्दा पहिले मेरो बाल्यकाल धेरै राम्रो थियो,’ उनी भन्छिन्, ‘म १० वर्षकी हुँदा बुबाले कान्छी श्रीमती ल्याए। त्यसपछि मेरो बाल्यकाल ठीकठीकै भयो।’ त्यतिबेला गाउँका मान्छेले बहु विवाह गर्ने गरेको उनी बताउँछिन्। 

भुवनले पढाइ आईएभन्दा अगाडि बढाउन सकिनन्। बाल्यकालमा उनी बुबासँग रेडियो नेपाल गइरहन्थिन्। ‘रेडियो नेपालमा गइरहने हुनाले रेडियो नेपाल त बाउको घरजस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘त्यहाँ बुबाका साथीले मलाई धेरै माया गर्थे। सबैले मलाई छोरी भन्थे। त्यहाँ बुबाले बाल कार्यक्रममा पनि भाग लिन लगाउनुहुन्थ्यो।’ 

उनी नाटकमा अभिनय गर्न थालिन्। नाचगानतिर लागिन्। उनका साथीहरूको एउटा सानो समूह थियो कलाकार बन्ने। ‘त्यो बेला कलाकार बन्न धेरै गाह्रो थियो,’ उनी भन्छिन्, ‘कलाकार बनेको मान्छेलाई हेय दृष्टिले हेर्ने गरिन्थ्यो।’ महिला कलाकारलाई झनै गाह्रो हुने उनी बताउँछिन्। ‘त्यस्तो बेलामा म कलाकार भएँ,’ विगत सम्झदै भन्छिन्, ‘समाजसँग धेरै संघर्ष गर्नुपर्यो।’

उनले १० वर्षको उमेरमै  बालकृष्ण समले लेखेको ‘अन्धवेग’ नाटकमा अभिनय गरेकी थिइन्। उनको अभिनय यात्रा यहीँबाट सुरु भयो। नाटकमा उनी बच्चाको भूमिकामा थिइन्। ‘पछि श्री ५ को सरकारले कला भन्ने चिज चाहिने रहेछ भनेर नाट्य परिषद् र कलाकेन्द्रलगायत संस्था खोले,’ उनी भन्छिन्, ‘त्यतिखेर म १५-१६ वर्षकी थिएँ। म पनि त्यस संस्थामा आबद्ध भएँ।’ कलाकारितातिर लागेपछि उनको पढाइ रोकियो। ‘पढाइ कम भए पनि यो क्षेत्रमा त मैले पीएचडी नै गरिसकेँ,’ उनी भन्छिन्। 
२०१८ सालमा उनी राष्टिय नाचघरमा आबद्ध भइन्।

त्योबेला पनि नाटक हुन्थे। तर, कलाकार पाउन गाह्रो थियो। श्यामदास वैष्णवले लेखेको नाटक ‘प्राकृतिक प्रेरक’मा नाटक बन्ने भएछ। ‘प्रकृतिको भूमिका गर्न मलाई बोलाउनुभयो,’ उनी सम्झिन्छिन्, ‘अभिनय गर्न नै जन्मिएकी रहेछु भन्ने लागेर म पनि नाटकतिर लागेँ।’ २०१८ सालदेखि उनले राष्ट्रिय नाचघरमा जागिर पाइन्। १ सय ५० रुपैयाँ तलब थियो। १८ सालदेखि आबद्ध भएकी उनी ६२ सालमा फस्र्ट क्लास अफिसर भएर निवृत्त भइन्। ‘नाचघरमा सीमित कलाकार थिए,’ उनी भन्छिन्, ‘त्यसैले धेरै काम गर्नुपथ्र्यो। एउटै मान्छेले नाच्ने, गाउने, अभिनय सब गर्नुपथ्र्यो।’ उनीहरूको टोलीले १४ अञ्चल भ्रमण गरेर पनि नाटक देखायो। नाटक देखाउन कलाकार विदेशसम्म पुग्थे। 

त्यतिबेला कलाकार पाउन गाह्रो हुने उनी बताउँछिन्। ‘अहिलेजस्तो समय थिएन,’ उनी भन्छिन्, ‘कसैले पनि आफ्ना छोराछोरीलाई जाऊ कलाकार बन भन्दैन्थे।’ कला केन्द्रमा आबद्ध भएपछि उनले थुप्रै नाटकमा काम गरिन्। मुख्य नायिकाको  भूमिका गरिन्। ‘मुख्य नायिका हुन् राम्रै हुनुपर्ने रहेछ,’ उनी भन्छिन्, ‘म त्योबेला कला केन्द्रमा अरू कलाकारभन्दा राम्रै रहेछु।’ राजा महेन्द्रलाई कला क्षेत्र मन पर्ने भएकाले नाचघरमा आएर उनले नाटक हेर्ने, गीत सुन्ने गरेको उनी बतााउँछिन्। 

अन्तर्वार्ताबाट पहिलो फिल्ममा अनुबन्ध

स्टेजमा काम गरिरहेको बेलामा २०२१ सालमा एउटा फिल्म बन्ने उनले थाहा पाइन्। त्यतिबेला नेपालमा फिल्म बन्दैनथ्यो। ‘श्री ५ को सरकारले एउटा फिल्म बनाउने भएको कुरा सूचना विभागबाट थाहा पाएँ,’ उनी भन्छिन्, ‘फिल्मका लागि कलाकार चाहियो भनेर हामीलाई सूचना आयो। अनि, हामी अन्तर्वार्ता दिन गयौँ।’ अन्तर्वार्तामा उनलाई डाइलग भन्न लगाइयो। फिल्मका लागि उनी छानिइन्। नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ मा उनले काम गर्ने भइन्। फिल्म २०२२ सालमा रिलिज भयो।

फिल्मको उद्घाटन राजा महेन्द्रले गरेका थिए। ‘त्योबेलामा राजाको मुखबाट आफ्नो नाम सुन्नु गौरवको कुरा थियो,’ उनी भन्छिन्। त्यतिखेर नेपालमा धेरै हल थिएनन्। ‘फिल्म रिलिज भएपछि आफूलाई पहिलो चोटि पर्दामा देख्दा ‘ए म राम्रै नै रहेछु’ भन्ने लाग्यो,’ उनी हाँस्दै भन्छिन्, ‘फिल्म हलमा चलेपछि राम्रो प्रतिक्रिया पाएँ।’ त्यसबेला अहिले जस्तो मिडिया नभएको उनी बताउँछिन्। पत्रपत्रिका कम निस्कन्थे। ‘त्यसबेलाका पत्रिकाले आफ्नो सम्पादकीयमा मेरो अभिनयबारे राम्रो लेखेका थिए,’ उनी सम्झिन्छिन्।
 
हिरोइन हुन उमेरको पावन्दी 

‘आमा’ फिल्म बनेको अर्को वर्षपछि ‘हिजो आज भोलि’ फिल्म बन्यो। त्यसमा पनि उनले मुख्य भूमिका पाइन््। फिल्म राणा सरकारले के गर्‍यो भन्नेबारे बनाइएको थियो। उनी सम्झदै भन्छिन्, ‘यो फिल्म पनि राम्रो चल्यो। त्यसबखत श्री ५ को सरकारले दुई वटा फिल्म बनायो। त्यसपछि खासै फिल्म बनेनन्। फिल्म नबनेकाले म फेरि नाटकमै व्यस्त भएँ।’ २०३३ सालमा उनको विवाह रेडियो नेपालमा काम गर्ने हरिश चन्दसँग भयो। उनी नेपाल राष्ट्रिय नाचघरको स्थायी जागिरेसमेत भइन्।

विवाहको केही समयपश्चात् श्रीमान् जर्मनी गएपछि उनी पनि उतै लागिन्। ‘तीन वर्ष जर्मन बसेर फर्कदा नेपालमा एक–दुई फिल्म बन्न लागेका थिए,’ उनी भन्छिन्, ‘नीर शाहले म आएको थाहा पाएर फिल्ममा काम गर्न बोलाउनुभयो। तर, घरगृहस्थीले गर्दा खेल्न सकिनँ।’ त्यसबेला उनको भूमिका हिरोइनबाट क्यारेक्टर रोलमा झरिसकेको थियो। ‘हिरोइन हुनलाई चाहिँ उमेरको पावन्दी हुने रहेछ,’ उनी भन्छिन्, ‘जर्मनीबाट फर्कनासाथ मैले दुई वटा फिल्ममा क्यारेक्टर रोल गरेँ।’ 

फिल्ममा काम गर्न श्रीमान्को साथ 

विवाह गर्नुअघि उनी परिवारकी अभिभावक जस्तो थिइन्। आम्दानी गर्ने भएकाले उनले परिवारको गुजारा राम्ररी चलाएकी थिइन्। ‘त्यतिबेला मैले नाचघरबाट डेढ सय रुपैयाँ तलब पाउँथेँ,’ विगत कोट्याउँदै उनी भन्छिन्, ‘त्यति पैसाले घरखर्च धान्न पुग्थ्यो।’ त्यतिखेर कलाकारहरूलाई नराम्रो दृष्टिले हेर्ने गरिए पनि श्रीमान्ले आफूलाई काम गर्न भरपूर साथ दिएको उनी बताउँछिन्। ‘उहाँले मेरो काममा कहिल्यै बाधा पुर्‍याउनु भएन,’ उनी भन्छिन्, ‘फिल्म क्षेत्रमा काम गर्न श्रीमान्को साथ पाएँ। उहाँबाट यति सपोर्ट नपाएको भए सायद फिल्म क्षेत्रमा हुन्थेन होला।’ 
 
पारिश्रमिकबिना पहिलो फिल्म 

पहिलो फिल्म ‘आमा’ मा काम गर्दा पारिश्रमिक नपाएको उनी बताउँछिन्। ‘पहिलो फिल्म खेलेको पैसा दिएन,’ विगत उप्काउँदै उनी भन्छिन्, ‘त्योबेला हामीलाई एउटा विभागबाट अर्को विभागमा सरुवा गरेर एक महिनाको निम्ति काजमा पठाइयो।’ उनले त्यसबेला डेढ सय रुपैयाँ तलब पाउँथिन्। त्यही तलबमा उनले ‘आमा’ फिल्ममा काम गरिन्। ‘नाचघरको डेढ सय रुपैयाँमै पहिलो फिल्म खेलेँ,’ उनी भन्छिन्, ‘त्यसबेला पैसा चहिन्छ भन्ने पनि थिएन मलाई।’ दोस्रो फिल्मबाट भने उनले पारिश्रमिक पाइन्। ‘‘हिजो आज भोलि’ फिल्ममा चार हजार रुपैयाँमा सम्झौता भएको थियो,’ उनी सम्झिन्छिन्, ‘त्योबेला फिल्म खेलेर पैसा कमाउन पनि गाह्रो थियो।’

जागिरले गर्दा सुटिङ छाड्नुपर्‍यो 

सरकारी जागिरे भएकाले धेरै फिल्ममा काम गर्न नसकेको उनी बताउँछिन्। ‘जागिरे भएर पनि बन्देज नभइदेको भए मैले धेरै फिल्ममा काम गर्थें,’ उनी भन्छिन्, ‘त्यसबेला बन्देज धेरै नै थियो। हाकिमलाई ‘यस्तो फिल्म छ, गरुँ कि नाइँ ?’ सोध्नुपथ्र्यो। हाकिमले ‘हुन्छ’ भनेपछि मात्र फिल्ममा काम गर्न पाइन्थ्यो।’ फिल्म र जागिरमा सँगै काम गर्न गाह्रो भएको उनी बताउँछिन्।

कलाकार हरिहर शर्मा नाचघरमा जीएम भएर आउनुभयो। त्यतिबेला उनी ‘सीमारेखा’ फिल्ममा काम गरिरहेकी थिइन्। सुटिङका लागि लमजुङमा थिइन्। अफिसबाट बिदा लिएर गएकी थिइन्। त्योबेला नाचघरमा पनि ‘मुनामदन’ गीतिनाटक भइरहेको थियो। नाटकमा उनी आमाको भूमिकामा थिइन्। ‘मेरो भूमिका नाचघरमा भएका कलाकार जसले पनि गर्न सक्थ्यो,’ उनी भन्छिन्, ‘तर, मलाई सुटिङ छोडर आउन भनियो। फोन गरेर ‘ल नाटक गर्नुपर्‍यो भुवनजी, आउनुहोस्’ भन्नुभयो जीएमले।’ सुटिङ छोडेर काठमाडौँ फर्किएँ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.